स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार राति आफ्नो दोस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ ।
नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
जारी शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले हालसम्म गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । अमेरिकामा जारी लिग–२ शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।
यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ ।
लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अङ्ग होइन । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरूबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ ।
लिग–२ शृङ्खलाको अङ्क तालिकामा नेपालको अवस्था सन्तोषजनक छैन । नौ खेल खेलेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ । नेपाली टोली सात खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अङ्कसहित आठौँ स्थानमा छ ।
जारी लिग–२ को दोस्रो संस्करणमा नेपालका लागि यो तेस्रो शृङ्खला हो । अमेरिका भ्रमणमा खेलिने लिग–२ प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त क्यानले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई पनि टोलीको मेन्टरका रूपमा नियुक्त गरेको छ ।
पुबुदु पनि लिग–२ शृङ्खलाका लागि हाल नेपाली टोलीसँगै अमेरिकामा रहेका छन् । उनी नेपाली टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद