सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
जग्गा प्रकरण

बिन्दा र उषाकिरणले पार्टीलाई बुझाएको स्पष्टीकरणमा के छ ?

सोमबार, १२ कात्तिक २०८१, १६ : ५२
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

पाण्डे र तिम्सेनाले सोमबार स्पष्टीकरणको जवाफ बुझाएको एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ ।

तिम्सेनाले पार्टी कार्यालय पुगेर र पाण्डेले कार्यालयका प्रतिनिधिलाई घरमै बोलाएर जवाफ बुझाएको  एमाले स्रोतले बतायो। पाण्डे खुट्टामा लागेको चोटका केही दिनदेखि घरमै आरामरत छिन् ।

पाण्डे र तिम्सेनाले स्पष्टीकरणको जवाफमा माफी मागेका छैनन् । बरु उनीहरूले पार्टीको गरिमा र छविलाई थप माथि उठाउन सार्वजनिक रूपमा उठेका विषयलाई छलफलको विषय बनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘...अभिव्यक्तिले पार्टीको गरिमा र छविलाई माथि उठाउने हो घटाउने होइन । फेसबुकमा लेखेको र सार्वजनिक रूपमा बोलेको कुरामा तथ्यहरूले गल्ती भन्दैनन्’, स्पष्टीकरणको एक अंशमा भनिएको छ ।  यसैगरी उनीहरुले केही भावनात्मक कुरा पनि जवाफी पत्रमा उल्लेख गरेको स्रोतले बतायो । 

गत कात्तिक चार गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय भवन निर्माणका लागि दिएको जग्गा दानबारे तीन नेताले दिएको सार्वजनिक अभिव्यक्तिविरुद्ध पुर्वउपाध्यक्ष भीम रावलसहित पाण्डे र तिम्सेनालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार महासचिव शंकर पोखरेलले कात्तिक ५ गते तीनै जना नेताहरूलाई स्पष्टीकरण पत्र पठाउँदै पार्टी निर्णय विपरीत के कति कारणले सार्वजनिक अभिव्यक्ति दिएको हो भनेर पत्र पठाएका थिए ।

गत २५ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यवसायी गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर निर्णय फिर्ता लिन नेतृत्वलाई सुझाव दिएका थिए ।

अर्का नेता रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेले जनाएको थियो ।

एमालेले यस्तो निर्णय गरेलगत्तै नेतृ पाण्डेले जग्गा दान लिने विषयप्रति असहमति प्रकट गर्दै एमालेका साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको बताएकी थिइन् । त्यस्तै उनले व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हुने भएपनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको बताएकी थिइन् ।

‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ’, पाण्डेले भनेकी थिइन् ।

उनले समय घर्की नसकेको भन्दै मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने गलत निर्णय सच्याउनै पर्ने भन्दै समयमै सोच्न नेतृत्वलाई आग्रह गरेकी थिइन् । तिम्सेनाले पाण्डेको फेसबुक सेयर गरेकी थिइन् ।

तर पाण्डे र तिम्सेनासँग पार्टी नेतृत्वले छलफल गर्नुको साटो स्पष्टीकरण सोधेको थियो । उनीहरूलाई स्पष्टीकरण सोधिएपछि नेतृत्वको चर्को आलोचना समेत भएको थियो ।

पार्टीले छलफल नै नगरी स्पष्टीकरण सोधेपनि पाण्डे र तिम्सेना दुवैले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ समयभित्रै बुझाएका हुन् । उनीहरूले स्पष्टीकरणमा माफी माग्ने भन्दा पनि यथार्थ चित्रण गरेर जवाफ दिएर चुनौती दिएका छन् ।   

‘आम चासोको विषय, नेपालको समस्या भ्रष्टाचार र अपारदर्शीतालाई राज्यको कमजोरी पत्ता लगाएर व्यापारीहरू धनी भएका हुन्’ जवाफको बेहोरामा भनिएको छ, ‘सार्वजनिक रूपमा उठेको विषयमा स्पष्टीकरण सोध्ने वा बुझाउने विषय भन्दा पनि पार्टीभित्रको छलफलको विषय हो ।’

पूर्व उपाध्यक्ष भीम रावलले भने सोमबार पनि आफू पार्टीले सोधेको स्पष्टीकरणबारे अध्ययनमै रहेको प्रतिक्रिया दिए । रातोपाटीले गरेको प्रश्नमा रावलले भने, ‘ म यो विषयमा अध्ययनमै छु । बुझाइसकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप