मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायलले ‘आइरन बिम’ लेजर सुरक्षा प्रणालीमा ५३ करोड डलर खर्च गर्ने

सोमबार, १२ कात्तिक २०८१, २१ : २१
सोमबार, १२ कात्तिक २०८१

जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले सोमबार ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पार्न ५३ करोड डलर छुट्याएको जनाएको छ । “रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन लगभग दुई अर्ब अरब शेकेल (इजरायली मुद्रा) बराबरको ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यो प्रणाली लेबनानको हिजबुल्लाहले गाजामा युद्ध सुरु भएयता आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा इजरायलमाथि प्रहार गरिरहेको ड्रोन र अन्य प्रक्षेप्यास्त्रहरूको अवरोध सुधार गर्न लक्षित छ । 

आइरन बिम अधिक परिचित आइरन डोम जस्ता अन्य हवाई सुरक्षा क्षमताहरूको पूरक हुनेछ । यी प्रणालीहरूले लेबनानी सशस्त्र समूहद्वारा प्रक्षेपण गरिएका सबै प्रक्षेप्यास्त्रहरूलाई रोक्न नसक्दा नागरिक र सैन्य क्षति भएको छ ।

विज्ञप्तिअनुसार रक्षा मन्त्रालयले रक्षा कम्पनीहरू राफेल र एल्बिटसँग काम गर्नेछ । मन्त्रालयका महानिर्देशक एयाल जमिरले नयाँ प्रणाली ‘एक वर्षभित्र सञ्चालनमा आउने’ आशा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स इजरायलको राष्ट्रिय रक्षा अनुसन्धान तथा विकास निकाय हो ।  रक्षा कम्पनी एल्बिटले अर्को छुट्टै विज्ञप्तिमा मन्त्रालयले आइरन बिम विकास गर्न विशेष रूपमा करिब २० करोड डलरको सम्झौता प्रदान गरेको जनाएको छ ।

इजरायलले सेप्टेम्बरको अन्त्यमा गाजामा हमास र लेबनानमा हिजबुल्लाहसँग युद्धरत रहेको बेला आठ अर्ब ७० करोड डलर बराबरको नयाँ अमेरिकी सैन्य सहायता प्याकेज प्राप्त गरेको घोषणा गरेको थियो ।

मन्त्रालयले उक्त सहायताको पाँच अर्ब २० करोड डलर वायु सुरक्षा प्रणालीहरूका लागि छुट्याइएको बताएको छ  । यसमा ‘विकासको अन्तिम चरणमा रहेको उन्नत उच्च–शक्ति लेजर सुरक्षा प्रणालीको निरन्तर विकासलाई समर्थन’ समावेश छ ।

सन् २०२१ को एउटा परीक्षणपछि रक्षा मन्त्रालयले एउटा सानो विमानमा रहेको लेजर प्रणालीले एउटा ड्रोनमाथि ऊर्जा किरण प्रहार गर्दा यसले प्वाल पारेर आगो लगाएको देखिने भिडियो प्रकाशित गरेको थियो ।

इजरायलको वर्तमान वायु सुरक्षामा बहुस्तरीय कवच छ । यसले अक्टोबर १ मा इरानद्वारा प्रक्षेपण गरिएका करिब दुई सय मिसाइलमध्ये ठूलो सङ्ख्या अवरोध गर्न मद्दत गरेको थियो । आइरन डोमले गाजा र लेबनानबाट प्रक्षेपण गरिएका प्रक्षेप्यास्त्र र रकेटहरू जस्ता छोटो दूरीका प्रक्षेप्यास्त्रहरूविरुद्ध सुरक्षा प्रदान गर्छ ।

डेभिड्स स्लिङ्ग र एरो मिसाइलका क्रमिक पुस्ताहरू ब्यालिस्टिक मिसाइलहरू खसाल्न अमेरिकी सहायताद्वारा भुक्तानी गरिएको र निर्माण गरिएको इजरायली–अमेरिकी प्रविधि हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप