सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

‘बीबीसी मास्टर सेफ विजेता’सन्तोष शाहलाई विद्यार्थीले आफ्नै कक्षा कोठामा भेटेपछि....

सोमबार, १२ कात्तिक २०८१, २० : ३४
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । आफूले किताबमा पढिरहेका व्यक्ति ‘बीबीसी मास्टर सेफ विजेता’ सेफ सन्तोष शाह आफ्नै कक्षा कोठामा भेटिएपछि राजधानीको जनप्रभात माध्यमिक विद्यालयका विद्यार्थी खुसी देखिए ।

काठमाडौँ महानगरपालिकाले दसैँ तिहारका बिचमा हुने छुट्टीका समयमा शैक्षिक नतिजा सुधारका लागि आयोजना गरेको ‘फेस्टिभल क्याम्पको’, उत्प्रेरणात्मक कक्षा ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न उनी विद्यालयमा पुगेका थिए  । उनीसँगै ‘द ग्रेट व्रिटिस वेक अफ’ प्रतियोगिताको २०२४ का विजेता सेफ नारायण श्रेष्ठ पनि थिए । उनीहरू दुवै जनाले शिक्षा, सिप र नतिजा प्राप्त गर्न आफूले गरेका प्रयासका सृङ्खला सुनाउँदै, विद्यार्थीहरूलाई वृत्ति विकासको आधारभूत आयामका बारेमा जानकारी गराए । 

कक्षामा उनीहहरुका कुरा विद्यार्थीहरूले ध्यानपूर्वक सुने । त्यसपछिको अन्तरक्रियामा सोध्न मन लागेको कुरा सोधे । आफूले सोधेका प्रश्नको जवाफ पाएपछि प्रतिक्रिया दिँदै उनीहरुले भने, ‘किताबमा पानामा पढ्नु पर्ने व्यक्ति आफ्नै कक्षा कोठामा आएपछि हामीले अक्षर पढ्नु नपर्ने भयो । वास्तविक ज्ञान प्राप्त गर्न पायौँ । कितावमा लेखिएभन्दा धेरै जान्न र बुझ्न पायौँ । यो हाम्रा लागि ठुलो अवसर हो । हामी भाग्यमानी पनि हौ किनभने हामीजस्तै कक्षा १० मा पढ्ने सबै विद्यार्थीले यस्तो अवसर पाउन सकेका छैनन् ।’

कक्षामा शाहले भने,  ‘किताब (परीक्षा)मा असफल भएर केही हुँदैन । जीवनमा भने असफल हुनुहुँदैन । मेरो अनुभव यही हो । म पढाइमा उति तेज थिइन । यति भएर पनि मैले खाना बनाउने कलाको विश्व स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्न सकेँ ।’ 

उनले अगाडि भने, ‘यसो भनेर तपाईँहरूलाई किताब नपढ्नोस् भनेको होइन । असफल भए पनि हुन्छ भनेको होइन । कहिलेकाहीँ सोचेको जस्तो नतिजा नआउन सक्छ । कुनै एउटा विषयले आफूलाई कमजोर छु कि जस्तो अनुभूति गराउन सक्छ । यसबाट निराश हुनुहुँदैन, निरन्तर प्रयासले सफल हुन सकिन्छ, भन्न खोजेको हो । कुनै विषयमा आफूलाई कमजोर महसुस भएको छ भने त्यो कमजोरीलाई महत्त्व नदिनु भन्न खोजेको हो । तपाईँसँग एउटा विषयमा कमजोरी हुन सक्छ । जीवनलाई उच्च स्थानमा पुर्याउने अन्य क्षमता हुन सक्छन् । त्यो सामर्थ्य भएको गुण चिन्नु, भन्न खोजेको हो ।’

सेफ सन्तोष शाहका बारेमा कक्षा १० को अंग्रेजी विषयको पाठ्यपुस्तकमा रिडिङ् एक्टिभिटिजअन्तर्गत ‘यु इन्स्पायर अदर्स वाइ लर्निङ्, नट वाइ टिचिङ्’ शीर्षकमा प्रश्नोत्तर राखिएको छ । यसमा उनको जन्मस्थान सिराहादेखि संयुक्त राज्य बेलायतको लण्डनमा आयोजना भएको ‘मास्टर सेफ ः द प्रफेसनल्स २०२०’ मा प्राप्त उपाधि सम्मको यात्रा र सफलता, नेपाली खानाका परिकारको व्यापारिक सम्भावनाका विषय राखिएका छन् । 

अन्तरक्रियाका क्रममा सेफ श्रेष्ठले ठुलो ठाउँमा पुग्न सानो ठाउँबाट यात्रा थाल्नु पर्ने बताए । उनले अहिलेको अहिले ठुलो ठाउँमा पुग्नेभन्दा सानो ठाउँबाट काम थालेर सिक्दै ठुलो ठाउँमा पुग्न उत्प्रेरित गरे ।

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ अन्तर्गत यसरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । ११ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप