सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछानेको बयान आज पनि सकिएन

साढे ८ घण्टा बयान
सोमबार, १२ कात्तिक २०८१, २० : २५
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि पुरा भएन । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिए ।

उनीसँग करिब साढे ८ घण्टा बयान लिइएको हो । लामिछानेको बयान अझै पुरा नभएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘बयान सकिएको छैन ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । यसअघि कार्तिक ५ र ६ मा बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋण स्वरूप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य अस्वीकार गरे ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन ।’

सूर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’

यस्तै रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरूले भने कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन् । 

‘लामो समयदेखि हामी यहाँ छौँ । प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरुले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन । यो गलत हो ।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ । उनको म्याद १४ गते सकिनेछ । 

तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप