बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
विवाद

विवादै विवादले घेरिएको बालोन डी’ओर

कहिले–कहिले लाग्यो ‘रबरी’ को आरोप ?
मङ्गलबार, १३ कात्तिक २०८१, १९ : ५२
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच विभिन्न विधाका विजेतालाई यस वर्षको अवार्ड वितरण गरियो ।

तर, यसपटकको अवार्ड कार्यक्रम विवादमुक्त भने रहने । विश्व फुटबलकै सर्वोत्कृष्ट क्लबमध्येको एक रियल म्याड्रिडले अन्तिम समयमा आएर अवार्ड वितरण कार्यक्रम बहिष्कार गर्‍यो । स्पेनिस क्लब रियल म्याड्रिडका कुनै पनि खेलाडी वा पदाधिकारी अवार्ड वितरण कार्यक्रममा उपस्थित भएनन् ।

यद्यपि, यस वर्षको अवार्ड कार्यक्रममा रियल म्याड्रिड नै विश्वको सर्वोत्कृष्ट क्लब पनि घोषित भयो । सन् २०२४ मा खेलाडी, प्रशिक्षक र क्लबले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा यो वर्षको अवार्ड वितरण गरिएको हो ।

अघिल्लो सिजन रियल म्याड्रिडले कीर्तिमानी रूपमा १५औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । यसका अतिरिक्त रियल म्याड्रिडले अघिल्लो सिजन स्पेनिस ला लिगा र स्पेनिस सुपर कपको उपाधि पनि चुमेको थियो ।

सोमबार राति सम्पन्न अवार्ड वितरण कार्यक्रममा रियल म्याड्रिडका कार्लोस एनचेलोट्टी नै वर्षकै सर्वोत्कृष्ट प्रशिक्षक पनि घोषित भएका थिए । ६५ वर्षीय इटालियन नागरिक एनचेलोट्टीकै प्रशिक्षकत्वमा रियल म्याड्रिडले महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाले यो अवार्ड उनलाई प्रदान गरिएको हो ।

यसैगरी, स्पेनिस क्लब रियल म्याड्रिडकै फ्रान्सेली खेलाडी केलियन एमबाप्पेले गेर्ड मुल्लर ट्रफी पनि जिते । युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ । उनले अघिल्लो सिजन ४४ गोल गरेका थिए ।

तर, अवार्ड वितरण कार्यक्रममा भने रियल म्याड्रिडका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् । अवार्ड वितरण कार्यक्रम सुरु हुनुभन्दा ठिकअघि रियल म्याड्रिडले बहिष्कारको घोषणा गरेको थियो । रियलले कार्यक्रम बहिष्कार गर्नुको कारण भने रोचक छ ।

GettyImages-2181470388.jpg

खासमा अवार्ड कार्यक्रम सुरु हुनुभन्दा केही घण्टाअघि नै विजेताको नाम बाहिरिएको थियो । विभिन्न सञ्चारमाध्यममार्फत म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी रोड्रीले पुरुषतर्फको बालोन डी’ओर जित्ने सूचना बाहिरिएपछि रियल म्याड्रिड रुष्ट बनेको हो ।

रियल म्याड्रिड आफ्ना ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले अवार्ड पाउनेमा विश्वस्त थियो । अघिल्लो सिजन रियल म्याड्रिडलाई विभिन्न उपाधि चुमाउन भिनिसियस जुनियरको योगदान महत्त्वपूर्ण रहेको थियो । स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदा पनि उनले ह्याट्रिक गरेका थिए । रियल म्याड्रिडलाई घरेल लिगको उपाधि चुमाउन पनि उनको योगदान उदाहरणीय रहेको थियो ।

रोड्रीले अवार्ड पाउने सूचना बाहिरिएपछि नै रियल म्याड्रिले अवार्ड कार्यक्रम बहिष्कार गर्ने योजना बनाएको थियो । आफ्ना खेलाडीले अवार्ड नपाउने भएपछि रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेज पनि आक्रोशित बनेका थिए । त्यसैले रियल म्याड्रिडका कुनै पनि प्रतिनिधि कार्यक्रममा उपस्थित नभएका हुन् ।

235841b0-957a-11ef-90df-3f1823a91773

विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा माथिल्लो एक सय स्थानभित्र रहेका राष्ट्रका खेल पत्रकारहरूले पुरुष अवार्डका लागि मतदान गर्ने प्रावधान रहेको छ । महिलातर्फको अवार्डका लागि भने फिफा महिला वरीयताको माथिल्लो ५० स्थानभित्र रहेका राष्ट्रका महिला खेल पत्रकारहरूले मतदान गर्ने प्रावधान छ ।

पुरुषतर्फको बालोन डी’ओर अवार्ड सन् १९५६ देखि प्रदान गरिँदै आएको छ । हालसम्म विश्व फुटबलका थुप्रै प्रभावशाली खेलाडीले यो अवार्ड चुमिसकेका छन् । पुरुषतर्फ सर्वाधिक अवार्ड जित्ने खेलाडीको सूचिमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी पहिलो र पोर्चुगिज स्टार क्रिस्टियोन रोनाल्डो दोस्रो स्थानमा रहेका छन् ।

तर, यसपटक यी दुवै खेलाडी अवार्ड जित्ने दौडमा सहभागी थिएनन् । सन् २०२३ पछि पहिलो पटक मेस्सी र रोनाल्डो अवार्डको सूचिमा नपरेका हुन् । हालसम्म मेस्सीले कीर्तिमानी रूपमा आठपटक र रोनाल्डोले पाँच पटक बालन डी’ओर अवार्ड जितिसकेका छन् ।

बालोन डी’ओर अवार्ड सुरु भएयता रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका अल्फ्रेडो डी स्टेफानो, सर बबी चार्लटनदेखि लिएर आफ्नो समयका प्रभावशाली डच फुटबलर जोहान क्रुफ र मार्को भान बास्टेनसम्मले यो प्रतिष्ठित अवार्ड चुमिसकेका छन् । 

तर, बालोन डी’ओर अवार्डको लामो इतिहासमा यसपटक मात्र विवाद सृजना भएको होइन । यसअघि पनि पटक–पटक यो अवार्डको विषयलाई लिएर प्रश्न उठ्ने गरेको थियो । यो अवार्डको आयोजकमाथि क्षमतावान खेलाडीहरुको योगदानलाई भुलेर अवार्ड वितरण गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

यसपटक पनि त्यस्तै दुर्भाग्यपूर्ण नियति यो प्रतिष्ठित अवार्डले भोग्नु पर्‍यो । यो अवार्डको ६८ वर्ष लामो इतिहासमा बेलाबेखत चर्चामा आएका केही विवादको विषयमा यो समाचारमा चर्चा गर्न खोजिएको छ ।

  • भर्जिल भान डाइक (सन् २०१९)

भर्जिल भान डाइक नेदरल्यान्ड्सका प्रभावशाली फुटबलर हुन् । उनी सन् २०१८ मा करिब नौ करोड अमेरिकी डलर पारिश्रमिकमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका थिए । भनिन्छ, भान डाइक आबद्ध भएपछि मात्र लिभरपुलमा प्रशिक्षक योर्गेन क्लोपको खुसीका दिन सुरु भएका थिए ।

भान डाइक अर्को इङ्लिस क्लब साउथएम्पटनबाट लिभरपुल पुगेका थिए । उनले प्रभावशाली सेन्टर–ब्याकको भूमिकामा लिभरपुललाई सफलताको शिखरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । प्रिमियर लिगको आफ्नो ‘डेब्यू’ सिजन (सन् २०१८–१९) मै भान डाइकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यो सिजन लिभरपुल ९७ अङ्क जोड्दै प्रिमियर लिग तालिकामा दोस्रो भएको थियो । केवल एक अङ्क अगाडि रहँदै म्यानचेस्टर सिटीले त्यो सिजनको उपाधि चुमेको थियो । त्यो सिजन लिभरपुलले केवल एक खेलमा हार भोगेको थियो ।

victory_tastes_sweet_for_liverpool_defender_virgil_van_dijk

अविश्वसनीय प्रदर्शन गर्दै प्रिमियर लिगमा दोस्रो भएको लिभरपुलले त्यही सिजन युईएफए च्याम्पियन्स लिगको उपाधि पनि चुमेको थियो । फाइनलमा लिभरपुलले अर्को इङ्लिस क्लब टोट्टनहामलाई २–० गोलले हराएको थियो ।

त्यो सिजन लिभरपुलको हरेक सफलतामा भान डाइकको महत्त्वपूर्ण योगदान रहेको थियो । त्यो सिजन उनले लिभरपुलका लागि ५० खेल खेल्दै १० गोल गरेका थिए । त्यसैले त्यो वर्ष उनलाई बालोन डी’ओर अवार्ड जित्ने विश्वकै चौथो डिफेन्डरका रूपमा हेरिएको थियो ।

तर, त्यो वर्ष उनले बालोन डी’ओरको उपाधि हात पार्न सकेनन् । त्यो वर्ष उनलाई पछि पार्दै अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बालोन डी’ओर उपाधि चुमेका थिए । उनी मेस्सीसँग केवल सात मतले पछि परेका थिए । भान डाइकले बालोन डी’ओर नपाएपछि त्यतिबेला प्रशिक्षक क्लोपले पनि आक्रोश व्यक्त गरेका थिए ।

‘अवार्ड विजेताको चयन खेल पत्रकारहरूले गर्छन् । खेलसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिले जसरी सोच्छन्, खेल पत्रकारहरूले त्यसरी नै नसोच्न पनि सक्छन् । मेरो विचारमा भान डाइकका लागि यो सुनौलो सिजन थियो । म केवल यति भन्छु,’ त्यतिबेला प्रशिक्षक क्लोपले भनेका थिए ।

  • वेस्ली स्नाइडर (सन् २०१०)

सन् २०१० मा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले दोस्रो पटक बालोन डी’ओर अवार्ड जितेका थिए । उनले स्पेनिस ला लिगा क्लब बार्सिलोनामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक यो अवार्ड हात पारेका थिए ।

त्यो सिजन उनले विभिन्न प्रतियोगितामा कुल ४७ गोल गरेका थिए भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका थिए । त्यो सिजन बार्सिलोनाले ला लिगा र फिफा क्लब विश्वकपको उपाधि पनि जितेको थियो ।

GettyImages-98584092.jpg

तर, त्यो सिजन इटालियन क्लब इन्टर मिलानका डच खेलाडी वेस्ली स्नाइडरको प्रदर्शन पनि अब्बल थियो । उनी केही समयअघि मात्र रियल म्याड्रि छाडेर इन्टर मिलान पुगेका थिए । उनलाई भित्राउन इन्टर मिलानका प्रशिक्षक होजे मोउरिन्होले ठुलो प्रयास गरेका थिए ।

स्नाइडरकै उत्कृष्ट प्रदर्शनमा सन् २००९–१० सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग खेलमा इन्टर मिलानले बार्सिलोनालाई ३–१ गोलले हराएको थियो । त्यसपछि दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनसहित बार्सालाई हराउँदै इन्टर मिलान फाइनलमा पुगेको थियो ।

त्यो सिजन च्याम्पियन्स लिगको उपाधि पनि इन्टर मिलानले नै जितेको थियो । इन्टर मिलानले फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोलले हराएको थियो । यो सफलतामा पनि डच प्लेमेकर स्नाइडरको भूमिका महत्त्वपूर्ण थियो ।

त्यो वर्ष स्नाइडरकै उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड फिफा विश्वकपको फाइनलमा पनि पुगेको थियो । तर, फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । उनले त्यो वर्ष विभिन्न चार प्रतियोगितामा म्यान अफ दि म्याचको अवार्ड पनि जितेका थिए ।

तर, त्यो वर्ष पनि बालोन डी’ओर अवार्डमा सर्वाधिक मत पाउने खेलाडीको सूचिमा स्नाइडर स्पेनिस खेलाडी जाभी र आन्द्रेस इनिएस्टाभन्दा पनि पछाडि परेका थिए । ‘मेरो विचारमा यो नतिजा निष्पक्ष आएन । यसमा कतै न कतै गल्ती भएकै छ । स्नाइडर अवार्डकै दाबेदार थिए तर, उनलाई दिइएको मतको अवस्था हेर्दा अवार्डमाथि नै प्रश्न उठाउन पर्याप्त ठाउँ देखिन्छ,’ त्यति बेला इन्टरका अध्यक्ष मासिमो मोराट्टीले भनेका थिए ।

  • अर्लिङ हालान्ड (सन् २०२३)

सन् २०२२ मा फिफा विश्वकप आयोजना भएको थियो । कतारमा सम्पन्न त्यो विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि चुमेको थियो ।

त्यसैले सन् २०२३ को बालोन डी’ओर अवार्ड पनि मेस्सीले नै पाए । उनले जितेको यो कीर्तिमानी रूपमा आठौँ बालोन डी’ओर अवार्ड थियो । त्यो संस्करणको बालोन डी’ओर अवार्ड मेस्सीले पाउनु स्वाभाविक पनि थियो ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि चुमाउन उनले सात खेलमा १० गोलको योगदान पनि गरेका थिए । यसका अतिरिक्त त्यति बेला उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्थे । उनले पीएसजीलाई च्याम्पियन बनाउन २० गोल गर्दै २१ गोलको लागि पास पनि उपलब्ध गराएका थिए ।

GOAL - Blank WEB - Facebook - 2024-09-12T142228.292.png

अर्कोतिर, त्यो सिजन नर्वेजियन स्टार अर्लिङ हालान्डको प्रदर्शन पनि अब्बल थियो । उनले त्यो सिजन म्यानचेस्टर सिटीका लागि ५२ खेल खेल्दै एक्लैले ५३ गोल गरेका थिए । त्यो सिजन हालान्डले म्यान सिटीलाई तीनवटा ठुला प्रतियोगिताको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसका अतिरिक्त हालान्डले त्यो अवधिमा क्लब फुटबलमा थुप्रै कीर्तिमान पनि आफ्नो नाममा पारेका थिए । हालान्ड प्रशिक्षक पेप ग्वार्डिओलाका लागि जादुको छडी सावित भएका थिए । त्यति बेला पनि विश्व फुटबलमा बालोन डी’ओर अवार्डको विषयलाई लिएर प्रश्न उठाइएको थियो ।

विश्व फुटबलका पण्डितहरूले प्रश्न उठाएका थिए, ‘के मेस्सीको विश्वकप उपाधि सिजनभर हालान्डले हासिल गरेका थुप्रै लोभलाग्दा उपलब्धिहरूलाई ओझेलमा पार्न पर्याप्त थिए त ?’ त्यति बेला आफ्नो समयका प्रभावशाली जर्मन फुटबलर लोथर म्याथ्यूजले सायद यस्तो सोचेका थिएनन् ।

पीएसजीका पूर्वस्टार जेरोम रोथेनले त त्यति बेला मेस्सी आफ्नो क्लबको उत्कृष्ट खेलाडी नभएको दाबीसमेत गरेका थिए । यसका अतिरिक्त त्यतिबेलाको बालोन डी’ओर अवार्डमा समय सीमाका कारण विश्वकपको उपलब्धि जोडिन नहुने तर्क पनि गरिएको थियो ।

  • क्रिस्टियानो रोनाल्डो (सन् २०१८)

सन् २०१८ को संस्करणअघि बालोन डी’ओर अवार्डमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको एकछत्र राज थियो । यी दुई खेलाडीले लगातार १० वर्षसम्म उपाधि जित्दै आएका थिए । त्यो १० वर्षको अवधिमा रोनाल्डोले पाँच र मेस्सीले पाँचपटक उपाधि जितेका थिए ।

सन् २०१८ मा आएर यी दुई खेलाडीको दबदबा तोडिएको थियो । सन् २०१८ को बालोन डी’ओर अवार्ड क्रोएसियन खेलाडी ३३ वर्षीय लुका मोड्रिचले जितेका थिए । त्यति बेला लुका मोड्रिचले रियल म्याड्रिडलाई १३औँ पटक च्याम्पियन्स लिगको उपाधि चुमाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसका अतिरिक्त रुसमा सम्पन्न फिफा विश्वकपमा पनि उनको प्रदर्शन अब्बल थियो । उनकै उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो । फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराएको थियो ।

GettyImages-962792886.jpg

त्यो विश्वकपमा उनले तीन गोल गरेका थिए भने गोलका लागि विभिन्न खेलाडीलाई ११ वटा पास उपलब्ध गराएका थिए । तर, सन् २०१८ मा रोनाल्डोले बालोन डी’ओर अवार्ड पाउने अनुमान धेरैले गरेका थिए ।

रोनाल्डोले त्यो सिजन कुल ४४ गोल गरेका थिए । च्याम्पियन्स लिगमा मात्र उनले रियल म्याड्रिडका लागि १५ गोल गरेका थिए । त्यति बेला रोनाल्डो पनि च्याम्पियन्स लिग विजेता क्लब रियल म्याड्रिडमै आबद्ध थिए ।

त्यसैले रोनाल्डोले अवार्ड नपाएपछि धेरै फुटबल विश्लेषकले असन्तुष्टि पनि व्यक्त गरेका थिए । रोनाल्डो आफैले भने यस विषयमा कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन् । तर, उनकी बहिनीले सामाजिक सञ्जालमार्फत अवार्ड निष्पक्ष नभएको गुनासो गरेकी थिइन् ।

‘हामी दुर्भाग्यपूर्ण संसारमा बाँचिरहेका छौँ । यहाँ माफिया र पैसाको मात्र बोलबाला छ,’ त्यति बेला रोनाल्डोकी बहिनी एल्मा एवेइरोले भनेकी थिइन्, ‘तर, ईश्वरको शक्ति यो तुच्छ समाजभन्दा निकै माथि छ । यथार्थ त सबैले बुझेकै छन् ।’

  • डेको (सन् २००४)

सन् २००४ को बालोन डी’ओर अवार्ड युक्रेनी स्ट्राइकर एन्ड्री सेभचेन्कोले पाएका थिए । त्यति बेला उनी इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । उनले त्यो सिजन एसी मिलानलाई इटालियन सिरिए र कोपा इटालियानाको उपाधि चुमाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सेभचेन्कोले त्यो सिजन विभिन्न प्रतियोगितामा कुल ३६ गोल गरेका थिए । त्यति बेला उनी समकालीन विश्व फुटबलको उत्कृष्ट सेन्टर फरवार्डहरूमध्ये एक थिए । उनले सन् २००४ मा डेको, रोनाल्डिन्हो र थिएरी हेनरीलाई पछि पार्दै बालोन डी’ओर जितेका थिए ।

त्यतिबेला रोनाल्डिन्हो बार्सिलोनामा आबद्ध थिए । उनले आफ्नो डेब्यू सिजनमा बार्सिलोनाका लागि २८ गोल गरेका थिए । उनले त्यो वर्ष फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड भने जितेका थिए ।

GettyImages-3123310.jpg

अर्कोतिर, आर्सनलका प्रभावशाली खेलाडी हेनरीले पनि ४६ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट अवार्ड पनि जितेका थिए । त्यतिबेला प्रिमियर लिगमा आर्सनलको अपराजित यात्रामा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो ।

यी दुबै खेलाडीले त्यतिबेला बालोन डी’ओर अवार्डमा पनि बलियो दाबेदारी प्रस्तुत गरेका थिए । तर, उनीहरूभन्दा पनि गतिलो प्रदर्शन डेकोको थियो । डेकोले होजे मोउरिन्होको प्रशिक्षकत्वमा पोर्टोका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यतिबेला उनले पोर्टोलाई तीनवटा ठुला उपाधि पनि चुमाएका थिए । उनले नौ गोल गरेका थिए भने २५गोलका लागि पास उपलब्ध गराएका थिए । फाइनलमा मोनाकोलाई हराउँदै पोर्टोले च्याम्पियन्स लिगको उपाधि जित्दा डेको म्यान अफ दी म्याच पनि घोषित भएका थिए ।

त्यतिबेला डेकोले यूईएफए क्लब फुटबलर अफ दी इयर अवार्ड पनि जितेका थिए । त्यही उपलब्धिपछि उनी निकै ठुलो पारिश्रमिकमा बार्सिलोनामा आबद्ध पनि भएका थिए । यसका बावजुद डेको बालोन डी’ओर अवार्डबाट वञ्चित भएका थिए ।

  • फ्रान्क रिबेरी (सन् २०१३)

सन् २०१२–१३ सिजनमा फ्रान्स रिबेरी जर्मन क्लब बायर्न म्युनिखमा थिए । त्यो सिजन बायर्न म्युनिखले जुप्स हेन्केसको प्रशिक्षकत्वमा तीनवटा महत्त्वपूर्ण उपाधि चुमेको थियो । बायर्न त्यतिबेला यस्तो सफलता हात पार्ने पहिलो जर्मन क्लब बनेको थियो ।

बायर्नलाई ती उपाधि चुमाउन रिबेरीको योगदान महत्त्वपूर्ण थियो । त्यो सिजन बायर्नले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब बोरुसिया डर्टमन्डलाई हायल कायल बनाएको थियो । बायर्नले बुन्डेस लिगाको उपाधि चुमेको थियो । जर्मन कपको उपाधि पनि बायर्नले नै जितेको थियो ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2023-10-23T123912.484.jpg

त्यो सिजन बोरुसिया डर्टमन्डलाई नै हराउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको उपाधि पनि चुमेको थियो । बायर्नलाई यस्तो सफलता दिलाउन रिबेरीका अतिरिक्त थोमस मुलर, फिलिप ल्हाम, बास्टियन स्वाइनस्टाइगरजस्ता खेलाडीको पनि महत्त्वपूर्ण योगदान थियो ।

तर, सबैभन्दा ठुलो योगदान फ्रान्सेली विंगर रिबेरीकै थियो । उनले त्यो सिजन क्लबका लागि कुल ३४ गोल गरेका थिए । उनले सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा क्लबका लागि गोल गरेका थिए । यति हुँदा पनि उनी बालोन डी’ओर अवार्डमा रोनाल्डो र मेस्सीभन्दा निकै पछि परेका थिए ।

त्यो वर्ष बालोन डी’ओरको उपाधि रोनाल्डोले जितेका थिए । उनले रियल म्याड्रिडका लागि ५५ गोल गरेका थिए । तर, रोनाल्डो र मेस्सी दुवैले त्यो सिजन कुनै पनि ठुलो प्रतियोगिताको उपाधि भने जित्न सकेका थिएनन् । मेस्सीको बार्सिलोना पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग ०–७ गोलले पराजित भएको थियो । 

आफूले त्यतिबेला बालेन डी’ओर अवार्ड नपाएपछि रिबेरी आफैले पनि असन्तुष्टि पोखेका थिए । उनले भनेका थिए, ‘यो अत्यन्तै अनुचित थियो । त्यो सिजन मैले अविश्वसनीय प्रदर्शन गरेको थिएँ । अवार्डप्रति म विश्वस्त पनि थिएँ । मैले अवार्ड पाउने सम्भावना बढेपछि आयोजकले बालोन डी’अर अवार्डमा भोटिङको समय पनि बढाए । पक्कै पनि त्यतिबेला केही अनौठो भएको थियो । मेरो विचारमा त्यो फुटबलको भन्दा पनि राजनीतिक छनोट थियो ।’

  • रोबर्ट लेवान्डोस्की (सन् २०२० र सन् २०२१)

सन् २०१९–२० सिजनमा जर्मन क्लब बायर्न म्युनिखले तीनवटा ठुला प्रतियोगिताको उपाधि चुमेको थियो । त्यो सिजन बायर्न म्युनिखले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु लिग बुन्डेस लिगा र जर्मन कपको उपाधि हात पारेको थियो ।

यसका अतिरिक्त युरोपेली फुटबलको सबैभन्दा ठुलो क्लब प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि पनि बायर्न म्युनिखले नै जितेको थियो । त्यतिबेला प्रभावशाली स्ट्राइकर लेवान्डोस्की पनि बायर्न म्युनिखमै आबद्ध थिए ।

GettyImages-1228174818.jpg

बायर्न म्युनिखलाई ती सफलता दिलाउन उनको भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो । उनले त्यो सिजन कुल ५५ गोल गर्दै आफूलाई विश्वकै सर्वोत्कृष्ट स्ट्राइकरको रूपमा उभ्याएका थिए । पोल्यान्डका यी खेलाडी त्यतिबेला बालोन डी’ओर अवार्डको प्रमुख दाबेदार थिए ।

तर, दूर्भाग्यवश, कोभिड–१९ महामारीका कारण त्यो वर्ष बालोन डी’ओर अवार्ड नै नदिने घोषणा गरियो । तर, औपचारिक कार्यक्रम आयोजना नगरे पनि खेलाडीको प्रदर्शनका आधारमा अवार्ड दिन निकै चर्को आवाज उठाइएको थियो । तर, आयोजकले अवार्ड कार्यक्रमै आयोजना गरेन ।

त्यसपछि सन् २०२१ मा पनि लेवान्डोस्कीले अझ उत्कृष्ट प्रदर्शन गरे । उनले त्यो विभिन्न प्रतियोगितामा कुल ६२ गोल गरेका थिए । दुर्भाग्य, त्यो वर्ष पनि उनले बालोन डी’ओर अवार्ड प्राप्त गर्न सकेनन् । त्यो वर्ष उनी मेस्सीभन्दा ३३ मतले पछाडि परे । त्यो वर्षको अवार्ड मेस्सीलाई प्रदान गरिएको थियो ।

त्यतिबेला मेस्सी आफैले लेवान्डोस्कीलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी सबैलाई थाहा छ तपाईँमाथि अन्याय भएको छ । एक वर्षअघि नै तपाईँले अवार्ड पाउनु पर्थ्यो । तर, त्यतिबेला आयोजकले कार्यक्रम नै रद्द गरे । मेरो विचारमा तपाइँलाई आयोजकले सन् २०२० को अवार्ड दिनै पर्छ । तपाइँ त्यसको सच्चा हकदार हुनुहुन्छ ।’

त्यतिबेला लेवान्डोस्कीलाई गर्ड मुलर स्ट्राइकर अफ दि इयर पुरस्कार मात्र प्रदान गरिएको थियो । त्यतिबेला थुप्रै फुटबल पण्डितहरूले अवार्डको औचित्यमाथि नै प्रश्न पनि उठाएका थिए ।

  • थियरी हेनरी (सन् २००३)

फ्रान्सेली स्ट्राइकर पनि थियरी हेनरी पनि उत्कृष्ट प्रदर्शन गर्दा समेत बालोन डी’ओर अवार्ड पाउन नसक्ने अभागी खेलाडी हुन् । यी प्रभावशाली खेलाडी सन् २००३ मा यो अवार्डको बलियो दाबेदारका रूपमा देखिएका थिए ।

तर, सन् २००३ को बालोन डी’ओर अवार्ड चेक गणतन्त्रका पाभेल नेदभेदले जितेका थिए । त्यतिबेला हेनरीले इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्थे । त्यो सिजन उनले क्लबका लागि २४ गोल गरेका थिए भने २५ गोलका लागि पास उपलब्ध गराएका थिए । उनी अझै यस्तो प्रदर्शन गर्ने इङ्लिस फुटबल इतिहासका कीर्तिमानी खेलाडी हुन् ।

GettyImages-2761223.jpg

सन् २००२–०३ सिजनको प्रिमियर लिगमा आर्सनल थोरै अन्तरका कारण म्यानचेस्टर युनाइटेडसँग पछाडि परेको थियो । तर, त्यतिबेला आर्सनलले एफए कपको उपाधि चुमेको थियो । त्यो सिजन हेनरी पीएफए प्लेयर्स अफ दि इयर र एफडब्लूए फुटबलर अफ दि इयरको अवार्डबाट पनि सम्मानित भएका थिए ।

त्यो सिजन हेनरीले च्याम्पियन्स लिगमा पनि सात गोल गरेका थिए । तर, बालोन डी’ओर अवार्डमा भने उनी नेदभेदसँग पछि परे । उनी दोस्रो भएका थिए । त्यतिबेला नेदभेद युभेन्ट्समा आबद्ध थिए । युभेन्ट्सलाई त्यो सिजन स्कुडेटोको उपाधि चुमेको थियो । युभेन्ट्स युरोपियन कपको फाइनलमा पनि पुगेको थियो तर, फाइनलमा पेनाल्टी सुटआउटमा एसी मिलानसँग हारेको थियो ।

युभेन्ट्सको यी सबै सफलतामा नेदभेदको योगदान पनि महत्त्वपूर्ण थियो । यति हुँदा पनि त्यो सिजन बालोन डी’ओर अवार्डमाथि हेनरीकै पकड बलियो देखिएको थियो । तर, अन्तिम समयमा आएर उनी मतमा नेदभेदसँग पछि परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप