सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
बजार

बजारमा तरकारीको मूल्य बढ्यो, के भन्छन् किसान र व्यवसायी ?

सोमबार, १२ कात्तिक २०८१, १९ : ००
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताहरू तरकारीको मूल्य वृद्धिका कारण पिरोलिएको अवस्थामा किसान भने दङ्ग छन् ।

गत महिनाको तुलनामा टमाटरको मूल्य २५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना ३० रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको टमाटर अहिले ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यस्तै, आलुको मूल्य पनि २ देखि १२ प्रतिशतले वृद्धि भएको छ । रातो आलुको मूल्य गत महिना प्रतिकिलो ५६ रुपैयाँ रहेकोमा अहिले ६३ रुपैयाँ पुगेको छ । मुडे आलु गत महिना ७१ रुपैयाँ प्रतिकिलो रहेकोमा अहिले ७२ रुपैयाँ भएको छ ।

स्थानीय काउलीको मूल्य एक महिनामा प्रतिकिलो ६५ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । गत महिना २७ देखि ३२ रुपैयाँ प्रतिकिलो पर्ने भान्टाको मूल्य अहिले वृद्धि भएर ७५ देखि ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

६५ रुपैयाँ प्रतिकिलो पर्ने बोडीको मूल्य एक महिनामै ११५ रुपैयाँ प्रतिकिलो पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार एक महिनामा २ देखि २५८ प्रतिशतले हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।

काठमाडौँ उपत्यकामा तरकारीको मूल्य वृद्धि भइरहँदा किसान पनि खुसी देखिएका छन् । उनीहरूले तरकारीको राम्रो मूल्य पाएको बताएका छन् । पछिल्लो पटक टमाटरको उपभोक्ता मूल्य प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको थियो । यो समयमा किसानले पनि राम्रै मूल्य पाए ।

व्यावसायिक तरकारी खेती गर्दै आएका किसान रिशेश्वर भट्टराईले भने, ‘मेलै पनि अलि–अलि मूल्य पाएको छु । असारमा प्रतिकिलो १३ रुपैयाँका दरले टमाटर बेचेको थिएँ । आजभोलि प्रतिकिलो १२२ देखि १३० रुपैयाँसम्म रकम पाएको छु ।’

उनका अनुसार असोजको दोस्रो साताबाट टमाटरको मूल्य बढे पनि हाल घट्दै गएको छ । उपभोक्ताले महँगो मूल्य तिर्नु परे पनि किसानले समेत बढेको मूल्यकै अनुपातमा रकम पाइरहेको भट्टराईको भनाइ छ ।

उत्पादन कम भएका कारण कृषि उपजको राम्रो मूल्य किसानले पाएको भट्टराईले बताए । ‘मेरो करिब ३ सय टनेलमध्ये ३५ वटा डुबानमा परे, असोजको पानीले टमाटरलाई नराम्रो गर्छ,’ उनले भने, ‘असोज १० देखि १२ गते परेको झरीले बाहिर उत्पादन हुने टमाटर सबै मरे । धेरै टनेल बाढी पहिरोका कारण डुबानमा परेका कारण उत्पादन नै घटेको छ ।’

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा उनले टनेलमा टमाटर खेती गर्दै आएका छन् । उनले गत वर्ष टमाटरको मूल्य नपाएको गुनासो गरे । तर यो वर्ष राम्रो मूल्य पाएको उनको भनाइ छ ।

कालीमाटीमा व्यवसाय गदै आएकी सीता केसी खड्काले पनि यो वर्ष उत्पादन कम भएर तरकारीको मूल्य वृद्धि भएको बताइन् । उनले काठमाडौँ उपत्यका क्षेत्र आसपास तरकारी खेती डुबानमा परेर क्षति भएकाले उत्पादन घटेको बताइन् । ‘अहिले तरकारीको उत्पादन नै घटेको छ,’ उनले भनिन्, ‘यसले गर्दा मूल्य वृद्धि भएको हो ।’

बानेश्वरस्थित तरकारी बजारका व्यवसायी पनि बाढी पहिरोका कारणले तरकारी उत्पादन हुने क्षेत्र डुबान पर्दा उत्पादन घट्दा स्वाभाविक रूपमा मूल्य वृद्धि भएको बताउँछन् । तरकारी व्यवसायी विकास श्रेष्ठले उत्पादन कम भएर मूल्य वृद्धि भएको बताए । उनले भने, ‘तरकारीको उत्पादन नै कम छ,’ उनले भने, ‘तरकारी बारी डुबान परे । बाटोघाटोको समस्याले तरकारी बजारमा आइसकेको छैन । पहिलाका तरकारी बारीमै सकिन लाग्यो । यसले गर्दा मूल्य बढेको हो ।’

काठमाडौँ उपत्यकाको करिब ७० प्रतिशत माग धान्ने कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य अवस्थामा दैनिक औसत ७ सय टन हाराहारीमा तरकारी भित्रिन्छ । तर पछिल्लो समय दैनिक तरकारीको आपूर्ति घटेको छ । आइतबारको तथ्याङ्क हेर्ने हो भने ५५२ टनको हाराहारीमा मात्रै तरकारी आपूर्ति भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले तरकारी आपूर्ति हुन नसक्दा मूल्य वृद्धि भएको बताए । ‘बर्खे तरकारी सकिने बेला हो, हिउँदे तरकारी आइसकेको छैन । बाटोका कारणले सहज किसिमले तरकारी आउन सकेको छैन,’ उनले भने, ‘यसले गर्दा आपूर्ति कम भएको अवस्था छ । आपूर्ति घटेकै समयमा पर्व परेकाले माग भने बढेको छ । यसले गर्दा तरकारीको मूल्यमा वृद्धि भएको हो ।’

कालीमाटी बजारमा आउने सरदर ७ सय टन हाराहारीमा ताजा तरकारीसहित फलफूलमध्ये ७० प्रतिशत आन्तरिक उत्पादन रहने गरेको छ । आलु, प्याज तथा फलफूलसहित बाँकी ३० प्रतिशत भारत लगायत विभिन्न मुलुकबाट तरकारी आयात गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप