मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १२ कात्तिक २०८१, २२ : ००
सोमबार, १२ कात्तिक २०८१

आज २०८१ कार्तिक १२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एमालेको कार्यालय बनाउन जग्गा दानबारे सर्वोच्चको कारण देखाउ आदेश, रवि लामिछानेको बयान सकिएन, राज्य व्यवस्था समितिको बैठकमा रवि पक्राउ प्रकरण र एमालेको जग्गाबारे चर्चा, बम रहेको हल्लाका कारण एयर इन्डियाको विमानमा डेढ घण्टा ‘सर्च’, एमाले नेतृद्वय बिन्दा र उषाकिरणले बुझाए पार्टीलाई स्पष्टीकरण, सत्ता पक्ष र विपक्षी एक अर्कालाई दबाबमा राख्ने रणनीतिमा लगायत छन् ।

१. एमालेको कार्यालय बनाउन जग्गा दानबारे सर्वोच्चको कारण देखाउ आदेश
सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अल्कालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशका साथै कारण देखाउ आदेशसमेत जारी गरेको हो ।

२.रवि लामिछानेको बयान सकिएन
सहकारी रकम हिनामिना सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको बयान सोमबार पनि सकिएन । सोमबार साढे ८ घण्टासम्म उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा राखेर बयान लिइएको थियो ।

३. राज्य व्यवस्था समितिको बैठकमा रवि पक्राउ प्रकरण र एमालेको जग्गाबारे चर्चा
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ प्रकरण र नेकपा एमालेले पार्टी कार्यालय बनाउन दानमा लिएको जग्गाबारे चर्चा भएको छ ।

४. बम रहेको हल्लाका कारण एयर इन्डियाको विमानमा डेढ घण्टा ‘सर्च’
काठमाडौँबाट नयाँ दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । उक्त विमानमा सुरक्षाकर्मीले डेढ घण्टासम्म ‘सर्च’ गर्दा कुनै पनि शंकास्पद बस्तु भेटिएन । त्यसपछिमात्र उक्त विमानलाई दिल्लीतर्फ उड्न दिइएको थियो । 

५. एमाले नेतृद्वय बिन्दा र उषाकिरणले बुझाए पार्टीलाई स्पष्टीकरण
नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । कात्तिक ४ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय भवन निर्माणका लागि दिएको जग्गा दानबारे पाण्डे र तिम्सेनाका साथै पूर्वउपाध्यक्ष भीम रावलसँग समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । रावलले भने आफू स्पष्टीकरणको अध्ययन मै रहेको प्रतिक्रिया जनाएका छन् ।

६. सत्ता पक्ष र विपक्षी एक अर्कालाई दबाबमा राख्ने रणनीतिमा
सत्तापक्ष र विपक्षी दलहरूले एकअर्कालाई दबाबमा राख्ने रणनीति बनाएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरू सडकमा आक्रामक बन्न थालेपछि सत्तापक्ष थप निर्मम हुने सङ्केत देखिएको छ । 

७. सरकारबारे कांग्रेसभित्रै फरक–फरक बुझाइ
सरकारको १०० दिन अर्थात् मधुमासलाई हेर्ने सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई दृष्टि पाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको सुरुवातको सय दिनप्रति सभापति शेरबहादुर देउवा सन्तुष्ट छन् । तर, दलभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला भने वर्तमान सरकारको सय दिनसँग सन्तुष्ट छैनन् ।

८. सशस्त्र प्रहरीमा अनिवार्यको व्यवस्था यसै वर्ष ऐनमा समेट्न परमादेश
सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था यसै आर्थिक वर्षभित्र ऐनमा समेट्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत असोज १० गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

९. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी चयन गर्ने मापदण्ड तयार
सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाइएको छ । दुवै आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारीसहित सरकारले गठन गरेको सर्च कमिटीले पदाधिकारी छनोट गर्न १४ बुँदे मापदण्ड निर्माण गरेको हो ।

१०. तरकारीको मूल्य बढ्दा किसान दङ्ग
पछिल्लो समय तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताहरू तरकारीको मूल्य वृद्धिका कारण पिरोलिएको अवस्थामा किसान भने दङ्ग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप