मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

शिक्षकको आन्दोलनले सात हजार बढी विद्यार्थी प्रभावित

सोमबार, १२ कात्तिक २०८१, २३ : ५५
सोमबार, १२ कात्तिक २०८१

सप्तरी । हुनमाननगर कंकालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ  ।  

नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् । 

तीन महिनादेखि तलबभत्ता नपाएको भन्दै आइतबारदेखि शिक्षकले आन्दोलनका कार्यक्रम गरेका हुन् । सोमबार दोस्रो दिन विद्यालय बन्द गरी धर्नामा बस्दा करिब सात हजार आठ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् । 

नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ । उक्त आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

गठित सङ्घर्ष समितिका संयोजक अशोक कुमार यादवले भने, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दसैँ जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुनेछ ।”

यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख विरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो । 

नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताए। उनले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको उल्लेख गरे ।

नगरसभा बैठन बस्न नसक्दा चालु आवदेखि शिक्षक, स्वास्थ्यकर्मीलगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाले समाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप