दुवै सर्वोत्कृष्ट खेलाडी एउटै राष्ट्रका, म्यान सिटीका खेलाडीलाई इतिहासमै पहिलो अवार्ड
काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच यस वर्षको अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
सन् २०२४ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा यसपटक म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी रोड्रीले पुरुषतर्फको बालोन डी’अर अवार्ड हात पारे । २८ वर्षीय मिडफिल्डर रोड्रीले पहिलो पटक बालोन ड’ओर अवार्ड जितेका हुन् ।
रोड्री बालोन डी’ओर अवार्ड हात पार्ने म्यानचेस्टर सिटीका पहिलो खेलाडी पनि हुन् । रोड्रीले म्यान सिटीलाई कीर्तिमानी रूपमा लगातार चारपटक इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । स्पेनलाई युरोपियन च्याम्पियनसिपको उपाधि चुमाउन पनि उनको योगदान महत्त्वपूर्ण रहेको थियो ।
यसैगरी, महिलातर्फ यसपटक बार्सिलोनाकी प्रभावशाली मिडफिल्डर आइताना बोनमतीले बालोन डी’ओर उपाधि हात पारिन् । उनकै महत्त्वपूर्ण योगदानमा स्पेनले महिला विश्वकप फुटबलको उपाधि पनि चुमेको थियो । अघिल्लो वर्ष पनि महिलातर्फको अवार्ड उनले नै जितेकी थिइन् । यसपटक बालोन डी’ओर उपाधि हात पार्ने दुवै खेलाडी स्पेनकै हुन् ।
यसैगरी, इङ्ल्यान्डका ह्यारी केन र फ्रान्सका केलियन एमबाप्पेले संयुक्त रूपमा गेर्ड मुल्लर ट्रफी जिते । युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ । यी दुवै खेलाडीले अघिल्लो सिजन ४४–४४ गोल गरेका थिए । केन जर्मन क्लब बायर्न म्युनिखबाट र एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् ।
यसैगरी, पुरुषतर्फ स्पेनिस क्लब रियल म्याड्रिडका कार्लोस एनसेलोट्टी र महिलातर्फ एमा हायसले वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । ६५ वर्षीय एनसेलोट्टी इटालियन नागरिक हुन् । इङ्ल्यान्डमा जन्मिएकी ४८ वर्षीया एमा हायस भने अमेरिकी राष्ट्रिय टोलीकी प्रशिक्षक हुन् ।
यसैगरी, पुरुषतर्फ रियल म्याड्रिड वर्षको सर्वोत्कृष्ट क्लब घोषित भयो । महिलातर्फ बार्सिलोना सर्वोत्कृष्ट क्लब घोषित भयो । इङ्लिस क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्ने अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले यासिन ट्रफी जिते । यो अवार्ड विश्वको सर्वोत्कृष्ट गोलरक्षकलाई प्रदान गरिन्छ । बार्सिलोनाका लामिन यामलले विश्वकै सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे । उनी स्पेनका खेलाडी हुन् ।
यसपटकको अवार्ड कार्यक्रम एक अर्थमा विगतको भन्दा फरक थियो । यसपटक बालन डी’ओर अवार्ड प्राप्त गर्ने खेलाडीको सूचिमा समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियोना रोनाल्डो परेका थिएनन् ।
सन् २०२३ पछि पहिलो पटक पोर्चुगिज स्टार रोनाल्डो र अर्जेन्टिनी स्टार मेस्सी अवार्डको सूचिमा नपरेका हुन् । हालसम्म मेस्सीले कीर्तिमानी रूपमा आठपटक र रोनाल्डोले पाँच पटक बालन डी’ओर अवार्ड जितिसकेका छन् ।
यसका अतिरिक्त यसअघि यो अवार्ड पाइसकेका दुई प्रभावशाली खेलाडी करिम बेन्जेमा र लुका मोड्रिच पनि यसपटक सूचिमा परेका थिएनन् । त्यसैले पुरुषतर्फ यसपटक नयाँ खेलाडीले बालन डी’ओर अवार्ड प्राप्त गरेका हुन् ।
विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा माथिल्लो एक सय स्थानभित्र रहेका राष्ट्रका खेल पत्रकारहरूले पुरुष अवार्डका लागि मतदान गर्ने प्रावधान रहेको छ । महिलातर्फको अवार्डका लागि भने फिफा महिला वरीयताको माथिल्लो ५० स्थानभित्र रहेका राष्ट्रका महिला खेल पत्रकारहरूले मतदान गर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी
-
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने
-
माछापोखरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
-
कृषि विकास रणनीति परिमार्जन हुँदैछ : कृषिमन्त्री अधिकारी
-
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे स्वदेश फिर्ता
-
परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी रियाल