बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सूर्यदर्शन र सुप्रिम सहकारीको रकम हिनामिना : पक्राउ पुर्जी जारी भएका १९ जनाबारे के हुँदैछ ?
सहकारी ठगी प्रकरण

सूर्यदर्शन र सुप्रिम सहकारीको रकम हिनामिना : पक्राउ पुर्जी जारी भएका १९ जनाबारे के हुँदैछ ?

मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी हिनामिना प्रकरणमा प्रहरीले १३ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ । कास्की जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यस्तै, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएकामध्ये दुवै सहकारीको रकम हिनामिनामा संलग्न ४ जना रहेको प्रहरीले जनाएको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक विशाल तामाङसहित चार जना सुप्रिम र सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको अनुसन्धान अधिकृतको भनाइ छ ।

दुवै सहकारीका गरी २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना पक्राउ परेका छन् भने बाँकी १९ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईका जेठा दाजु अनन्तबावु राईका अतिरिक्त दीपक लामा, विशाल तामाङ र काठमाडौँ महानगरपालिका–३२ घर भएकी रविना रिमालविरुद्ध कास्की र रुपन्देही दुवै जिल्ला अदालतबाट पक्राउ पुर्जी आएको छ । रिमाल पनि गोर्खा मिडिया नेटवर्ककी सञ्चालिका हुन् ।

suryadarshan sahakari

विशाल तामाङ रुपन्देहीमा कांग्रेसको राजनीति गर्छन् । अब्दुल रज्जाक लुम्बिनी प्रदेशको मन्त्री हुँदा तामाङ स्वकीय सचिव थिए । तामाङ जीबी गुप्र अफ कम्पनिजको सेयर सदस्यसमेत हुन् । सुप्रिमबाट उनले ऋणबापत २५ लाख र पेस्कीबापत ९९ लाख लिएको भेटिएको छ । तामाङले ग्रेजी स्पोन रेस्टुरेन्टमा सहकारीको रकम १५ लाख लगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पक्राउ गरेर थुनामा राखिएको छ । उनीहरू जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । तनहुँको भानु नगरपालिका–८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाल नेचर हर्ब्सका सञ्चालक हुन् । नेचर हर्ब्समा सूर्यदर्शनको ३ करोड रकम गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अदालतबाट पक्राउ अनुमति जारी भएर फरार रहेकाहरूको सूचना सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘रकम हिनामिनामा संलग्नहरूलाई खोज्ने काम भइरहेको छ ।’

सूर्यदर्शनको रकम हिनामिनाको आरोपमा पुर्जी जारी भएपछि फरार हुनेमा विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्त बावु राई, राम बहादुर खनाल, देवेन्द्रबावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीर बहादुर रानाभाट, दीपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

ओमप्रकाश गुरुङ बुटवल–८ का स्थानीय हुन् । सुप्रिम सहकारीको अध्यक्षसमेत रहेका गुरुङविरुद्ध सूर्यदर्शनको रकम हिनामिना गरेको कसुरमा पनि पुर्जी जारी भएको छ । काठमाडौँ महानगरपालिका–३२ घर भएका नविन अछामी गोर्खा मिडियाका सञ्चालक र स्वर्णलक्ष्मी सहकारीको म्यानेजर हुन् ।

असरफ अली सिद्धिकी रुपन्देहीका स्थानीय हुन् । सिद्धिकी गोर्खा मिडिया र सानोपाइला सहकारीको सञ्चालक थिए । ओखलढुंगा घर भएका देवेन्द्र बावु राई भने जीबी राईको माइलो दाइ हुन् । उनी पनि गोर्खा मिडियाका सञ्चालक थिए ।

चितवनको भरतपुर–१३ घर भएका वीरबहादुर रानाभाट सहारा सहकारीका अध्यक्ष हुन् । चितवनस्थित सहारा सहकारीको लेखा अधिकृत दीपा न्यौपाने भरतपुर–१२ की स्थानीय हुन् । दैलेख घर भएकी कल्पना कुमारी श्रेष्ठ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीकी पूर्वअध्यक्ष हुन् ।

  • सुप्रिमका १० जना फरार

सुप्रिम सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी भएका १२ जनामध्ये १० जना फरार छन् । सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न रवि लामिछाने र छविलाल जोशी पक्राउ परेका छन् । उनीहरूलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । जोशीलाई इलाका प्रहरी कार्यालय बुटवलले पोखराबाट झिकाएर बयान लिइसकेको छ ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिव बहादुर गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 पक्राउ पुर्जी जारी भएकी सुरक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यकी पत्नी हुन् । दाङ घर भएकी सुरक्षाले सञ्चालन गरेको नोबडी प्रोडक्सनमा सहकारीबाट २ करोड ३१ लाख रकम गएको अनुसन्धानबाट देखिएको छ ।

सुप्रिमको रकम अपचलनमा संलग्न दीपक लामा जीबी गुप्र अफ कम्पनीको सञ्चालक हुन् । उनको नाममा ‘जीबी गुप्र अफ कम्पनिज’मा सुप्रिम सहकारीको बुटवल कार्यालयबाट १ करोड ७५ लाख र भैरहवा शाखाबाट २५ लाख रुपैयाँ लगेको अनुसन्धानबाट भेटिएको छ ।

जीबी राई नेतृत्वको स्प्रिङ उड रियल स्टेट एन्ड हाउजिङ प्रालिका सेयर सदस्य हुन् अनन्तबाबु राई । सो कम्पनीमा सुप्रिमबाट ९ करोड गएको भेटिएको छ । उनी जीबीका जेठा दाजु हुन् ।

जीबी, रवि लामिछाने र छविलाल जोशीले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीबाट १४ करोड रुपैयाँ लगेको भेटिएको छ । जसमा जोशीका नामबाट २ करोड ५० लाख र लामिछानेको नामबाट २ करोड गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

सुप्रिम सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले पछिल्लो पटक पक्राउ पुर्जी जारी भएका धेरैलाई आफूले नचिन्ने रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ पुर्जी जारी भएका धेरैजसो रुपन्देही जिल्लाभन्दा बाहिरको हुनाले उहाँहरूको भूमिकाबारे मलाई जानकारी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया