बाबर हायातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्ने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा हङ्कङका ब्याट्सम्यान बाबर हायातले कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले विदेशी खेलाडीका रुपमा ३२ वर्षीय हायातलाई अनुबन्ध गरेको हो ।
दायाँहाते ब्याट्सम्यान बाबर हायतले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले २२ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल सात सय ८४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले आठवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर ८९ रन हो ।
यसैगरी, हायातले ७९ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार नौ सय १० रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र १० वटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय २२ रन हो ।
बाबरको आगमनले टोली थप मजबुत भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुत भएको छ,’ प्रशिक्षक मल्लले भने, ‘उनले नेपालमा पनि धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपीएलमा काम लाग्नेछ ।’
कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा यसअघि पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलतलाई अनुबन्ध गरिसकेको छ । कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो ।
कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । हालै सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा कर्णाली याक्सले एकजना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा किनेको थियो । कर्णाली याक्सले १५ लाख रुपैयाँ खर्चिएको खेलाडी गुलसन कुमार झा हुन् ।
यसैगरी, कर्णाली याक्सले नन्दन यादबलाई ११ लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले मौसम ढकाल, अर्जुन घर्ती र देब खनालाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।
यसका अतिरिक्त, कर्णाली याक्सले दुई खेलाडी रित गौतम र भुवन कार्कीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन– तीन लाख रुपैयाँ तथा युनिस बिक्रमसिंह ठकुरीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।