शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

गण्डकी प्रदेशको सजिलो जित, कोशी प्रदेशको लगातार तेस्रो हार

बुधबार, १४ कात्तिक २०८१, १६ : ०३
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई एक सय १४ रनको फराकिलो अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलेको गण्डकी प्रदेशको यो दोस्रो जित हो । गण्डकी प्रदेशले आफ्नो पहिलो खेलमा मधेस प्रदेशलाई नौ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशको टोली बागमती प्रदेशसँग एक सय रनले पराजित भएको थियो ।

तेस्रो खेल खेलेको कोशी प्रदेशको भने यो लगातार तेस्रो हार हो । आफ्नो पहिलो खेलमा कोशी प्रदेशको टोली मधेस प्रदेशसँग २२ रनले पराजित भएको थियो । कोशी प्रदेश आफ्नो दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग ७५ रनले पराजित भएको थियो ।

बुधबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३३ ओभरमै अलआउट हुनुअघि ९४ रनमात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि सिबरिन श्रेष्ठले ५३ रनको योगदान गरे । उनले ७७ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि ४६ रन बनाए । उनले ७५ बलमा चार चौका पनि प्रहार गरे ।

यसै गरी, अर्का ओपनर सोहेल कुँवरले पनि टोलीको खातामा ३३ रन थपे । उनले ७४ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । सुदिप अर्यालले २२ रन बनाए । रोहित चन्दले १३ र करण पंगेनीले ११ रन बटुले ।

कोशी प्रदेशका बलर रोसन साहले चार विकेट लिए । विपिन महतोले तीन विकेट हात पारे । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ३४ रन बनाए । अर्का ओपनर भूपाल दंगालले १९ र फैजल रहमानले ११ रन बनाए ।

कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गण्डकी प्रदेशका बलर अर्जुन कुमालले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल १० रन खर्चिए । अपराजित पौडेलले पनि तीन विकेट हात पारे । सिबरिन श्रेष्ठले दुई र किरण भट्टराईले पनि एक विकेट लिए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप