साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बङ्गलादेशबिच खेलिँदै छ । खेल दशरथ रंगशालामा साँझ १८ः३० बजे सुरु हुनेछ । उक्त खेलका लागि ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘रंगशालाको क्षमता १५ हजार हो । हामीले साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री गरेका छौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले रातोपाटीसँगको कुराकानीमा भने । उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको जानकारी पनि दिए ।
‘फाइनल खेलमा विशिष्ट व्यक्ति र ठुलो सङ्ख्यामा अतिथिहरूको उपस्थिति रहने भएकाले ११ हजार टिकटमात्र बिक्री गरिएको हो । यसका अतिरिक्त अन्तर्राष्ट्रिय फुटबलमा कुल दर्शक क्षमताको २० प्रतिशत सिटी खाली राख्नु पर्ने नियम पनि छ,’ प्रवक्ता शाहले भने ।
यसैगरी, यसअघि माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले खल्ती डिजिटल वालेट एपबाट टिकट बिक्री गरेको साधारण प्यारापिटतर्फको चार हजार एक सय टिकटलाई पनि मान्यता दिइएको प्रवक्ता शाहले बताए ।
‘हामीले खल्तीमार्फत खरिद गरिएको साधारण प्यारापिटतर्फको चार हजार एक सय टिकटलाई पनि मान्यता दिएका छौँ । यसका अतिरिक्त साधारण प्यारापिटतर्फ हामी आफैले थप पाँच हजार नौ सय टिकट बिक्री गरेका छौँ,’ उनले भने ।
भीआईपी प्यारापिटतर्फको दर्शक क्षमता दुई हजार सात सय रहे पनि एन्फाले फाइनलका लागि एक हजार टिकटमात्र बिक्री गरेको जानकारी पनि उनले दिए । फाइनलमा दर्शकका लागि छुट्याइएको सम्पूर्ण टिकट बिक्री भइसकेको छ ।
माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले खल्ती डिजिटल वालेट एपबाट बिक्री गरेको टिकटलाई भने मान्यता नदिइएको पनि उनले बताए । ‘हामीले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिलाई फाइनलका लागि भीआईपीतर्फ एक हजार टिकट बिक्री गर्न भनेका थियौँ । तर, उनीहरूले एक हजार चार सयभन्दा बढी टिकट बिक्री गरेकाले त्यसलाई मान्यता नदिइएको हो,’ उनले भने ।
एन्फाले यसअघि जारी साफ महिला च्याम्पियनसिपका लागि टिकट बिक्रीको ठेक्का माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिलाई दिएको थियो । माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार खरिद गरेको थियो ।
तर, माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकट बिक्रीका क्रममा सम्झौता विपरीतको काम गरेको आरोप लगाउँदै एन्फाले अन्तिम समयमा आएर सम्झौता रद्द गरेको थियो । त्यसपछि एन्फाले फाइनलको टिकट आफै बिक्री गर्ने निर्णय लिएको थियो ।
एन्फाले आफै टिकट बिक्री गर्ने निर्णय फाइनलभन्दा एक दिनअघि मात्र गरेको थियो । नेपाल र भारतबिचको सेमिफाइनल खेलका लागि निर्धारण गरिएभन्दा बढी टिकट बिक्री गरेको आरोप माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिमाथि लगाइएको छ ।
एन्फाले बुधबार बिहानदेखि नै फाइनलका लागि टिकट बिक्रीको व्यवस्था मिलाउने जनाएको थियो । सोही अनुसार, समर्थकहरू बिहानैदेखि लाइनमा बसेका थिए । धेरै समर्थकले लामो समय लाइनमा बस्दा पनि टिकट नपाएको गुनासो गरेका छन् । साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।
काठमाडौँ महानगरपालिकाले भने विभिन्न तीन स्थानबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था मिलाएको छ । महानगरपालिकाको यो व्यवस्थापनपछि टिकट पाउन नसकेका समर्थकले थोरै भए पनि राहतको अनुभव गरेका छन् । महानगरपालिकाले काठमाडौँको टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन खेल मैदानमा उपस्थित भएर फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था मिलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन