नेकपा बनेपछि मोहनविक्रम सिंहले गरे खतरा टरेको ठोकुवा

काठमाडौं–मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सकारात्मक भन्दै स्वागत गरेको छ । महामन्त्री सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कदमको स्वागत गरेका हुन् । महामन्त्री सिंहले चुनावको बेलामा भएको गठबन्धनलाई आफुहरुले पार्टी एकताको पक्षमा मत प्रकट गर्दै त्यसको सफलताका लागि शुभकामना दिंदै आएको र अहिले भएको एकताले खुसी लागेको जनाएका छन् ।
यद्यपि,उनले एमाले र माओवादी केन्द्र बीचको एकतालाई स्वागत गरेपनि उनीहरूसित सैद्धान्तिक मतभेद भएको स्पष्ट पारेका छन् । महामन्त्री सिंहले यो एकतालाई राजनीतिक कारणले समर्थन गरेको समेत प्रष्ट पारेका छन् ।
सिंहले भनेका छन्– ‘माक्र्सवादका आधारभूत सिद्धान्तहरूबाट उनीहरूको विचलन भएको वा उनीहरूले दक्षिणपन्थी बाटो समातेको पृष्ठभूमिमा उनीहरूको बीचमा भएको पार्टी एकताबाट देशमा सच्चा र एकीकृत कम्युनिष्ट पार्टीको निर्माण हुन नसक्ने कुरा निश्चित छ । उनीहरूका बीचको एकताले उनीहरूको सङ्गठनलाई ठूलो र शक्तिशाली बनाइदिएको छ । तर त्यो कारणले नै त्यो सङ्गठन कम्युनिष्ट पार्टी भएको निष्कर्ष निकाल्नु सही हुने छैन । त्यसैले सैद्धान्तिक आधारमा उनीहरूसँग हाम्रो सङ्घर्ष चलिरहने छ ।’
महामन्त्री सिंहले देशको राष्ट्रियता,सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर प्रकारको खतरा भएको भन्दै त्यो खतरा सबैभन्दा बढी भारतीय विस्तारवादबाट नै भएको ठोकुवा गरेका छन् । ‘साम्राज्यवादी देशहरूको लागि कुनै पनि देशको नाम मात्रको कम्युनिष्ट सरकार पनि सह्य हुँदैन ।
त्यस्तो सरकार संसदीय चुनावबाट निर्वाचित भएको भएपनि त्यसलाई अपदस्थ गर्ने प्रयत्न गर्दछन् । संसारमा त्यस प्रकारका उदाहरणहरूको अभाव छैन । त्यस प्रकारको खतराबाट नेपालको वर्तमान वामपक्षीय सरकार पनि अपवाद छैन ।
ती कुराहरूमाथि उच्च प्रकारको सतर्कता अपनाउँदै अहिलेको सरकारले देशको राष्ट्रियताको रक्षाको लागि पूरा प्रयत्न गर्नेछ भन्ने हामीले आशा गरेका छौ’ सिंहले भनेका छन् ‘एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुन नसकेको भए त्यसको असर सरकारमा पर्ने र त्यो भङ्ग हुने सम्भावना थियो ।
त्यसो भएमा देशमा राजनीतिक अस्थिरता पैदा हुने र प्रतिक्रियावादी शक्तिहरू सत्तामा पुग्ने खतरा थियो । त्यो अवस्थामा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने खतरा थियो । माओवादी केन्द्र र एमालेका बीचमा भएको पार्टी एकताले त्यस प्रकारको खतरा टरेको छ र त्यसबाट सम्भावित दुष्परिणामहरूबाट देश बच्ने आशा गर्नको लागि आधार तयार भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म