तिहारले गाडीको व्यापार बढायो, विद्युतीय सामग्री र लत्ताकपडामा छैन उत्साह
काठमाडौँ । तिहारको माहौल सुरु भएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । बजारमा माग बढेसँगै खुद्रा तथा थोक व्यवसायीले सामानको ‘सप्लाइ’ बनाएका छन् । थोक व्यवसायीहरूले तिहारका लागि लक्षित सामाग्री यसअघि नै आयात गरिसकेका छन् । अहिले उक्त सामग्री खुद्रा बजारसम्म पुर्याउन व्यवसायीहरू व्यस्त छन् । तिहारको समयमा सुनचाँदी, लत्ताकपडा, फलफूलदेखि गाडी र विद्युतीय सामग्रीको माग उच्च हुने व्यवसायीहरू बताउँछन् ।
नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखे तिहारमा महिलाहरूले प्रयोग गर्ने कुर्ता सुरुवाल, साडी, लेहेंगाको माग बढ्ने बताउँछन् । त्यस्तै पुरुषहरूको कुर्ता पाइजमा, दौरा सुरुवाल, ढाकाटोपी लगायत औपचारिक पोसाकको माग बढी हुने उनको भनाइ छ । तर अहिले गत वर्षजस्तो बजारमा माग नदेखिएको लाखे बताउँछन् ।
‘अरू सामान बिस्तारै किने पनि लत्ताकपडा पहिल्यै किन्ने वा अर्डर दिने चलन हो । अहिले सामान्य समयभन्दा बजार बढे पनि गत तिहारको जति व्यापार भएको छैन,’ उनी भन्छन्, ‘दसैँ र तिहारको समयमा मात्रै वर्षभर हुने कुल व्यापारको करिब ४० प्रतिशत हुन्थ्यो । यो वर्ष दसैँमा पनि खासै भएन तिहारमा पनि नहुने देखिएको छ ।’ बढेर आएको मूल्य, युवाको पलायन, चोरी पैठारी भएर आउने बढ्दो प्रवृत्ति लगायतले माग नबढेको हुन सक्ने उनको बुझाइ छ ।
लत्ताकपडा जस्तै यो वर्षको तिहारले विद्युतीय व्यवसायीमा पनि उत्साह थपेको छैन । त्यसो त सामान्य दिनभन्दा विद्युतीय सामग्रीको माग तिहारमा उच्च हुन्छ नै । यस्ता सामग्रीको प्रयोगले घरलाई झिलिमिली बनाउने चलन नै बसिसकेको छ । तिहारमा झिलिमिली बत्तीको प्रयोग अनिवार्यजस्तो हुने गरेको छ ।
विगतका तिहारमा करिब ६० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको व्यापार हुने गरेको थियो । तर यो वर्ष यसको आधा मात्रै व्यापार हुने अनुमान गरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारमा माग नै नरहेको बताए । उनले भने, ‘पहिलो कुरा बजारको माग नै कम छ । मुख्यतया: चीनबाट आउने यस्ता सामग्री यो वर्ष तातोपानी र केरुङ नाकाबाट आउन सकेका छैनन् । यसले पनि व्यवसाय खुम्च्याएको छ ।’ माग नै नभएका कारण पनि व्यवसायीहरू धेरै सामान आयात नगरेको उनको भनाइ छ ।
बजारमा माग घटेको व्यवसायीको भनाइलाई भन्सार विभागको तथ्याङ्कले पनि पुष्टि गर्छ । विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा आयात निर्यात दुवै घटेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा यो आव २०८१/८२ मा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको विभागको तथ्याङ्क छ । यसले नेपालको समग्र वैदेशिक व्यापारलाई ४.३५ प्रतिशतले घटाएको छ ।
लत्ताकपडा, विद्युतीय सामग्री लगायतका व्यवसायी तिहारको बजारले उत्साही नभए पनि गाडी तथा खाद्यान्नका व्यवसायी भने सन्तुष्ट देखिएका छन् । पछिल्ला केही वर्षदेखि तिहारको समयमा गाडी, मोटरसाइकल, टिभी, फ्रिज, मोबाइल लगायत सामग्रीको समेत व्यापार बढेको पाइन्छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा विद्युतीय गाडीको आयात ३२ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा ७ हजार २८८ विद्युतीय कार, भ्यान आयात भएकोमा यो वर्ष १० हजार ८०१ भित्रिएका छन् । मोटरसाइकलको बजार भने लगभग कोभिड अघिको अवस्थामा पुग्न थालेको नाडा अटोमोबाइल एसोसियसन अफ नेपालको भनाइ छ ।
व्यवसायीहरू पछिल्ला ८/१० वर्षमा तिहारजस्ता ठुला चाडबाडको किनमेल र बजार धेरै फेरिएको बताउँछन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार तिहारमा निजी गाडी र मोटरसाइकलको माग पनि उत्तिकै हुन्छ । यसमा झन् तिहारको धनतेरस र लक्ष्मीपूजाकोको दिन गाडी, मोटरसाइकल घर भित्र्याउनेहरू धेरै हुने उनी बताउँछन् । ‘सम्पत्तिको रूपमा मानिने हुँदा तिहारको समयमा गाडी, मोटरसाइकल खरिद गर्नेहरू उत्तिकै हुनुहुन्छ,’ उनले भने, ‘यही कारण आइतबार भैरहवा भन्सारबाट मात्रै एक हजार बाइक र एक सयभन्दा बढी गाडी ल्याइएको छ ।’
तिहारको समयमा खाद्यान्नको माग पनि बढ्छ । विभिन्न प्रकारका रोटी, मिठाइ लगायत सामग्री तिहारमा प्रयोग हुने भएकाले चिनी, मैदा, तेल लगायत वस्तुको माग यो समयमा उच्च हुन्छ । यो वर्ष खाद्यान्नको मूल्य बढेको छ । बाढी पहिरोलगायत कारण आपूर्तिमा समस्या आउँदा दसैँ अगाडि बढेको खाद्यान्नको मूल्य तिहारसम्म घटेको छैन । पछिल्लो एक महिनामा सबैभन्दा धेरै तेलको मूल्य बढेको छ ।
खुद्रा व्यापार संघका अनुसार भदौ महिनामा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँ थियो, अहिले ३८० पुगेको छ । काँचो तोरीको तेलको मूल्य ३१० रुपैयाँबाट बढेर ३१५ रुपैयाँ पुगेको छ । भटमासको तेल २१० रुपैयाँबाट एक महिनामै २३० रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिलिटर २१० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले २३० मा बिक्री भइरहेको छ । यसका साथै चामल, दाल लगायत वस्तुको मूल्य पनि बढेको छ ।
नेपाल चामल, दाल, तेल उत्पादक संघका उपाध्यक्ष राम थापा विश्व बजारको प्रभावले नेपालमा हरेक वस्तुको मूल्य बढेको बताउँछन् । उनी भन्छन्, ‘खाद्यान्न मात्रै होइन, अहिले हरेक चिजको मूल्य आकासिएको छ । मूल्य बढे पनि माग घटेको छैन । मूल्यमा अन्तर्राष्ट्रिय बजार, डलर तथा तेलको मूल्यले भूमिका खेलेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने