रत्न कुमारी र नेत्र कुमारीको हत्यारा पत्ता लगाउने ‘टाइगर’ सर्वोत्कृष्ट
काठमाडौँ । अपराध अनुसन्धान गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको हो ।
अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ । केनाइन कार्यालयको प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. देउती गुरुङ हुन् ।
अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको डीआईजी डा. गुरुङले रातोपाटीलाई बताइन् ।
अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छ । ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुरले अनुसन्धान गर्छन् ।
हत्यारा पत्ता लगाउन ट्रयाकर डग प्रयोग गरिन्छ । विपद् व्यवस्थापन, उद्धार, लागु औषध र हत्याको घटनामा पनि अनुसन्धान अधिकृतहरूले कुकुरको सहयोग लिन्छन् ।
महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयमा ३६ वटा कुकुर छन् । ती कुकुरलाई काठमाडौँ उपत्यका र आसपासका जिल्लामा अपराध हुँदा अनुसन्धानमा परिचालन गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ११ वटा कुकुर छन् ।
विमानस्थलमा रहेका कुकुर लागु औषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने क्षमता राख्छन् । वेल्जियम मेलिनोई जातको कुकर चाहिँ सबै प्रकारका अनुसन्धानमा पोख्त मानिन्छ ।
विमानस्थलमा एयर इन्डिया र भिस्तारा एयरमा बम राखिएको हल्ला फैलिएपछि चेकजाँचमा कुकुर परिचालन गरिएको थियो । कार्तिक १२ मा एयर इन्डिया एआई–२१६ मा र कार्तिक ६ मा भिस्तारा एयरको विमानमा चेकजाँचपछि प्रहरीका कुकुरले विस्फोटक पदार्थ नरहेको सङ्केत गरे ।
प्रहरीलाई अहिले ब्लडहाउण्ड प्रजातिको कुकुरको खाँचो छ । सुँघ्ने क्षमता अत्यधिक भएको ब्लडहाउण्ड जातको कुकुर हत्या अनुसन्धानमा प्रयोग गरिन्छ । यसअघि गोंगबु हत्या पत्ता लगाएको ट्रयाकर डग जोजो मरिसकेको छ । बजार मूल्य ६ लाख रुपैयाँ पर्ने ब्लड हाउण्ड विदेशबाट ल्याउने प्रयास भइरहेको डीआईजी डा. गुरुङले बताइन् ।
अमेरिकाबाट वासिङ मेसिनमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको गाँजा पनि पनि कुकुरले नै पत्ता लगाएको थियो । २०८० चैत ४ मा बालुवाटार स्थित सुशान्त इम्पेक्सले आयात गरेको वासिङ मेशिन चेकजाँचमा परिचालित कुकुरले सङ्केत गरेपछि खोलेर हेर्दा २० केजी गाँजा भेटिएको डीआईजी गुरुङले जानकारी दिइन् ।
- टाइगर सर्वोत्कृष्ट
जर्मन सेफर्ड प्रजातिको ‘टाइगर’ यस वर्षको सर्वोत्कृष्ट कुकुर बन्न सफल भएको छ । टाइगरले सिन्धुपाल्चोक र नुवाकोटमा भएका दुईवटा हत्याका घटना सफलतापूर्वक अनुसन्धान गरेको छ ।
२०८१ कार्तिक १८ मा बाह्रबिसे नगरपालिका–७ स्थित खनियाबासमा तेज विक्रम थापाकी पत्नी ७२ वर्षीया रत्न कुमारी थापा घरमै मृत फेला परिन् । हत्या आशंकामा सो घटना अनुसन्धान गर्न काठमाडौँबाट टाइगरलाई सिन्धुपाल्चोक पठाइएको डीआईजी गुरुङले बताइन् ।
वरिष्ठ हवल्दार भीमप्रसाद गौतमले टाइगरलाई ह्याण्डल गरेर सिन्धुपाल्चोक गएका थिए । कोदोबारीमा भेटिएको फुट प्रिन्टको छापमा ह्याण्डलरले उसलाई सुँघाएर परिचालन गरे ।
त्यसपछि कुकुरले करिब साढे ३ किलोमिटरसम्म ओरालो तर्फ ट्रयाक लिएर खेतसम्म पुगेको वरिष्ठ हवल्दार गौतमले बताए । रातोपाटीसँग उनले भने, ‘सो सङ्केतको आधारमा काठमाडौँको गोंगबुबाट आरोपी पक्राउ परेका हुन् ।’
नुवाकोटको शिवपुरी गाउँपालिका–९ स्थित बखती टोलमा ७५ वर्षीया नेत्र कुमारी क्षेत्री घरसँगै बाख्राको खोरमा मृत भेटिइन् । २०८० कार्तिक ९ मा भएको सो घटना पत्ता लगाउन अनुसन्धान अधिकृतहरूले टाइगरलाई परिचालन गरे ।
नेत्र कुमारी सुत्ने कोठामा फेला परेको खुर्पाको बिँड सुँघाएर छाड्दा टाइगरले टिनको बाकसतर्फ सङ्केत गरेको र शव फेला परेको गोठ हुँदै १ किलोमिटर ट्रयाकमा दौडियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार हत्यामा संलग्न आरोपीले खुर्पा प्रयोग गरेर टिनको बाकस फुटाएका थिए ।
मूल सडकमा टाइगर अलमलिएपछि पुनः कास्टिङ सेन्ट दिएर छाड्दा ५ सय मिटर ट्रयाक लिएको ह्याण्डलर गौतमले बताए । त्यसपछि अनुसन्धान अधिकृतहरूले बेल्जियन सेफर्ड रोज नामको कुकुरलाई खुर्पाको बिँड सुँघाएर छाड्दा कुकुरले हत्यामा संलग्न आरोपी बस्ने घरमा पुगेर रोकियो । सो सङ्केतको आधारमा आरोपी पक्राउ परेका हुन् ।
दुईवटा घटना सफलतापूर्वक अनुसन्धान गरेको हुनाले टाइगरलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको डीआईजी गुरुङले बताइन् । कुकुर तिहारको अवसरमा टाइगरलाई मेडल प्रदान गरिएको छ । साथै, ह्याण्डलर भीमप्रसाद गौतमलाई केनाइन कार्यालयले पुरस्कृत गरेको छ । ह्याण्डरलाई नगद पुरस्कार प्रदान गरिएको डीआईजी गुरुङले जानकारी दिइन् ।
- रिटायर भएपछि व्यवस्थापन गर्ने ३ तरिका
ट्रयाकर डग करिब ६ देखि ७ वर्ष काम गरेपछि अनुसन्धानमा खट्न सक्दैनन् । उनीहरूको जोर्नीमा समस्या आउँछ ।
विस्फोटक पदार्थबारे अनुसन्धान गर्ने कुकुर चाहिँ धेरै समय काम गर्न सक्छन् । उनीहरूमा सिक्ने क्षमता र सुँघ्ने क्षमता पनि धेरै हुन्छ । अनुसन्धानमा प्रयोग गरिने कुकुरसँग २५० मिलियन सेल्स हुन्छ । सामान्य कुकुरमा त्यति धेरै सेल्स नहुने प्रहरीको भनाई छ ।
अनुसन्धानको काममा लाग्न नसक्ने भएपछि ३ किसिमबाट कुकुरको व्यवस्थापन गर्ने गरी केनाइन कार्यालयले कार्यविधि पारित गरेको छ ।
ह्याण्डलरलाई जिम्मा लगाउने, प्रहरीका परिवारलाई दिने र सूचना निकालेर सर्वसाधारणलाई समेत जिम्मा दिने गरी कार्यविधि बनाएको डीआईजी गुरुङले बताइन् । उनले भनिन्, ‘प्रहरी महानिरीक्षकबाट निर्णय गराएर कार्यविधि लागु गरेका छौँ ।’
रिटायर्ड भएका कुकुरलाई घरमा लगेर राख्ने र पालन पोषण गर्ने पहिलो हकदार सम्बन्धित कुकुरको ह्याण्डर नै हुन्छन् । ठुलो प्रजातिको कुकुर कम समय र साना प्रजातिका कुकुर धेरै समय बाँच्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प