आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय

मङ्गलबार, १३ कात्तिक २०८१, १८ : ३७
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । 

डेंगुका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए । 

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ”, उनले भने । 

शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगु सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए । 

डेंगु सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगु सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । 

उपत्यकामा डेंगु सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना, भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेंगु सङ्क्रमण देखिएको छ । 

वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो । 

डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप