सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

बागमती प्रदेशको विजयी सुरुवात, गण्डकी प्रदेशलाई १०० रनले हरायो

सोमबार, १२ कात्तिक २०८१, १५ : १२
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय रनको फराकिलो अन्तरले हराएको हो ।

जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । दोस्रो खेल खेलेको गण्डकी प्रदेशको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई नौ विकेटले हराएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने ३६ ओभरमै अलआउट हुनुअघि एक सय २९ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि नितिश कुमारले अर्धशतकीय पाली खेले । उनले अविजित ५३ रनको योगदान गरे । उनले ५१ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए । कप्तान उत्तम मगरले ४० रन बनाए ।

विकेटकिपर ब्याट्सम्यान उत्तमले ५८ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । ओपनर रिङजिन लामाले ३९ रन जोडे । उनले ७३ बलमा एक छक्का र दुई चौका प्रहार गरे । अर्का ओपनर सूर्यान्शु कोइरालाले २० रन बटुले ।

गोकुल अधिकारीले पन िटोलीको खातामा ३६ रन थपे । उनले ७४ बलको सामना गरी एक चौका हिर्काए । रोसन विश्वकर्माले पनि टोलीका लागि अविजित २६ रनको योगदान गरे । उनले केवल १४ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । गण्डकी प्रदेशका बलर किरण भट्टराईले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै २८ रन खर्चिए । सुदिप अर्याल र अपराजित पौडेलले पनि एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए । सिबरिन श्रेष्ठले पनि २९ रन बटुले । रोहित चन्दले २१ र सुजन गौतमले १६ रन बनाए ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा १९ रन पायो । बागमती प्रदेशका बलर दीपक सेरला र दीनेश बिष्टले तीन–तीन विकेट लिए । दयानन्द मण्डलले पनि दुई विकेट हात पारे । रोसन विश्वकर्माले एक विकेट लिए ।

सातवटै प्रदेशका टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता कार्तिक २१ गतेसम्म चल्ने । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक २१ गते खेलिने छ ।

((

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप