१० बजे, १० समाचार
आज २०८१ कार्तिक १३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- रास्वपाको दबाब
पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् ।
- रवि लामिछाने
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज (मंगलबार) भएन । सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार स्थगित गरेको हो ।
- सहमति
गृह मन्त्रालय र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति भएको छ ।
- छैन उत्साह
तिहारको माहौल सुरु भएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । बजारमा माग बढेसँगै खुद्रा तथा थोक व्यवसायीले सामानको ‘सप्लाइ’ बनाएका छन् । थोक व्यवसायीहरूले तिहारका लागि लक्षित सामाग्री यसअघि नै आयात गरिसकेका छन् ।
- बालोन डी’ओर
विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच यस वर्षको अवार्ड कार्यक्रम सम्पन्न भएको छ । सन् २०२४ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा यसपटक म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी रोड्रीले पुरुषतर्फको बालोन डी’अर अवार्ड हात पारे । २८ वर्षीय मिडफिल्डर रोड्रीले पहिलो पटक बालोन ड’ओर अवार्ड जितेका हुन् ।
- धनतेरस
बिहान ८ बजेदेखि नै सर्वसाधारणहरू बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाको कार्यालयको गेट अगाडि लाइन बसेका थिए । राष्ट्र बैंकले मंगलबार १ दिन मात्र सर्वसाधारणका लागि २ दशमलव ५ ग्रामको सुनको असर्फी बिक्री गर्ने सूचना जारी गरेपछि सुनको असर्फी किन्न सर्वसाधारणको भीड लागेको थियो । बैंकले आइतबारदेखि नै १० ग्राम तथा २५ ग्रामको चाँदीको असर्फी बिक्री भने जारी राखेको थियो ।
- मन्त्रिपरिषद् बैठक
सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
- जग्गा विवाद
‘दान’को जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णयविपरीत अभिव्यक्ति दिएपछि स्पष्टीकरण सोधिएका दुई नेतालाई तत्काल कारबाही गर्नबाट नेकपा एमाले पछाडि हटेको छ । स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई दाने जग्गाबारे पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको र फेसबुकमा लेखेको भन्दै एमालेले सात दिने स्पष्टीकरण सोधेर कारबाहीको तयारी गरेको थियो ।
- विनाधितो ऋण
वैदेशिक रोजगारीमा जाने श्रमिकले बैंकमार्फत विनाधितो ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि कार्यविधि बनाउँदैछ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रालयले सरोकारवालासँग छलफल अगाडि बढाएको छ ।
- तिहार
काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन- इन्द्रचोक । अरू बेला पनि व्यस्त प्राय रहने यहाँको बजार तिहार आएसँगै झनै व्यस्त बनेको छ ।
आजदेखि यमपञ्चक सुरु भएसँगै काठमाडौँको कल्लाबारी क्षेत्रमा रहेका पुष्प किसान सयपत्री टिप्न र माला गाँस्न व्यस्त छन् । इचङ्गु र रामकोट क्षेत्र अहिले सयपत्री, गोदावरी र अन्य फूल फुलेर पाखाहरू निकै सुन्दर देखिएका छन् । किसान पनि बिहानैदेखि बारीमा गएर फूल टिप्न मै व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश