सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

बाढी प्रभावित आयोजनालाई राहत नदिएको भन्दै निजी क्षेत्रको आक्रोश

सोमबार, १२ कात्तिक २०८१, १६ : ४३
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत् आयोजनालाई सरकारले राहत र क्षतिपूर्ति दिन सहजीकरण नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबिच ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारको लापरबाहीले निजी क्षेत्रमा निराशा बढेको बताएका हुन् ।

सरकारले बाढी पहिरोमा मात्र नभएर अन्य कुनै पनि मुद्दामा सहजीकरण नगर्दा निजी क्षेत्रका प्रवर्द्धकमा निराशा र आक्रोश बढ्दै गएको कार्कीले बताए । उनले भने, ‘यसलाई सरकारले समयमै समस्या समाधानका लागि पहल नगरे भोलि नियन्त्रण नै गर्न नसक्ने गरी आक्रोश पोखिन सक्छ ।’ 

कार्कीले आरसीओडीको म्याद किन नथपिएको, बाढी पहिरो प्रभावित आयोजनालाई राहत कहिले दिने, पीपीए कहिले खुलाउने, २०८४ भित्र विद्युत् उत्पादन नभए स्वतः टेक एन्ड पे हुने व्यवस्था कहिले हटाउने लगायतका प्रश्न मन्त्रीसामु राखेका थिए ।

नियामकीय निकाय धेरै हुँदा काममा ढिलाइ भइरहेकोले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन सम्भव नहुने पनि कार्कीले बताए । 

त्यस्तै पावर ट्रेडको बोटल नेक अन्त्य गर्न सकेमा अहिले देखिएका धेरै विषय समाधान हुने इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले सुझाव दिए । 

भन्सार छुटको सुविधा बाढी प्रभावित आयोजनालाई मात्र नभएर सबै आयोजनाले पाउनुपर्ने इप्पान महासचिव बलराम खतिवडाको भनाइ थियो । उनले असोज ११/१२ को बाढी मात्र नभई त्यसअघि आएको बाढीले क्षति पुर्‍याएका आयोजनाले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने भनाइ राखे ।

जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको बताए । २८ हजार ५०० मेगावाटको मार्गचित्र मन्त्रिपरिषद्मा पुगेको जानकारी दिँदै मन्त्री खड्काले बाढी पहिरोको कुरामा अर्थको सहमति र विपद् व्यवस्थापन समितिको रायका लागि पठाइएको पनि जानकारी गराएका थिए ।

आरसीओडीको म्याद थप, पीपीए खुलाउने, विद्युत् व्यापारको बोटलनेक हटाउने लगायतका मुद्दामा सरकार गम्भीर भएर लागि परेको मन्त्री खड्काको भनाइ थियो ।

उक्त छलफलमा ऊर्जासचिव सुरेश आचार्यले निजी क्षेत्रका धेरै विषय समाधान हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप