सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

नीतिगत र संरचनागत सुधारका लागि ऐनहरु संशोधनको गृहकार्यमा सरकार

सोमबार, १२ कात्तिक २०८१, १९ : ५२
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।

‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारेका छौँ । यही आलोकमा ऐनहरु आउनेछन्,’ सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘तपाईँहरूले पनि राम्रो कल्चर भित्र्याउनुहुनेछ, वातावरण बनाउनुहुनेछ ।’

नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति भरिपूर्ण रहेको र नागरिक उड्डयनमा अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । सांस्कृतिक,  भौतिक र अभौतिक सम्पदालाई पनि उजागर गर्नुपर्ने उनले बताए । पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए । 

कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विज्ञ डा. रणबहादुर रावलले पर्यटन प्रवर्द्धनका लागि नीतिगत, संरचनागत सुधारको जरुरी रहेको बताए । ऐन कानुनहरू पर्यटनमेत्री बनाउनुपर्ने उनको भनाइ थियो । सबैभन्दा ठुलो समस्या नीतिकै भएको उनले बताए । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसी पर्यटनको सहर भएको भन्दै प्रवर्द्धन गर्न जरुरी रहेको बताए । ‘नेचर, कल्चर र एड्भेन्चरलाई नीतिगत र योजनाबद्धरुपमा काम गर्नुपर्छ,’ उनले भने । तर काम गर्न नीतिगत चुनौती रहेको उनले बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न १८ महिना लागेको भन्दै उनले पर्यटकीय राजधानीमा आउन एनआरएनहरुलाई अनुरोध गरे । मुक्ति क्षेत्रको प्रवेशद्वार र शालिग्रामलाई आधार मानेर पोखरालाई आध्यात्मिक पर्यटन प्रवर्द्धन गरिरहेको उनले जानकारी दिए ।  

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले जैविक विविधता, धार्मिक, सांस्कृतिक विविधताले भरिएको, सिमसार क्षेत्र, नदी क्षेत्र, चराहरुको वासस्थान रहेको भरतपुरलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न पर्यटन भ्रमण वर्ष २०२४ मनाइरहेको बताए ।

रामग्राम नगरपालिका प्रमुख धनपत यादवले छिमेकी राष्ट्रहरूबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन जरुरी रहेको बताए । कोभिडपछि लुम्बिनी क्षेत्रको पर्यटक धाराशायी भएको र व्यवसायी पलायन भइरहेको भन्दै उनले बुद्धिष्ट पर्यटक भित्र्याउन एनआरनएनले पहल गरिदिनुपर्ने बताए । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले पर्यटनमा लगानीको वातावरण सिर्जना भएमा गैरआवासीय नेपाली आकर्षित हुने बताए । 

होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले एनआरएनएसँग आफूहरूको अपेक्षा प्रवर्द्धन र ब्राण्डिङ भएको बताए । 

एनआरएनएका उपमहासचिव सोमनाथ सापकोटाले नेपालको सम्पदा, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि पुलको भूमिका खेल्ने बताए । पर्यटन प्रवर्द्धन एनआरएनएको प्राथमिकतामा रहेको भन्दै चुनौतीहरूमा महत्त्वपूर्ण रणनीति अगाडि बढाउन र नेपाललाई पर्यटन गन्तव्य बनाउन यो छलफलले सघाउने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप