लुम्बिनी प्रदेशको लगातार तेस्रो जित, कर्णाली प्रदेशलाई चार विकेटले हरायो
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ । प्रतियोगिताको पाँचौँ दिन बुधबार लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
जारी प्रतियोगितामा लुम्बिनी प्रदेशको यो तेस्रो जित हो । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७५ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको थियो । तीन खेल खेलेको लुम्बिनी प्रदेश ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । कर्णाली प्रदेशको भने जारी प्रतियोगितामा यो लगातार दोस्रो हार हो । कर्णाली प्रदेश आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग पाँच विकेटले पराजित भएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३७.३ ओभरमा अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले २६.४ ओभरमा ६ विकेट गुमाएर एक सय तीन रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
सामान्य विजयलक्ष्य भए पनि त्यसलाई भट्टाउन लुम्बिनी प्रदेशले ठुलै संघर्ष गर्नुपरेको थियो । लुम्बिनी प्रदेशका लागि दर्श सोनारले २० रनको योगदान गरे । सन्तोष यादबले पनि १७ रन बनाए । कप्तान आकाश त्रिपाठीले टोलीको खातामा १४ रन थपे ।
ओपनर ब्याट्सम्यान सम्राट भुषालले १२ रन जोडे । विकेटकिपर ब्याट्सम्यान दिलसाद अली १० रन बनाउँदै आउट भए । समिर अली मुसलमानले अविजित पाँच रन बनाए । नर सार्की पनि २० रनमा अविजित रहे । कर्णाली प्रदेशका बलर अनुज चनरा र युनिश ठकुरीले दुई–दुई विकेट लिए । विपिन शर्मा र दीप पौडेलले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, कर्णाली प्रदेशका तीनजना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । ओपनर ब्याट्सम्यान अरविन्द घर्तीले सर्वाधिक २० रन बनाए । भुपेन्द्र शाहीले १९ र अनिरुद्ध कवारले १५ रन बटुले । कर्णाली प्रदेशले आफ्ना ब्याट्सम्यानले बनाएभन्दा बढी रन अतिरिक्त रुपमा पाएको थियो । अतिरिक्त रुपमा कर्णाली प्रदेशले २२ रन पाएको थियो ।
लुम्बिनी प्रदेशका बलर सन्तोष यादब एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरु मनोनित
-
लेखापढीको आवरणमा हुने दलाल प्रवृत्तिलाई अन्त्य गर्छु : सीडिओ अर्याल
-
प्रदेश अध्यक्षमा हारेका रिजाललाई भूमि आयोगको अध्यक्ष पद पुरस्कार
-
फाइनल खेल खेल्न रंगशाला पुगे नेपाली चेली (तस्बिरहरु)
-
फाइनलमा बिक्यो ११ हजार टिकट
-
साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री