मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

नुवाकोटमा सरसफाइ डिभिजन कार्यालय स्थापना

सोमबार, १२ कात्तिक २०८१, २१ : ५८
सोमबार, १२ कात्तिक २०८१

त्रिशूली । नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गरे ।

राज्य पुनःसंरचना पश्चात गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुस गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताए ।

बागमती प्रदेश सरकारको गत असोज १९ गतेको निर्णयअनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्रअन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको छ । 

नयाँ कार्यालय स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आवदेखि कार्यान्वयन गर्न लागिएका योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको छ ।

प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यकाअनुसार नुवाकोटमा सङ्घीय सरकारबाट प्राप्त ३२ वटा योजनाको लागि रु एक करोड ७५ लाख र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि रु २४ करोड ५६ लाख ६० हजार बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

रसुवाका लागि सङ्घीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ ।

योजना तथा बजेटसहित दिलीपकुमार शाह प्रमुख रहने गरी डिभिजनका लागि आवश्यक कर्मचारीको प्रबन्ध मिलाएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप