शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२

नेपाल आज स्कटल्यान्डसँग भिड्दै : ब्याटिङमा अघिल्लो खेलकै निरन्तरता, बलिङमा सुधारको आशा

मङ्गलबार, १३ कात्तिक २०८१, १४ : ००
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार राति आफ्नो दोस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ ।

नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । जारी शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

nepal cricket team

त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ८६ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाएर दुई सय ९१ रन बनाउँदै जित हासिल गरेको थियो ।

त्यो खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन उत्कृष्ट थियो । त्यसअघिका एकदिवसीय खेलमा निराशाजनक प्रदर्शन गर्दै आएका नेपाली ब्याट्सम्यानले अमेरिकाविरुद्ध सानदार प्रदर्शन गरेका थिए । तीनजना नेपाली ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाएका थिए ।

rohit poudel

कप्तान रोहित पौडेल केवल चार रनका कारण दोस्रो एकदिवसीय शतक पुरा गर्नबाट चुकेका थिए । उनले केवल ७५ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ९६ रन बनाएका थिए । रोहितको यो ११औँ अर्धशतक थियो ।

ओपनर ब्याट्सम्यान अनिल साह र आसिफ शेखले पनि अर्धशतकीय पाली खेलेका थिए । अनिलले ५६ रन बनाएका थिए । उनले ६२ बलमा पाँच चौका पनि हिर्काए । एकदिवसीय क्रिकेटमा अनिलको यो तेस्रो अर्धशतक हो ।

asif anil

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि ५२ रन बनाएका थिए । उनले ५३ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । २३ वर्षीय आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १३औँ अर्धशतक हो ।

अनिल र आसिफ शेखले ओपनिङ विकेटका लागि ९८ रनको साझेदारी पनि गरेका थिए । आरिफ शेखले पनि टोलीको खातामा ३७ रनको योगदान गरेका थिए । तर, त्यो खेलमा नेपालको बलिङ भने निराशाजनक देखियो ।

यसअघि परम्परागत रुपमै नेपालको ब्याटिङमा समस्या देखिन्थ्यो भने बलिङ उत्कृष्ट थियो । तर, अमेरिकाविरुद्धको खेलमा नेपालको बलिङ चल्न सकेन । कुशल भुर्तेलले चार, सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए ।

sandeep lamichhane

खासगरी, नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने त्यो खेलमा चल्न सकेनन् । उनले नौ ओभरमा ६३ रन खर्चिएका थिए । त्यो खेलमा नेपालको फिल्डिङ पनि गतिलो थिएन । नेपाली फिल्डरले केही गतिला क्याच पनि छाडेका थिए ।

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले हालसम्म गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । अमेरिकामा जारी लिग–२ शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।

यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ ।

nepal cricket team 2

लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अङ्ग होइन । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरूबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ ।

लिग–२ शृङ्खलाको अङ्क तालिकामा नेपालको अवस्था सन्तोषजनक छैन । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । १० खेल खेलेको अमेरिका १४ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

आठ खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित तेस्रो स्थानमा छ । आठ खेल खेलेको स्कटल्यान्ड ११ अङ्कसहित चौथो स्थानमा रहेको छ । १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौँ स्थानमा छ । आठ खेल खेलेको ओमान ६ अङ्कसहित छैटौँ स्थानमा छ ।

kushal bhurtel

यसैगरी, नौ खेल खेलेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ । नेपाली टोली सात खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अङ्कसहित आठौँ स्थानमा छ ।

जारी लिग–२ को दोस्रो संस्करणमा नेपालका लागि यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुवै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।

त्यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । आफ्नो तेस्रो खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको थियो ।

nepal cricket team 3

यसैगरी, आफ्नो अन्तिम खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित गरेको थियो । समग्रमा त्यो शृङ्खला नामिबियाका लागि निकै फलदायी सिद्ध भएको थियो । नामिबियाले आफूले खेलेको चार खेलबाट ६ अङ्क बटुलेको थियो ।

नेपालले आफ्नो दोस्रो शृङ्खला गत सेप्टेम्बरमा क्यानडामा खेलेको थियो । उक्त शृङ्खलामा नेपाल, क्यानडा र ओमान सहभागी थिए । आफ्नो दोस्रो शृङ्खलामा पनि नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रहेको थियो ।

क्यानडामा खेलिएको शृङ्खलाबाट नेपालले एक अङ्कमात्र जोड्न सक्यो । त्यो पनि अन्तिम खेल रद्द भएकाले । त्यो शृङ्खलामा नेपाली टोली आफ्नो पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

cricket fan

आफ्नो दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो । शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाली टोली क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । नेपाल र ओमानबिचको चौथो खेल भने वर्षाका कारण रद्द भएको थियो । दुवै टोलीले एक–एक अङ्क हात पारेका थिए ।

अमेरिका भ्रमणमा खेलिने लिग–२ प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त क्यानले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई पनि टोलीको मेन्टरका रूपमा नियुक्त गरेको छ ।

पुबुदु पनि लिग–२ शृङ्खलाका लागि हाल नेपाली टोलीसँगै अमेरिकामा रहेका छन् । उनी नेपाली टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप