बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
महिला साफ च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपको फाइनल आज

बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई हराउँदै पहिलो उपाधि चुम्ने धुनमा नेपाल
बुधबार, १४ कात्तिक २०८१, ०४ : ४५
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेल आज काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिँदैछ । प्रतियोगिताको फाइनलमा आयोजक राष्ट्र नेपालले बंगलादेशको सामना गर्दैछ । फाइनल खेल नेपाली समय अनुसार, साँझ १८:३० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुबै अपराजित रहँदै फाइनलमा पुगेका हुन् । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाली टोली समूहगत चरणमा खेलिएका तीनमध्ये दुई खेलमा विजयी भएको थियो । एक खेलमा भने नेपाल बराबरीमा रोकिएको थियो ।

समूहगत चरणमा नेपालले एक गोल पनि खाएको थिएने । समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

नेपालले समूहगत चरणको तेस्रो खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो । सेमिफाइनल खेलमा नेपालले पाँचपटकको च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

यसैगरी, बंगलादेश समूह ‘ए’ को विजेता बनेको बंगलादेशले दुई जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेशी टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा बंगलादेशले भारतलाई ३–१ गोलले हराएको थियो । सेमिफाइनल भने बंगलादेशले भुटानलाई ७–१ गोलले पाखा लगाएको थियो ।

साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । नेपाल र बंगलादेश दुबै राष्ट्रले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपका सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण बंगलादेशको कक्सबजारमा आयोजना भएको थियो ।

तर, नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि चुम्न सकेको छैन । बंगलादेशले भने एकपटक यो प्रतियोगिताको उपाधि जितेको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता र नेपाल साविक उपविजेता हुन् । सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ संस्करणको फाइनलमा बंगलादेशले नेपाली टोलीलाई ३–१ गोलले हराएको थियो ।

नेपाली टोली हालसम्म पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको छ । नेपाली टोलीको उपाधि यात्रामा हालसम्म चारपटक भारत र एक पटक बंगलादेश तगारो बनेका छन् । सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । त्यतिबेला फाइनलको ६५औँ मिनेटमा भारतले निर्णायक गोल गरेको थियो ।

यसैगरी, सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले पराजित गरेको थियो । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपाल लगातार तेस्रो पटक फाइनलमा पुगेको थियो ।

तर, तेस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०१६ मा भारतको सिलिगुडीमा सम्पन्न चौथो संस्करणमा भने नेपाली टोली सेमिफाइनलमै पराजित भएको थियो ।

nepal2

त्यो संस्करणको सेमिफाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले माल्दिभ्समाथि ६–० गोलको सजिलो जित हात पारेको थियो । त्यो संस्करणको फाइनलमा भने भारतले बंगलादेशलाई ३–१ गोलले हराउँदै लगातार चौथो पटक उपाधि चुमेको थियो ।

प्रतियोगिताको पाँचौँ संस्करण भने सन् २०१९ मा नेपालमै आयोजना भएको थियो । यो संस्करण विराटनगरमा खेलाइएको थियो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो । तर, यसपटक पनि नेपालको उपाधि यात्रामा भारत नै तगारो बन्न पुग्यो । फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको थियो ।

प्रतियोगिताको छैटौँ संस्करण पनि सन् २०२२ मा नेपालमै आयोजना भएको थियो । प्रतियोगिताका खेलहरु काठमाडौँको दशरथ रंगशालामा खेलाइएको थियो । यो संस्करणमा भने सेमिफाइनल खेलमै भारतलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ८–० गोलको विशाल अन्तरले पाखा लगाएको थियो । तर, यसपटक पनि नेपालको उपाधि जित्ने सपना साकार हुन सकेन । प्रतियोगिताको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

अघिल्लो संस्करणजस्तै यसपटक पनि नेपाल र बंगलादेश दुबैले सेमिफाइनल खेलमा पुरानै प्रतिद्वन्द्वीलाई हराएका छन् । साफ च्याम्पियनसिपमा यो गतिलो संयोग हो । यसपटक नेपाली टोली फाइनलमा बंगलादेशलाई हराउँदै पहिलो उपाधि चुम्ने धुनमा छ ।

यसपटक फाइनल खेलअघि सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा भुटानकी डेकी लहजोम पहिलो स्थानमा छिन् । उनले आठ गोल गरेकी छन् । भुटान उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालकी रेखा पौडेल सात गोलसहित दोस्रो स्थानमा छिन् । त्यसैले रेखासँग जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने सनौलो अवसर पनि छ ।

सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा बंगलादेशकी तोहुरा खातुन तेस्रो स्थानमा छिन् । उनले पाँच गोल गरेकी छन् । यो सूचिमा चौथो स्थानमा रहेकी नेपालकी प्रिती राईले पनि तीन गोल गरिसकेकी छन् । पछिल्लो समय उनी पनि लयमा छिन् ।

युरोपमा ब्यवसीयक फुटबल खेलिरहेकी प्रभावशाली खेलाडी सावित्रा भण्डारी पनि यो प्रतियोगिताका लागि नेपाल आइसकेकी छन् । भारतविरुद्धको सेमिफाइनलमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाली टोलीका लागि यो अर्को सुखद पक्ष हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप