बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

मङ्गलबार, १३ कात्तिक २०८१, १६ : ३६
मङ्गलबार, १३ कात्तिक २०८१

मकवानपुर । मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो नखेल्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार तिहार तथा छठ पर्वका समयमा जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन सुरक्षाकर्मी परिचालन गरी गस्ती बढाइएको छ । चार्ड पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपार्न आग्रह गरिएको उनले बताए ।

पटाका, भूइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । जुवा, तास, लङ्गुर बुर्जा खेल्ने खेलाउने तथा कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न प्रशासनको आग्रह रहेको छ ।

प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकोले सो कार्य नगर्नु, नगराउनु प्रशासन कार्यालयले आग्रह गरेको छ । कानुन विपरीतका गतिविधि तथा क्रियाकलाप सञ्चालन गरेमा कारबाही हुने ब्यहोरा समेत प्रशासनले सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप