नेपाली सार्वजनिक वृत्तमा सम्मानित र पाको पुस्तामा पर्ने डा. देवेन्द्रराज पाण्डेलाई कसैले पञ्चायती व्यवस्थामा हुर्किएको विद्रोही अर्थ–सचिवका रूपमा चिन्छन् त कोही बहुदल स्थापनापछिको अर्थमन्त्रीका रूपमा । कोही लोकतान्त्रिक चेतनाका वाहकका रूपमा बुझ्छन् त कोही नागरिक अगुवाका रूपमा । मुलतः उनी पश्चिमा विश्वविद्यालयको ज्ञान प्रणालीमा दीक्षित भइ नेपाली समाजको उन्नतिका लागि चिन्तन गरी जीवन बिताएका झर्रो अर्थशास्त्री र चिन्तक हुन् ।
‘नेपाल्स फेल्ड डेभलपमेन्टः रिफ्लेक्सन अन मिसन एन्ड मालाडिज’ र ‘अर्थ–राजनीतिक विसंगतिः राष्ट्र निर्माणको तगारो’ उनको चर्चित पुस्तक हो भने भने उनका ‘लुकिङ एट डेभलपमेन्ट एनड डोनर्सः एस्सेज फ्रम नेपाल’, ‘द आइडिया अफ इन्टिग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन’, ‘नेपाली अर्थराजनीतिः चुनौती र विकल्प’, ‘नागरिक आन्दोलन र गणतान्त्रिक चेतना’ एवं ‘एक ज्यान दुई जुनी’ पुस्तक प्रकाशित छन् ।
उनै पाण्डेसँग व्यवस्था परिवर्तनपछि पनि सङ्लिन नसकेको नेपाली राजनीति र आमनागरिकका अपेक्षामा केन्द्रित भइ नरेश ज्ञवाली र रोहित बास्तोलाले गरेको कुराकानी ।
नेपाली राजनीति र अर्थतन्त्रको यो अवस्था पहिलेकै निरन्तरता हो । पहिले भन्नुको अर्थ मैले एक सय वर्ष अघिको नेपाली समाज र राजनीतिको कुरा गरेको होइन । त्यतिबेलाको जीवनशैली, अर्थतन्त्रको चरित्र र अन्तर्राष्ट्रिय आदानप्रदानका आफ्नै सीमा थिए । तर, पछि जब हामी आधुनिकीकरण र विकासको बाटोमा लाग्यौँ, त्यति बेलादेखि नै समस्याहरू नभएका होइनन् । राजनीतिले त्यसैको समाधानका लागि काम गर्ने हो । तर भइदियो के भने, यो झन्–झन् झाङ्गिदै गयो । दुःखी नागरिकजन देशमै आफ्नो परिवारसँग बसेर जीवन बिताउन चाहन्छन् । तर, परिवारलाई जोगाउनकै लागि पनि उनीहरू अफ्रिकादेखि युक्रेनसम्म पुग्नु परेको छ ।
देशका युवाहरू परिवार जोगाउन विदेश लागे, म्युजिकल चेयरवालालाई सजिलो भइदियो । धेरै अघि पञ्चायतको आलोचना गर्दै मैले दुइटा कुरा भनेको थिए– भारतसँगको खुला सिमाना हुनु र १४/१५ वर्षकै उमेरमा रक्सी किन्न पाइने बनाउनु नेपाली शासकका लागि दुइटा ‘सेफ्टी भल्व’ हुन् । संसारको कुनै पनि देशमा यति सजिलो गरी, सानै उमेरमा रक्सी किन्न र खान पाइँदैन । तर, नेपालमा पाइन्छ । शासक, नेपाली युवालाई विदेश जाने लत र रक्सीको लतमै रत्याइराख्न चाहन्छन् । नभए युवाहरू विसङ्गति विरुद्ध जाग्थे र यहाँ विष्फोट हुन्थ्यो । पञ्चायतदेखि आजसम्म यही दुइटा ‘सेफ्टी भल्व’ले काम गरिरहेको छ ।
बाध्यताको चंगुलमा परेर खाडी जाने धेरै छन् । दुष्कर जीवनलाई सपार्न चाहने तर व्यवस्थाको माखेसाङ्लोमा जेलिएकाहरूसँग रोज्नका लागि विकल्प हुँदैन ।
पछि युवाहरू खाडी जान पाउने भएपछि त शासकहरूलाई झनै हाइसञ्चो भयो । जबकि जनताको अवस्था साँच्चै दुष्कर छ । हाम्रो अर्थतन्त्रको चरित्र नै यस्तो भइदियो कि रेमिट्यान्स देखेर शासकहरू दङ्गदास छन् । त्यहाँ म भए पनि खुसी नै हुन्थेँ होला । रेमिट्यान्स भित्रिएसँगै सबैले मन लागेको बस्तु आयात गर्न पाइने भयो । त्यो आयातित बस्तुमा मनग्गे कर लगाएर राजस्व उठाउन पाइने भयो । उठेको राजस्व र भित्रिएको रेमिट्यान्सले तात्कालिक सङ्कट टार्न पाइने भयो । भनेपछि शासकले केही गर्नै परेन ।
देशको यस्तो जर्जर र विकराल अवस्था उनीहरूले किन देखेनन्, त्यसमा उनीहरू किन गम्भीर छैनन् भन्नेबारे पनि गम्भीर छलफल र चिन्तन हुन पाएन । यसले शासकहरूलाई हाइसञ्चो भयो । जसरी पनि सत्ता उनीहरूकै वरपर घुमिराखेको छ । भनेपछि सत्ताका लागि पनि मेहनत गर्न नपर्ने अवस्था भयो ।
परिवार धान्न सक्ने, आर्थिक स्रोतको जोहो गर्न सक्ने, चेतना भएको शिक्षित, आफ्नो भविष्यबारे निर्णय गर्न सक्नेको संख्या थोरै छ यसमा । धेरै त बाध्यताको चङ्गुलमा परेर खाडी जानेहरू छन् । दुष्कर जीवनलाई सपार्न चाहने तर व्यवस्थाको माखेसाङ्लोमा जेलिएकाहरूसँग रोज्नका लागि कुनै विकल्प हुँदैन । खाडी जानेहरू यो देश ‘रेन्ट सिकिङ नेसन’ हो भनेर गएका होइनन् । उनीहरू त बाँच्नै अप्ठ्यारो परेपछि जीवन धान्नकै लागि गएका हुन् । युरोप–अमेरिका जाने र खाडी, मलेसिया जानेहरूलाई छुट्ट्याएर हेर्नुपर्छ ।
मेरै व्यक्तिगत कुरा गरौँ न ! मेरी छोरी अमेरिकामा छिन् । अहिले त उनलाई भन्न छाडिदिएँ, नभए पहिले नेपाल आऊ भनेर धेरै कर गरेँ । ‘तिमीले त्यहाँ गर्ने काम यहाँ पनि पाइन्छ, आफ्नै देश फर्क’ भनेँ । एकदिन उनले मलाई भनिन्– बुबा तपाईं नेपाल फर्कमात्र भन्नु हुन्छ । म नेपाल फर्केपछि तपाईं मेरालागि क–कसलाई भनसुन गर्दै हिँड्नु हुन्छ ? म कहाँ–कहाँ धाउनुपर्ने हो ? आफ्नो दैनन्दिन जीवनमा आइपरेका समस्या सल्ट्याउन क–कसलाई फोन गर्नुपर्ने हो ? केही हेक्का राख्नु भा’छ ?
खासमा मेरी छोरी छात्रवृत्तिमा अमेरिका पढ्न गइन् । पढाइ सकेर एक ठाउँमा दरखास्त हालेको, पढाउने जागिर पाइन् । त्यो जागिर उनले कसैलाई भनसुन गरेर पाएको होइन । उनले आफ्नो क्षमता अनुरुप बढुवा पनि पाइरहेकै छिन् । अमेरिकामा तपाईंले कसैलाई भनसुन गर्नु पर्दैन, कसैलाई फकाइराख्नु पर्दैन । त्यहाँ उनीहरूले एउटा पद्धति बसालेका छन्, त्यसै पद्धति अन्तर्गत प्रणालीले स्वतः काम गरिरहेको हुन्छ । तर, हाम्रोमा सामान्यभन्दा सामान्य जागिर खान पनि भनसुन गर्नुपर्छ । तपाईंले पहिलो नम्बरमा नाम निकाले पनि भनसुनका आधारमा अर्कोले जागिर पाइरहेको हुन्छ । उपचारका लागि अस्पताल जाँदा मन्त्रीदेखि अस्पतालको निर्देशकसँग कुरा गर्नुपर्छ ।
युरोप–अमेरिकामा धेरै नेपाली पहिले पढ्न गए । पछि त्यहीँ काम गरेर बस्न थाले । दलालको पछि लागेर लुकी–छिपी जानेको संख्या पनि छ । तर, उनीहरूको जीवन बाहिरबाट हेरेजस्तो सजिलो र रङ्गिन छैन नि ! खासमा अमेरिकामा कसैको जीवन सहज छैन । मेरी छोरीको हकमा भन्ने हो भने १५ वर्ष अघिसम्म ऊ नेपाल फर्कने सम्भावना थियो । तर, अब त्यो सम्भावना पनि टर्दै गयो । किनभने उनीहरूका पनि सन्तान भए । केटाकेटीहरू उतै शिक्षादीक्षा पाइरहेका छन् । जसको परिवार नै त्यता बसोबास गरिरहेको छ, उनीहरूको नेपाल फर्कने सम्भावना न्यून छ ।
युवाहरू चुनौती मोल्नुको सट्टा सजिलो बाटो अख्तियार गरिरहेका छन् । युवा भनेको सपना पछ्याउने जमात हो । नयाँ तुफान र नयाँ सोचमा हेलिने जमात हो । थोरै गुलियो, थोरै सुविधा, थोरै सुखभोग्ने लालसामा भुलेर हुँदैन । चुनौती मोल्न सक्नु पर्यो ।
तर, यसरी राम्रो अवस्था हुनेगरी बिदेसिएका नेपालीको संख्या न्यून छ । उनीहरूले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानिएको होइन । नेपालमा रेमिट्यान्स पठाउने त विशुद्ध रोजगारीका लागि खाडी, मलेशिया, दुबई, कोरिया गएकाहरू हुन् । उनीहरू देशमा विकल्पहीनताको अवस्थाले बिदेसिन बाध्य भए । सवाल बिदेसिनेको होइन, सवाल त हाम्रो समाज र राजनीतिको हो । हामीले बसाल्न खोजेको व्यवस्था र पद्धतिको हो । युवाहरू बिदेसिए, शासकहरूलाई हाइसञ्चो भयो । तर, भोलिका दिनहरू शासक र शासित दुवैका लागि त्यति हाइसञ्चो होला जस्तो छैन ।
दुःखको कुरा हो, त्यो ‘भोलि’ आए पनि यस्तै हुँदो रहेछ । भोलि भन्नुको अर्थ ठ्याक्कै यति नै वर्षपछि भन्न नसकिए पनि जनताले विकल्प खोज्ने छन् भन्नेमा म ढुक्क छु । हिजोका दिनमा व्यक्ति होइन, सिङ्गो राज्य नै सामन्ती, शोषणकारी र विभेदलाई टेवा पुर्याउने खालको थियो । जनताले त्यसको विकल्प खोजे । किनभने यो लादिएको व्यवस्था उल्टिनेछ, जनताको जीवनमा खुसहाली आउने छ र मुलुक ठिक बाटोमा हिँड्नेछ भन्ने सपना थियो । मुलुकमा केही नभएको होइन । सानातिना उपलब्धि भएको छ । मुलुक सामाजिक, आर्थिक विकासको बाटोमा हिँड्न खोज्दैछ ।
मेरो भोलि त सक्किनै आँट्यो । मेरो के भोलि हुन्थ्यो ? तर, तपाईंहरूजस्ता युवाका लागि भोलि यस्तो हुनु हुँदैन भन्न खोजेको । त्यसैले युवाहरूले राजनीतिबारे नयाँ चिन्तन गर्नैपर्छ । मुलुक यसरी धेरै वर्षसम्म चल्न सक्दैन । आफ्नै मुलुकमा आन्तरिक क्षमताको विकास गर्ने, उत्पादन र उत्पादकत्व बढाउने, आत्मनिर्भर हुन प्रयत्न गर्नेतर्फ युवाहरू लम्कनै पर्छ ।
युवाहरूले, देशैभरका नागरिकले राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका हुन्थे भने उनीहरूलाई यति हाइसञ्चो हुने थिएन । अहिले त अवस्था कतिसम्म भयो भने व्यवस्थाका सञ्चालकहरू र शक्तिको दुरुपयोग गर्नेहरूलाई आनन्द छ । उनीहरू निस्फिक्री ढङ्गले आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छन् । युवाहरूले यसबारे सोच्नु पर्दैन ?
इमानसाथ भन्दा यो एक प्रकारले आफू पन्छिने बाटो पनि हो (हाँसोसहित) । आफूले गर्ने उमेर गइगयो, अब कसले गर्छ भन्दा युवाले गर्नेछन् भन्न सजिलो भयो । तर, कुनै पनि समाजलाई एउटा कालखण्डबाट आर्को कालखण्डमा लैजाने परिवर्तनको संवाहक युवा नै हुन् । युवावय भनेको चुनौती मोल्न सक्ने, नयाँ चिन्तन, प्रणाली, पद्धतिबारे छलफल गर्न सक्ने उमेर हो । त्यस्तो युवा कहिलेकाहीँ उमेरले ५०–५५ वर्षको पनि हुन सक्छ । कहिले २०/२५ वर्षको पनि हुन सक्छ । मैले युवा भन्दै गर्दा तपाईंको मष्तिष्कमा पुरुषमात्रै भन्ने नखेलोस् । मेरो युवाको परिभाषा व्यापक छ ।
पाठ्य पुस्तकहरूमा जे सुकै लेखिए पनि मेरा लागि उदारवाद भन्ने बित्तिकै न्यायोचित वितरण हुनै पर्यो । न्यायोचित वितरण प्रणाली नअपनाइकन उदार भइन्छ ? तर, यहाँको उदारवादले न्यायोचित वितरणलाई निषेध गरिदियो ।
आजका दिनसम्म अधिकार, अवसर र मौका नपाएका महिला, दलित, जनजाती सबै मेरो परिभाषामा अटाउँछन् । एक लाइनमा भन्दा नेतृत्वको नयाँ पुस्ताको कुरा गर्न खोजेको । राज्यमा जसको सहभागिता छैन, उनीहरूले नयाँ सोच लिएर आउँछन् भन्न खोजेको हो । खासमा भन्ने हो भने त्यो पुस्ता बाहेक आशा गर्ने ठाउँ अन्यत्र कहीँ पनि छैन । तर, म नेपालका युवाहरू देखेर पनि निराश छु । उनीहरूको नशामा रगत नै छ भने त विद्रोह गर्नुपर्ने होइन र ? खोइ, केही गर्दैनन् ।
उनीहरू पनि चुनौती मोल्नुको सट्टा सजिलो बाटो अख्तियार गरिरहेका छन् । युवा भनेको सपना पछ्याउने जमात हो । नयाँ तुफान र नयाँ सोचमा हेलिने जमात हो । सामाजिक सञ्जालमा प्रचण्ड, देउवा र ओलीलाई गाली गरेर युवाको जिम्मेवारी पूरा हुँदैन । वर्तमान नेतृत्वले महान् गल्ती गर्यो भने पनि युवाहरूले देखाएको बाटो के हो त ? थोरै गुलियो, थोरै सुविधा, थोरै सुखभोग्ने लालसामा भुलेर हुँदैन । चुनौती मोल्न सक्नु पर्यो ।
०४६ सालको आन्दोलनपछिका शासक र अहिलेका शासकमा तात्विक भिन्नता छ । तपाईंले जुन नेता र उनका छोरी, बुहारी, ज्वाइँ, ससुराबारे भन्नुभयो, उनीहरू राजनीतिक विरासतबाटै आएका हुन् । अब उनीहरूको ‘प्रिभिलेज’ पनि सिद्धिने चरणमा छ भन्दा फरक नपर्ला । बाबुको नाममा भोट मागेरमात्र त हुँदैन होला । उनले पनि जनताको मन जित्न केही न केही त गर्नुपर्ला ! तपाईंले दिएको उदाहरण त्यही परिवारको हकमा मात्रै हो, अन्य परिवारको पनि होइन । क्रान्तिबाट आएको नेतृत्वमा विकास भएको यो स्तरको वैचारिकी त अच्चम्म नै भयो ।
मलाई के लाग्छ भने उनीहरूले राजनीति गरेका पनि होइनन्, जागिर खाएका हुन् । राष्ट्रिय सभाको अध्यक्ष हुन देखाएको लालसालाई तपाईं कसरी राजनीतिक विरासतबाट पाएको भन्नुहुन्छ ? होइन नि ! यो त राज्यको दुरुपयोग गरेर आफ्नालाई त्यहाँ पोसेको हो । कहिले कसो म पनि यस्तो किन भयो होला भनेर सोच्ने गर्छु । उनीहरू त लत्तो छाडेरै राज्यसत्ताको दोहनमा लागेका छन् । जुन, राजनीतिक विचारधारा, आदर्श र सिद्धान्तबाट उनीहरू हुर्किएर आए, यो त त्यसकै विरुद्ध छ ।
मुखले समाजवाद भने पनि राजनीतिक आदर्शको सही बाटो पहिल्याउन सकेनन् उनीहरूले । उनीहरूमा कम्तीमा उदार लोकतान्त्रिक चरित्र त हुनु पर्यो नि ! उनीहरू एकैचोटी त्यहाँ पुगेका हुन् पनि भन्दिनँ म । बिस्तारै व्यक्तिवादी भासमा पर्दै गए । म पञ्चायती सोचमा हुर्किएको मान्छे त यो चिन्तनधारामा आइपुगेँ भने उनीहरू त्यस्तो विचारधाराबाट आएकाले हामी किन बिग्रियौँ भनेर सोच्नु पर्दैन ? सही र गलतबारे सोच्नु पर्दैन ? थोरै भए पनि लोकको लाज मान्नु पर्दैन ?
कांग्रेस, एमाले, माओवादी कसैबिच भिन्नता छैन । उनीहरूबिच वैचारिक भिन्नता पनि देखिँदैन । आजीवन कांग्रेसको विचारधारामा हुर्किएको व्यक्तिले कम्युनिस्टका लागि र कम्युनिस्टले कांग्रेसका लागि भोट माग्नु परेको छ । यो पटक्कै राम्रो होइन ।
राजनीति भनेको जागिर खान जाने होइन । यहाँँ त मन्त्री पनि जागिरेजस्ता भए । राज्यको साधन स्रोतमा रमाइलो गर्न गएजस्तो गर्छन् । जागिरमै हुने मानिसले त आफूलाई साबित गर्न अनेक यत्न गरिरहेका हुन्छन् भने राजनीतिज्ञले त्यति पनि नगरेर हुन्छ ? त्यसैले राजनीतिज्ञ त जागिरेभन्दा पनि माथि हुनु पर्यो । राजनीतिज्ञले राज्यसत्तामा पुगेर मुलुकलाई अघि बढाउन, सामाजिक, राजनीतिक अवस्थितिमा परिवर्तन ल्याउन प्रयत्न गर्ने हो । गर्न सक्ने/नसक्ने आफ्नो ठाउँमा छ तर यत्न त गर्नु पर्यो । यस्ता नेतृत्वले देशको बागडोर आफ्नो हातमा लिनु नै हाम्रा लागि विडम्बना हो ।
म यसमा अलि फरक सोच राख्छु । यो एकतर्फी नभइ दुईतर्फी हुन्छ होला । ‘समाज अनुसार नेता हुन्छ’ भन्छौँ तर नेता अनुसार समाज पनि हुन्छ नि ! नेतृत्वको काम के हो ? अगुवाइ गर्ने । ऊ समाजका अन्य मानिससरी अरुको पछि–पछि लाग्ने हो र ? उसले त समाजको नेतृत्व गर्ने हो । समाजलाई ‘लिड’ गर्ने भएरै ‘लिडर’ भनिएको हो । त्यो लिडरले जनताको इच्छा, आकाङ्क्षा, आवश्यकतालाई बोध गरेर त्यसलाई सम्बोधन गर्ने त छँदैछ । त्यसबाहेक जनताको सामूहिक शक्तिलाई परिचालन गरेर आफूले परिकल्पना गरेको समाज, राज्य बनाउन लाग्ने हो ।
त्यसैले कुनै पनि क्षेत्रको नेतृत्वले समाज नै यस्तै छ भनेर पन्छन मिल्दैन । समाज पुरातन सोचमा हुन सक्छ । त्यसैलाई बदल्नु पर्ने भएर त उसको आवश्यकता परेको हो । नभए उसको आवश्यकता किन पर्यो समाजलाई ? जसले समाज अनुसार नेता हुन्छ भन्छन्, उनीहरू ‘लेजी एनालिस्ट’ हुन । त्यति भनेपछि अरु केही सोच्नै परेन ।
अरु त अरु सोचका हिसाबले नेपालको निजामती प्रशासनसमेत निकै ओरालो लागिसकेछ । मैले यहाँसम्म झर्ला भन्ने सोचेको थिइनँ । राज्यका सचिवहरू नै यो तहको भ्रष्टाचारमा सहभागी हुनु धेरै गम्भीर विषय हो । भ्रष्टाचारमा उनीहरूको संलग्नता देख्दा म बुढोलाई समेत पीडा हुन्छ । कुनै कर्मचारीले एकाबिहानै– ‘आज सक्दो धेरै पैसा खान्छु’ भनी कार्यालय जाँदैन होला । उसलाई पनि विविध क्रिया–अन्तर्क्रियाले प्रभाव पारिरहेको होला । नेताले यसो गर्नुस् भन्यो भने कुनै पनि सचिवमा बादविवाद गर्न सक्ने क्षमता छैन । अथवा भन्नुस्, साहस र नियत छैन । उनीहरू ‘हुन्छ–हुन्छ’ मात्रै भन्न जान्दछन् ।
घुस खाए, भ्रष्टाचार काण्डमा मुछिए भन्ने भन्दा पनि डरलाग्दो कुरा के हो भने आफूलाई स्थायी सत्ता हुँ भन्ने शक्तिले मुलुक जोगाउने, देशको अग्रगामी सोचलाई बढावा दिने, थिति बसाउने हामीले नै हो भन्ने सोच राख्न छाडिसके । त्यति न्यूनतम सोच त राख्नु पर्यो । आजका दिन सचिवहरूले गर्ने ‘हजुर–हजुर’ त पञ्चायतको पालमै हुन्थ्यो । हामी पञ्चायतमा राजाका अघिल्तिर ‘हजुर सरकार, ‘हजुर सरकार’ मात्रै भन्थ्यौँ । त्यतिबेला कुनै वाद–विवाद–प्रतिवाद हुँदैनथ्यो । तर, यो त लोकतान्त्रिक व्यवस्था हो । कम्तीमा यो काम कानुनी दृष्टिबाट गर्न मिल्दैन, जनहितका आधारमा गर्न मिल्दैन, लोककल्याणका दृष्टिले गर्न मिल्दैन, मुलुकको भविष्यका हिसाबले गर्न मिल्दैन..., केही त भन्नु पर्यो !
त्यसो त देशकै बागडोर सम्हालेका प्रधानमन्त्री जागिरे बनिरहेको अवस्थामा झन् जागिरेबाटै के अपेक्षा गर्न सकिन्थ्यो र ! तर, मैले भन्न खोजेको के भने देशको यो अवस्था हुनुमा नेपालको कर्मचारीतन्त्र पनि जिम्मेवार छ । उनीहरूमा निष्ठाको कमी देख्छु म । यति भन्दा–भन्दै पनि मूल विषय राजनीति नै हो । त्यो राजनीतिमा जनतासँगको सम्बन्ध, उनीहरूको भलो हुने नीति र राजनीतिक संस्कार त हुनै पर्यो । त्यो राजनीति लोकतान्त्रिक मूल्यमा अडिएको, नागरिक अधिकार, स्वतन्त्रतासहितको जनकल्याणलाई परिष्कार गर्ने खालको हुनै पर्यो । त्यो नभएको देख्दा कतै अहिलेको राजनीति गलत बाटोमा पो छ कि ?
रोक्ने कसरी भनी मलाई नसोध्नुस् । हामीले यसका विविध आयामबारे बुझ्ने प्रयत्न गर्ने हो । यो अघिकै कुरासँग जोडिन्छ । देशका मूल राजनीतिज्ञ जागिर खाने सोचमा छन् । जागिरे कर्मचारीतन्त्रमा राजनीति अत्यासलाग्दो गरी हावी छ । यो दुवैको गठजोडले भ्रष्टाचारलाई बल पुगिरहेको छ । यति भन्दै गर्दा कर्मचारीको ठाउँमा उभिएर पनि हेरौँ न एकपटक । गृह र अर्थजस्तो मन्त्रालयबाट तीन महिनामा सरुवा गरिदिएको छ । निर्णायक नभए पनि ऊ त त्यहाँको खास नीति निर्माता हो । उसले त एक ठाउँमा बसेर पाँच वर्ष काम गर्न पाउनु पर्यो नि !
तर, उसलाई काम गर्ने वातावरण दिनुको सट्टा मनलाग्दी ढङ्गले सरुवामात्र गरिँदा उसमा– ‘ह्या यस्तै हो’ भन्ने भाव पलाइरहेको छ । अनि उसले भन्छ– देश बन्ने होइन, आफूचाहिँ बन्नु पर्छ ।
असाध्यै राम्रो मनसाय छ भने पनि सत्ताको बागडोर सम्हाले लगत्तै व्यापारीको कर मिनाह गर्नु पर्दैन । कर छली गर्ने व्यापारीबाट जग्गा लिनु पर्दैन । व्यक्तिमा निहित विचारधारा, राजनीतिक आदर्श र इमानले यति कुरा सिकाइरहेकै हुन्छ तर तपाईंले त्यसैलाई मेट्दै जानु भयो ।
यसका साथै प्रत्येक व्यक्तिमा शक्तिप्रतिको आशक्ति र लोभ हुन्छ नै । सही नेतृत्वले त्यसलाई मौलाउन दिँदैन तर नेतृत्व नै स्पष्ट सोचको नभएपछि त्यसले झाङ्गिने अवसर पाउँछ । राज्य सत्ताको दोहन गरेर रमाइलो गर्न पाए हुन्थ्यो भनेर ऊ सबैको चाकडीमा व्यस्त हुन्छ । आखिर उसको सरुवा, बढुवा गरेर अनुचित लाभ लिन चाहने पनि त राजनीतिज्ञहरू नै हुन् ।
कसै न कसैले त यसलाई रोक्नै पर्छ । कम्तीमा तपाईं मेरो मित्रका नाताले डा. सा’ब– यो तपाईंको चरित्र सुहाउँदो, छवि सुहाउँदो, तपाईंको व्यक्तित्व सुहाउँदो भएन भनेर मलाई सच्याउन त पर्छ । तर, यहाँ त कसैले कसैलाई सच्याउनै चाहँदैनन् । फलानो मान्छेलाई किन चिढ्याउने ? भोलि काम लाग्न सक्छ भन्नेतर्फ गयो नेपाली समाज । पहिले त गलत काम गर्दा– यसले बाउ–बाजेको इज्जत फाल्यो भन्ने हुन्थ्यो । व्यक्तिलाई गलत गर्नबाट यो उक्तिले पनि रोकेको थियो । तर, अहिले त समाजलाई, व्यक्तिलाई त्यसले पनि छुँदैन । भन्नुको अर्थ परिवारभित्रको ‘चेक’ गर्ने पद्धत्ति पनि ह्रास हुँदै गयो किनभने पदीय सुविधाको उपयोग/दुरुपयोग गर्ने नै सिङ्गो परिवार हो ।
मूल्य प्रणालीमा परिवर्तन हुन्छ तर आधारभूत मूल्य फेरिँदैनन् । म मानिस हुँ, मैले हत्या गर्न मिल्दैन । मानवीय मूल्यका आधारमा हामीले पारस्परिक हितका लागि काम गर्नुपर्छ भन्ने हुनुपर्यो । तर, यहाँ त परिवारकै परिभाषा फेरियो । बा–आमाबिचको, बा–आमा–छोराछोरी बिचको परिभाषा फेरियो । त्यसका आधारमा पछिल्लो परिवर्तनलाई समेत स्वाभाविक मान्नुपर्ने भयो ।
मेरो चिन्ता के हो भने कतै हामीले आधारभूत मानवीय मूल्यलाई नै निषेध गर्न थाल्यौँ कि ? मानिसको चेतन हुन्छ । विवेक हुन्छ । उसले तय गरेका इमान/बेइमानबारेका मानक हुन्छन् । ठिक/बेठिक छुट्ट्याउने केही आधार हुन्छन् । त्यसको सीमा मिच्न मिल्दैन । किनभने त्यो मिच्न थालेपछि हाम्रो मानवीय चिन्तनको आधारभूत जग नै खल्बलिन थाल्छ ।
वितरणलाई सबैमा न्यायोचित बनाउनु पर्छ । भएको प्रणालीलाई सबैको भलो हुने प्रणालीमा थप परिस्कृत गर्नुपर्छ भनी हाम्रो राज्य तहमै सोच, चिन्तन भएको मैले पाउँदिनँ । गाउँको बसाइ सराइ त के हो भने गाउँमा उसको कृषि उपजले भाउ पाउने अवस्थै रहेन । शिक्षा, स्वास्थ्य, रोजगारका लागि पनि ऊ सहर केन्द्रित हुनुपर्ने भयो ।
त्यसका लागि उसले बसाइ सराइ गरेकोमा त्यसलाई कसरी अनुचित भन्ने ? तर, यहाँ ठुलो संख्या विदेश जानेको भयो । विदेशबाट पठाएको पैसा परिवारले खर्च गर्ने भयो । तर, यसबारे चिन्तन, मनन गर्ने राजनीतिले यसलाई गम्भीरतापूर्वक लिनुको सट्टा सेफ्टी भल्वका रूपमा लिइदियो ।
आजका दिन तपाईं साम्यवाद भन्नुस वा पुँजीवाद, जसले दिए पनि नेपालीलाई विशुद्ध डेलिभरी चाहिएको छ । जनतालाई डेलिभरी दिनका लागि इमानदार भइदिए पुग्छ । पञ्चायतदेखि गणतन्त्रसम्म अनेक उतार–चढावबिच तपाईंले डेलिभरी दिन नसक्दा मानिस बिदेशिन बाध्य भएका हुन् । वैश्विक रूपमा आइरहेका कयौँ विचारधारामध्ये सन् ९० को दशकमा उदारवादी चिन्तनधाराले हाम्रो समाजमा पनि प्रवेश पायो । तर, हाम्रो संस्कृति अर्थात् हाम्रो सामाजिक सांस्कृतिक व्यवहार, बनोट, व्यक्ति–व्यक्तिबिचको सम्बन्ध इत्यादि सबै सामन्ती थिए । हामीले त्यसमा आधुनिकताको मसला हालेर उतैको जस्तो बनाउन खोज्यौँ । तर, त्यसरी नहुँदो रहेछ ।
तपाईंले उदारवादी व्यवस्था अँगालेको हो भने आधारभूत रूपमै उदार हुनु पर्यो नि ! कांग्रेसलाई मन परोस् कि नपरोस्। उदार हुँ भनेपछि उदार हुनु पर्यो । पाठ्यपुस्तकहरूमा जे सुकै लेखिए पनि मेरा लागि उदारवाद भन्ने बित्तिकै न्यायोचित वितरण हुनै पर्यो । न्यायोचित वितरण प्रणाली नअपनाइकन उदार भइन्छ ? तर, यहाँको उदारवादले न्यायोचित वितरणलाई निषेध गरिदियो र उत्पादन–उत्पादन मात्रै भन्यो । म आफू मार्क्सवादी होइन । तर, मार्क्सवादी चिन्तनलाई मन पराउँछु । मार्क्सको विश्लेषण पद्धति मन पराउँछु । उनले भन्ने गरेको वितरण हुनुपर्छ भन्ने मान्यता राख्छु ।
तपाईं आफूलाई मार्क्सवादी भन्नुस् वा उदारवादी ! सरकारमा गएको बेला तपाईंले आर्थिक–सामाजिक रूपमा पछि परेका, उपेक्षित क्षेत्र, लिङ्ग र वर्गका मानिसलाई सम्बोधन गर्नु भएन भने तपाईं म यो हुँ भन्नुको के अर्थ ? मानिस आफ्नो परिवार पाल्नकै लागि भए पनि मुग्लान जान बाध्य हुन्छ । झन् अहिले त कस्तो भयो भने कांग्रेस, एमाले, माओवादी कसैबिच भिन्नता छैन । उनीहरूबिच वैचारिक भिन्नता पनि देखिँदैन, सत्तापक्ष र प्रतिपक्षबिचको भिन्नता पनि देखिँदैन । आजीवन कांग्रेसको राजनीतिक विचारधारामा हुर्किएको व्यक्तिले कम्युनिस्टका लागि भोट माग्नु परेको छ र आजीवन मार्क्सवादी चिन्तन पद्धतिमा हुर्किएको व्यक्तिले कांग्रेसका लागि भोट माग्नु परेको छ । यसलाई तपाईंले कसरी राम्रो राजनीतिक अभ्यास भन्न सक्नु हुन्छ ? यो पटक्कै राम्रो होइन ।
तपाईंको सामान्य जीवन चलाउन होस् वा राज्य सञ्चालन गर्न विचारधाराको के महत्त्व हुन्छ भन्नेबारे कसैलाई मतलब नै छैन । असाध्यै राम्रो मनसाय छ भने पनि तपाईंले सत्ताको बागडोर सम्हाले लगत्तै व्यापारीको कर मिनाहा गर्नु पर्दैन । तपाईंले कर छली गर्ने व्यापारीबाट जग्गा लिनु पर्दैन । व्यक्तिमा निहित विचारधारा, राजनीतिक आदर्श र इमानले यति कुरा सिकाइरहेकै हुन्छ । तर, तपाईंले त्यसैलाई मेट्दै जानु भयो । यी र यस्ता विषयमा चिन्तन/मनन गर्नुपर्ने थियो । तर, त्यही हुन सकेन ।
प्रतिक्रिया