मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
तिहार

सुनको असर्फी किन्न राष्ट्र बैंकमा भीड : कर्मचारीलाई गोप्य ढोका, सर्वसाधारणलाई हैरानी (भिडियोसहित)

मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । बिहान ८ बजेदेखि नै सर्वसाधारणहरू बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाको कार्यालयको गेट अगाडि लाइन बसेका थिए । राष्ट्र बैंकले मंगलबार १ दिन मात्र सर्वसाधारणका लागि २ दशमलव ५ ग्रामको सुनको असर्फी बिक्री गर्ने सूचना जारी गरेपछि सुनको असर्फी किन्न सर्वसाधारणको भीड लागेको थियो । बैंकले आइतबारदेखि नै १० ग्राम तथा २५ ग्रामको चाँदीको असर्फी बिक्री भने जारी राखेको थियो । 

rbbb (1)

असर्फीका लागि बबरमहलस्थित बैंकको गेटदेखि बिजुलीबजार धोवीखोलाको पुलसम्म सर्वसाधारणको लाइन लागेको थियो । राष्ट्र बैंकले मंगलबार निर्धारित हुने सुनको मूल्य अनुसार सुनको असर्फी बिक्री गर्ने तयारी गरेको थियो । बिहान ११ बजेपछि मात्र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य निर्धारण गरेपछि मात्र असर्फी बिक्री थालिएका कारण सर्वसाधारणहरू घण्टौँ लाइनमा बस्न बाध्य भए । सर्वसाधारण लाइन बसेको गेटको ढोका घण्टांैं नखोलेपछि आक्रोशित भीडले बैंकको गेट नै  भत्काउने प्रयास गरेपछि लाठीचार्जको अवस्था सिर्जना भएको थियो । भीड बढेपछि गेटभित्र प्वालबाट सुरक्षाकर्मीले सर्वसाधारणलाई लट्ठीले घोच्ने काम गरिरहेको थिए ।  

गेटको ढोका खोलेका बेला पनि थोरै मात्र सर्वसाधारणलाई भित्र प्रवेश गराएपछि सर्वसाधारण आक्रोशित भएका थिए । लाइन व्यवस्थित नगरेका कारण घण्टौँ लाइन बसेका सर्वसाधारण बैंकभित्र प्रवेश नपाएपछि रित्तो हात घर फर्किएका थिए । 

rbbb (2)

पेप्सीकोलाबाट असर्फी खरिदका लागि आएका भानु मैनाली बिहान ९ बजे बबरमहल पुगेका थिए । दिनभरि लाइन बसेका उनी साढे ३ बजेसम्म असर्फी किन्नु त परेको कुरा गेटभित्र सम्म प्रवेश पाएनन् । उनले भने,‘आउनु मात्र भयो, यहाँ केही सिस्टम नै छैन । कति कति जना हुन्छ,  ग्रुप ग्रुप पठाएर विधिसंगत रूपमा काम गर्नुपर्ने, त्यो भएन । एक दुई पटक त झडप जस्तो पनि भयो । मैले चाहिँ तनाव लिनुभन्दा नलिने भनेरै छाडिदिएँ ।’

उनले माथिल्लो तहको कर्मचारीले सिस्टम नबनाएका कारण भद्रगोल भएको बताए । बलियाहरू, लाइन मिच्नेहरू अगाडि पुगेर गेटभित्र छिर्ने तर बाहिर इमान्दार भएर लाइन बस्नेहरूले हैरानी पाएको उनले बताए । 

rbbb (3)

गेटबाहिर मात्र नभई गेटभित्र प्रवेश पाएका सर्वसाधारणले पनि सहज रूपमा असर्फी किन्न पाएनन् । बानेश्वरबाट आएका रामलखन चौधरी बिहान साढे ८ बजे नै असर्फी खरिदका लागि टक्सार कार्यालय पुगेका थिए । बल्लतल्ल बैंकको गेटभित्र प्रवेश गरेका उनले साढे २ बजेसम्म पनि असर्फी खरिदका लागि काउन्टरमा पुग्न पाएका थिएनन् । उनले पनि राष्ट्र बैंकले सिस्टम व्यवस्थित नगरेका कारण सर्वसाधारणले हैरानी पाएको बताए । उनले भने,‘लाइन व्यवस्थित गर्न सकेन । बाहिर गेटबाट पनि जो बलियो छ, पेलेर गेटभित्र छिरेर आएको छ । भित्रपनि अर्को लाइन छ, यहाँपनि बलियोले पेल्ने, अरूले सजिलै पाउने अवस्था छैन ।’

rbbb (4)

सेना, प्रहरी र सरकारी कर्मचारीलाई सरल सेवा, प्रवेशका लागि छुट्टै ढोका 

राष्ट्र बैंकको टक्सार महाशाखाले असर्फी विक्रीका लागि सर्वसाधारणका लागि हैरानी दिएपनि नेपाली सेना, नेपाल प्रहरी र विभिन्न सरकारी निकायका कर्मचारीका लागि भने सरल सेवा दिएको थियो । उनीहरूका लागि टक्सार विभागसँग जोडिएको नेपाल औषधी लिमिटेड कार्यालयमा जाने गेटबाट टक्सार परिसर प्रवेशका लागि सरल बाटो खोलिएको थियो ।

rbbb (5)

सर्वसाधारण घण्टौँ लाइनमा बसेर पनि कार्यालयको गेटभित्र प्रवेश नपाएका बेला सरकारी कर्मचारीहरूका लागि छुट्टै काउन्टरसहित छरितो सेवा प्रदान गरेको थियो । पहुँचवाला विभिन्न निकायका व्यक्तिहरू टक्सार महाशाखा प्रमुख सम्झना ढकालको कार्यकक्षमा पुगिरहेका थिए । उनीहरूलाई ढकालले अझै द्रुत गतिमा असर्फी खरिदका लागि सहयोग गरिरहेकी थिइन् ।

कार्यालय प्रमुख ढकाल सेवाग्राहीको अवस्था कस्तो छ भनेर बुझ्न बाहिर निस्किएकी थिइनन् । सर्वसाधारण अझै पनि लाइनमा छन् र भनेर उनी कर्मचारीहरूलाई प्रश्न गरिरहेकी थिइन् । 

rbbb (6)

अघिल्लो पटक सुनको असर्फी खरिदका लागि ६ दिन खुला गरेको तर यो पटक एक दिनका लागि मात्र खुला गरेको कारण सेवाग्राही धेरै आएको हुनसक्ने उनले उल्लेख गरिन् । सुनको आजको दरभाउ ढिलो आएको कारण बिक्री खुला गर्न ढिलाइ भएको १२ वटा काउन्टरबाट बिक्री गरिरहेको जानकारी उनले दिइन् । 

राष्ट्र बैंकले २ दशमलव ५ ग्रामको सुनको असर्फीको मूल्य ३६ हजार ८६५ रुपैयाँ, चाँदीको असर्फीतर्फ गाई, लक्ष्मी र गणेशको चित्र अंकितप्रति १० ग्राम २२ सय रुपैयाँ र गाईको चित्र अंकित २५ ग्रामको ५ हजार ५ सय र गजलक्ष्मी चित्र अंकित १० ग्राम चाँदीको २२ सय रुपैयाँमा बिक्री गरेको हो । बुधबार पनि चाँदीको असर्फी बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । तिहारअघि हरेक वर्ष राष्ट्र बैंकले धनतेरसलाई  लक्षित गर्दै सुन र चाँदीको असर्फी बिक्री गर्दै आएको छ । 

rbbb (7)rbbb (8)rbbb (9)rbbb (10)rbbb (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया