कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति राष्ट्रपतिको चिन्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू बिदेसिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी बिदेसिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो ।
मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी बिदेसिने अवस्था हटाउनु पर्ने बताएका हुन् ।
समूहले बिदेसिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठुलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । त्यसको प्रत्युत्तरमा राष्ट्रपति पौडेलले बिदेसिने क्रम रोक्नुपर्ने बताएका हुन् ।
‘सहरका विद्यार्थी बिदेसिने र गाउँका विद्यार्थी सहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालयहरू रित्तिएको अवस्था छ,’ राष्ट्रपति पौडेलले भने, ‘विद्यार्थी अभावमा गाउँका विद्यालयहरू आपसमा खप्टिनुपर्ने अवस्था छ, विद्यार्थीहरू खर्च गर्दै विदेशिनु दुर्भाग्यपूर्ण छ ।’
विद्यार्थी बिदेसिने अवस्था रोक्न सरकारलाई घचघच्याउन र खबरदारी गर्न शिक्षा पत्रकार समूहलाई उनको आग्रह थियो ।
स्वर्गजस्तो सुन्दर देश नेपाल सबै मिलेर सम्पन्न बनाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले जनशक्तिको विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताए । यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने विषयमा शिक्षा पत्रकारहरुका कलम चल्नुपर्नेमा उनको जोड थियो ।
शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन,सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानत: निःशुल्क र अनिवार्य शिक्षाको कार्यानवयन लगायतका लागि चासो र पहलकदमी लिइदिन राष्ट्रपतिलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
सोही अवसरमा समूहले विगत २५ वर्ष देखिका टेकोले धानेको घर, कसीमा निजी विद्यालय, शिक्षाका चार मुद्दा, चित्र विचित्र, विद्यालयमा माध्यम भाषा, शिक्षाका सारथिलगायत दर्जन बढी आफ्ना प्रकाशनहरू राष्ट्रपतिलाई हस्तान्तरण गरेको थियो ।
रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले मंगलबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति समक्ष समसामयिक शिक्षासम्बन्धी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन