शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
चाडपर्व

धनतेरसको पौराणिक मान्यता : यो दिन जोडेको सम्पत्ति १३ गुणाले बढ्छ

मङ्गलबार, १३ कात्तिक २०८१, ०७ : २७
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस । प्रत्येक वर्ष तिहार सुरु भएको पहिलो दिन यो पर्व मनाइने गरिन्छ । यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ । नेपाल राष्ट्र बैंकले सोही अवसरमा आज एक दिनका लागि मात्र सुनको सिक्का समेत बिक्री गर्दै छ । 

धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणा ले बढ्छ भन्ने मान्यता छ । विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ । 

यसलाई धनतेरस नै किन भनियो त ? यसका पछाडि दुईवटा मान्यता रहेको पाइन्छ । भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ ।  

बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे । शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए । 

तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो । त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए ।

त्यसपछि वामनले बली राजासँग तीन पाइला जमिन मागे । तीन पाइलामा उनले तीनै लोक ओगटिदिए, सबै जमिन र सम्पत्ति आफ्नो बनाए र देवताको लुटिएको धन फिर्ता गरिदिए । यो क्रममा देवताहरूले यसअघि लुटिएकोभन्दा १३ गुणा बढी धन फिर्ता पाएको भन्ने मान्यता छ । सोही कारण आजको दिनमा कुनै सामान किन्नेले राम्रो प्रतिफल पाउँछ भन्ने जनविश्वास रहँदै आएको छ । 

अर्को, मान्यता अनुसार समुन्द्र मन्थनको समयमा भगवान् धनन्तरीले हातमा अमृत कलश लिएर प्रकट भएका थिए । धनवन्तरीलाई पनि विष्णुको अवतार मानिन्छ । संसारमा चिकित्साविज्ञानलाई विस्तार तथा प्रचारप्रसारको लागि आजकै दिन विष्णुले धनवन्तरीको अवतार लिएको मान्यता छ । यसैले आजको दिनलाई धनतेरस भनिएको भन्ने मान्यता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप