सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालय सुरक्षित राख्न नसक्ने ओलीले देशको शान्ति, सुरक्षा कसरी कायम गर्न सक्छन् : प्रभु साह

सोमबार, १२ कात्तिक २०८१, २० : ५१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्छन्  भनेर प्रश्न उठाएका छन् ।

एमालेसम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले गत शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखेको बैठकमा कार्यकर्ताहरूले नांगो खुकुरी प्रदर्शन गरेकोबारे लक्षित गर्दै साहले एमाले अध्यक्ष ओलीले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसकेको अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारीमा देशको शान्ति, सुव्यवस्था कसरी कायम गर्न सक्छन् ? भन्दै प्रश्न उठाएका हुन्  ।

सिंहदरबारस्थित दलको कार्यालयमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले अहिलेको प्रधानमन्त्री ओली सबै मोर्चामा असफल भएको दाबी गरे । उनले सरकारको एक सय दिनमा आम जनतामा निराशा पैदा गर्ने काम र देशलाई झनै पछि धकेल्नेबाहेक अरू केही प्रगति हुन नसकेको आरोप लगाए । प्रधानमन्त्री ओलीले चर्को भाषण गर्दै देशमा माओवादीलाई शान्ति प्रक्रियामा आफूहरूले ल्याएको र हतियार बिसाएको भनेर भन्नुपनि निरर्थक हुने उनको टिप्पणी छ ।

फरक प्रसंगमा उनले प्रधानमन्त्री ओली अध्यादेशको राजनीतिमार्फत अघि बढ्दै संसद् विघटन गर्ने र संविधान मास्ने बाटोमा अग्रसर बनेको आरोप लगाए । उनले भने,‘उहाँ देशलाई स्थिरतातर्फ होइन अस्थिर बनाउने खलनायक हो, अहिले अध्यादेशको जोखना हेर्दै हुनुहुन्छ, दल विभाजन गर्दै संसद् विघटन गर्ने अनि संविधान मास्ने उहाँको योजना छ ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को कुकर्म गर्ने गरेको तर सरकारको मुख्य साझेदार दल मुकदर्शक भएर बसेकोमा भने साहले आश्चर्य प्रकट गरे । 

पूर्वमन्त्री साहले प्रधानमन्त्री ओलीले भारत र चीनसँगको नेपालको सन्तुलित सम्बन्धमा पनि खलल पुग्नेगरी कदम चालेको र त्यहीअनुसार प्रस्तुत हुन थालेकोमा पनि चिन्ता व्यक्त गरे । उनले अहिलेको सरकार विदेश मामिलामा गुमनाम बनेको आरोप लगाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप