एन्फाको कमजोर ब्यवस्थापनका कारण समर्थकले पाए सास्ती
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ १८ः ३० बजे सुरु हने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
पटक–पटक फाइनलमा पुगेर पनि हालसम्म उपाधि जित्न नसकेको नेपाली टोलीको हौसला बढाउन दर्शकहरु उत्साही छन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर ब्यवस्थापनका कारण थुप्रै दर्शकले फाइनलको टिकटसमेत पाउन सकेका छैनन् ।
टिकट खरिद गर्न पनि दर्शकले निकै सास्ती खेप्नु परेको गुनासो गरेका छन् । एन्फाले यसअघि जारी साफ महिला च्याम्पियनसिपका लागि टिकट बिक्रीको ठेक्का माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिलाई दिएको थियो ।
माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार खरिद गरेको थियो । तर, माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकट बिक्रीका क्रममा सम्झौता विपरितको काम गरेको आरोप लगाउँदै एन्फाले अन्तिम समयमा आएर सम्झौता रद्द गरेको थियो ।
त्यसपछि एन्फाले फाइनलको टिकट आफै बिक्री गर्ने निर्णय लिएको थियो । एन्फाले यस्तो निर्णय फाइनलभन्दा एक दिनअघि मात्र गरेको थियो । नेपाल र भारतबिचको सेमिफाइनल खेलका लागि निर्धारण गरिएभन्दा बढी टिकट बिक्री गरेको आरोप माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिमाथि लगाइएको छ ।
एन्फाले बुधबार विहानदेखि नै फाइनलका लागि तीन स्थानबाट टिकट बिक्रीको ब्यवस्था मिलाउने जनाएको थियो । सोही अनुसार, समर्थकहरु विहानैदेखि लाइनमा बसेका थिए । एन्फाले जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थिति आर्मी मुख्यालयको गेट बाहिर टिकट विक्री काउन्टर राखेको थियो ।
एन्फाले साधारणतर्फ ११ हजार र भीआइपीतर्फ एक हजारमात्र टिकट विक्री गरिने बताएको थियो । साधारणतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको छ । सोही अनुसार, समर्थकहरु विहानैदेखि टिकट खरिद गर्न लाइनमा लागेका थिए ।
तर, एउटै ब्यक्तिले बढी टिकट खरिद गरेका कारण लामो समय लाइनमा बस्दा पनि धेरै समर्थकले टिकट पाउन नसकेको गुनासो गरेका छन् । काठमाडौँको कलंकी बस्ने आर्यनसिंह परियारले लामो समय लाइनमा बसेर पनि आफूले टिकट पाउन नसकेको गुनासो गरे ।
‘पहिले अनलाइनमार्फत टिकट खरिद गर्ने प्रयास गरेँ, त्यो सम्भव भएन । त्यसपछि लाइनमै बसेर टिकट खरिद गर्न जाँदा टिकट सकिएको जानकारी पाएँ । रंगशालामै पुगेर आफ्ना खेलाडीको हौसला बढाउने रहर पुरा नहुने भयो,’ उनले रातोपाटीसँग भने । उनले आफूजस्ता थुप्रै समर्थक टिकट नपाएर फर्किएको पनि बताए ।
माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले फाइनलअघिका खेलहरुको टिकट खल्ती डिजिटल वालेट एपबाट टिकट बिक्री गरेको थियो । तर, अन्तिम समयमा आएर एन्फाले आफैले टिकट बिक्री गर्ने निर्णय लिएपछि समर्थकहरुले अनलाइनमार्फत पनि टिकट खरिद गर्न पाएनन् ।
एन्फाले आफै टिकट बेच्ने निर्णय लिएपछि माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिमार्फत समर्थकले अनलाइनबाट खरिद गरेका टिकट पनि खारेज गरिएको थियो । अनलाइनबाट खरिद गरिएको टिकट अमान्य भएपछि ती समर्थक पनि टिकट खरिद गर्न पुनः लाइनमा बसेका थिए ।
काठमाडौँ महानगरपालिकाले भने विभिन्न तीन स्थानबाट फाइनल खेलको प्रत्यक्ष प्रशारण हेर्न मिल्ने ब्यवस्था मिलाएको छ । महानगरपालिकाको यो ब्यवस्थापनपछि टिकट पाउन नसकेका समर्थकले थोरै भए पनि राहतको अनुभव गरेका छन् । महानगरपालिकाले काठमाडौँको टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन खेल मैदानमा उपस्थित भएर फाइनल खेलको प्रत्यक्ष प्रशारण हेर्न मिल्ने ब्यवस्था मिलाएको हो ।
साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । नेपाल र बंगलादेश दुबै राष्ट्रले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपका सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण बंगलादेशको कक्सबजारमा आयोजना भएको थियो ।
तर, नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि चुम्न सकेको छैन । बंगलादेशले भने एकपटक यो प्रतियोगिताको उपाधि जितेको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता र नेपाल साविक उपविजेता हुन् । सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ संस्करणको फाइनलमा बंगलादेशले नेपाली टोलीलाई ३–१ गोलले हराएको थियो ।
नेपाली टोली हालसम्म पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको छ । नेपाली टोलीको उपाधि यात्रामा हालसम्म चारपटक भारत र एक पटक बंगलादेश तगारो बनेका छन् । सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई १–० गोलले हराएको थियो ।
यसैगरी, सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले पराजित गरेको थियो । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपाल लगातार तेस्रो पटक फाइनलमा पुगेको थियो ।
तर, तेस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०१६ मा भारतको सिलिगुडीमा सम्पन्न चौथो संस्करणमा भने नेपाली टोली सेमिफाइनलमै पराजित भएको थियो ।
त्यो संस्करणको सेमिफाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले माल्दिभ्समाथि ६–० गोलको सजिलो जित हात पारेको थियो । त्यो संस्करणको फाइनलमा भने भारतले बंगलादेशलाई ३–१ गोलले हराउँदै लगातार चौथो पटक उपाधि चुमेको थियो ।
पाँचौँ संस्करण भने सन् २०१९ मा नेपालमै आयोजना भएको थियो । यो संस्करण विराटनगरमा खेलाइएको थियो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो । तर, यसपटक पनि नेपालको उपाधि यात्रामा भारत नै तगारो बन्न पुग्यो ।
फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको थियो । प्रतियोगिताको छैटौँ संस्करण पनि सन् २०२२ मा नेपालमै आयोजना भएको थियो । प्रतियोगिताका खेलहरु काठमाडौँको दशरथ रंगशालामा खेलाइएको थियो । यो संस्करणमा भने सेमिफाइनल खेलमै भारतलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।
अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ८–० गोलले पाखा लगाएको थियो । प्रतियोगिताको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।
अघिल्लो संस्करणजस्तै यसपटक पनि नेपाल र बंगलादेश दुबैले सेमिफाइनल खेलमा पुरानै प्रतिद्वन्द्वीलाई हराएका छन् । साफ च्याम्पियनसिपमा यो गतिलो संयोग हो । यसपटक भने नेपाली टोली फाइनलमा बंगलादेशलाई हराउँदै पहिलो उपाधि चुम्ने धुनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)