विजय बराललाई प्रश्न– दर्शकले हिरोको रूपमा पत्याउलान् ?
विजय बराल फिल्म क्षेत्रका स्थापित कलाकार हुन् । थिएटर अनुभवसहित एक दशक अघि ‘कबड्डी’ फिल्मबाट ठुलो पर्दामा डेब्यु गरेका उनले नयाँ नाम पाए– बिके ।
बिके नाम गरेको युवाको चरित्र निर्वाह गरेका उनले फिल्ममा अभिनेता दयाहाङ राईको सहयोगीका रूपमा देखिएका थिए । ‘कबड्डी’को चौथो सिक्वेल ‘कबड्डी ४ः द फाइनल म्याच’सम्म उनी यही भूमिकामै देखिए ।
‘कबड्डी’ सिरिजका अलावा ‘झुम्की’, ‘भर्जिन’, ‘जारी’लगायत करिब डेढ दर्जन फिल्ममा अभिनय गरेका बराल जति फिल्ममा देखिए, सबै फिल्ममा सहयोगीकै भूमिकामा देखिए । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा भने उनी मुख्य भूमिकामा देखिँदैछन् ।
यही कात्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने यो फिल्मले आफूलाई हिरोको रूपमा स्थापित गर्ने बरालको विश्वास छ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र मुख्य भूमिकामा अभिनयको विषयमा बरालसँग रातोपाटीले विभिन्न प्रश्न गरेको छ ।
- ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत पहिलो पटक हिरोको रूपमा देखिँदै हुनुहुन्छ । कत्तिको उत्साहित हुनुहुन्छ ?
– दर्शकको मनमा हिरो भन्ने बित्तिकै जुन छवि बन्छ, म त्यो हिसाबको हिरो होइन । म चरित्रले बनाएको हिरो हो । चरित्र निर्वाहको हिसाबले गरिरहेको कामजस्तै हो । फिल्मको मुख्य भूमिका भनेर प्रचार भइरहँदा आफ्नो अभिनयको कस्तो प्रतिक्रिया आउला भन्ने उत्साह त छ । फिल्म मेरो काँधमा रहेको महसुस पनि भएको छ । व्यावसायिक नतिजा के होला भनेर एक प्रकारको दबाब महसुस भइरहेको छ ।
- सहायकको भूमिकामा रहँदाको भन्दा बेग्लै चर्चा छ नि, होइन र ?
– मुख्य भूमिकामा चर्चा र जिम्मेवारी धेरै मिल्दो रहेछ । पहिलेभन्दा मप्रति सबैको हेर्ने नजरसमेत फरक पाएँ । सहायक भूमिकामा अभिनय गर्दा कुनै पनि किसिमको दबाब महसुस हुँदैन, आफ्नो चरित्रमात्र राम्रो गरे पुग्यो । जोखिम कम हुन्छ । मुख्य चरित्रमा काम गर्दा जोखिम धेरै छ । व्यवसायको जस–अपजस आफैँले लिनुपर्छ ।
- ‘पूर्णबहादुरको सारङ्गी’ कस्तो फिल्म हो ?
– हामीले आमाको कथामा बनेका धेरै फिल्म हेरिसकेका छौँ । यो एउटा बुबाको कथामा बनेको फिल्म हो । त्यस्तो बुबा, जसले पुस्तान्तरण सहित परिवर्तन खोजेको छ । यो पूर्णबहादुर भन्ने चरित्रको सानोदेखि वृद्ध अवस्थासम्मको कथा हो । यो फिल्ममा पूर्णबहादुरको चरित्र निर्वाह गरेको छु ।
सुरुदेखि अन्त्यसम्म आफ्नै चरित्रले फिल्म बोक्दा आफूलाई ऊर्जावान् महसुस गर्न सकिँदो रहेछ ।
- एउटै फिल्ममा युवादेखि वृद्धसम्मको भूमिका निर्वाह गर्नु कति सहज थियो ?
– युवा अवस्थाको भूमिका आफूसँग सम्बन्धित नै भयो । त्यो नाटक गर्दाको चरित्रहरूलाई आधार बनाएर अभिनय गर्दा सजिलो भयो । वृद्ध अवस्थाको भूमिका निर्वाह गर्दा केही बुबा र केही हजुरबुबाबाट चरित्र लिएर अभिनय गरेको छु । एउटै फिल्ममा जीवन धेरै तरिकाबाट अनुभव गर्न पाएँ । उमेर अनुसार जीवनको उद्देश्य फरक–फरक हुने रहेछ भनेर बुझ्न पाएँ । शारीरिक अवस्था अनुसार समाजले हेर्ने भिन्नता पनि बुझेँ ।
- फिल्म गन्धर्व समुदायको कथामा भनिएको छ, त्यो समुदायको कस्तो छ कथा ?
– फिल्ममा गन्धर्व समुदायको पात्र मात्र उठान भएको छ । मुख्य पात्रमा सारङ्गी प्रयोग भएको कारणले कथा त्यसमा बगेको हो । फिल्मले गन्धर्व समुदायभन्दा पनि एउटा पात्र जो, समाजमा तल्लो स्तरमा छ– उसलाई हेर्ने नजर अलि फरक राखिन्छ ।
जसले सपना देख्छ, त्यो सपना आफूबाट पूरा नभएपछि छोरोबाट देख्छ । त्यो कथा छ । यो पुस्तान्तरण सहितको परिवर्तन खोज्ने बाबुको कथा हो । जसले आफ्नो सपना छोरो मार्फत पूरा गर्न खोजिरहेको छ ।
- गन्धर्व बन्दा कस्तो अनुभव भयो ?
– गन्धर्व समुदायको पात्र अभिनयबाट उहाँहरूको फिलिङ मैले फिल्ममा दिन सके कि सकिनँ, त्यो भोलि दर्शकले भन्ने विषय हो । गन्धर्वको वृद्ध अवस्थाको चरित्र अभिनय गर्दा मलाई अरू चरित्रले डोमिनेट गर्दा दुःख लाग्यो, प्रेसर महसुस भयो । मलाई चरित्र निर्वाह गर्दा त यस्तो हुन्छ भने यस्तो भोग्दै आएका समुदायमा कति गाह्रो भयो होला ? सोसाइटीले किन फरक तरिकाले हेरेको होला भन्ने भयो । भोग्नेलाई निकै कठिन छ भन्ने अनुभूति गरेँ ।
- हिरोइनसँग पहिलो पटक रोमान्स गर्नुभयो हैन त ?
– यो फिल्ममा अन्य फिल्मको जस्तो हिरो हिरोइनको रोमान्स छैन । मुख्य पात्रको चरित्र अनुसारको हिरोइनसँग रोमान्स छ । पहिलो पटक आफ्नो पात्रमा हिरोइन हुँदा शरीरमा छुट्टै किसिमको ऊर्जा मिलेको अनुभूति भयो ।
सहायक भूमिकामा फरक–फरक चरित्र निर्वाह गरेको हो । सुरुदेखि अन्त्यसम्म आफ्नै चरित्रले फिल्म बोक्दा आफूलाई ऊर्जावान् महसुस गर्न सकिँदो रहेछ ।
फिल्मले तपाईँहरूलाई निराश बनाउँदैन । एक समय यस्तो पनि थियो भन्ने फिल्मबाट बुझ्न सकिन्छ ।
- दर्शकले हिरोको रूपमा पत्याउलान् त ?
– फिल्मको प्रचारका लागि सार्वजनिक ट्रेलर, गीत मन पराएको हिसाबले विश्वास गरेको महसुस गर्न सकिन्छ । दर्शकले म कलाकार हो, केही न केही गर्छ भन्ने विश्वास त गर्नु भएको छ । कथा र मेरो चरित्रले दर्शक बाँध्न सक्छ कि सक्दैन भन्ने कुरो महत्त्वपूर्ण हो । दर्शकले धेरै चरित्र निर्वाह गर्ने कलाकार हो विजय बराल, यसले फरक भूमिका अहिले निर्वाह गरेको छ । फिल्म हेर्नुपर्छ भन्नु भएको थाहा पाएको छु ।
- आगामी दिनमा अब हिरो नै खेल्नुहुन्छ कि पुग्यो ?
– म हिरो त हुँदै होइन, चरित्रको हिसाबले हिरो बन्न सक्छु भन्ने हो । यो फिल्मले पनि प्रमाणित गर्यो भने आगामी दिनमा प्रस्ताव आएमा अझ बढी ‘कन्फिडेन्ट’ हुन्छु । मैले अभिनयमा यो पटक दिन खोजेको फरक काम फिल्ममा देखिन्छ ।
- अब अभिनय गर्न मन लागेको भूमिका कस्तो हो ?
– यस्तो भन्ने छैन । पहिले सहायक भूमिकामा काम गर्दै गर्दा लिड भूमिका गर्न पाए हुन्थ्यो भन्ने थियो । यो फिल्ममा लिड भूमिका गरिहालेँ । फरक–फरक चरित्र कबड्डी सिक्वेल बाहेकको फिल्ममा गरेकै हो । यसको जस्तो चर्चा अन्यमा मिलेन ।
- ‘पूर्णबहादुरको सारङ्गी’ किन हेर्नुपर्छ ?
– यो एउटा मनोरञ्जनात्मक फिल्म हो । फिल्म प्रेम, रोमान्स, सम्बन्ध, सेन्टिमेन्ट सबै कुराले भरिएको छ । फिल्मले तपाईँहरूलाई निराश बनाउँदैन । एक समय यस्तो पनि थियो भन्ने फिल्मबाट बुझ्न सकिन्छ । हाम्रो समाजमा बुबा र छोराको प्रेम, जो बाहिर महसुस गर्न पाइँदैन, त्यो यसमा देख्न सकिन्छ ।