सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

लुम्बिनी प्रदेशको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हरायो

सोमबार, १२ कात्तिक २०८१, १४ : ५७
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको हो ।

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ७५ रनले हराएको थियो । सुदूरपश्चिम प्रदेशले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको हो ।

लुम्बिनी प्रदेश चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ३८.५ ओभरमा अलआउट हुनुअघि एक सय ५६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ३५.४ ओभरमा अलआउट हुनुअघि एक सय १५ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि द्रास सुनारले सर्वाधिक ३८ रन बनाएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका उनले ५१ बलको सामना गरी तीन छक्का र दुईवटा चौका पनि हिर्काएका थिए । निर्मल गुरुङले पनि अविजित २७ रन बनाएका थिए ।

उनले २५ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरेका थिए । नर सार्कीले पनि २५ रन बनाए । ओपनर ब्याट्सम्यान सम्राट भुसालले पनि टोलीको खातामा २५ रन थपे ।

लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएका थियो । सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी, युवराज खत्री र अशोक धामीले तीन–तीन विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन लुम्बिनी प्रदेशका बलर रमेश कुर्मी र सन्तोष यादबले उत्कृष्ट प्रदर्शन गरे । रमेश कुर्मीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै केवल २५ रन खर्चिए ।

सन्तोष यादवले पनि चार विकेट हात पारे । उनले नौ ओभरमा दुई मेडन राख्दै ३४ रन खर्चिए । आकाश त्रिपाठीले पनि एक विकेट लिए । सुदूरपश्चिम प्रदेशका ब्याट्सम्यानहरुले अत्यन्तै निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशका लागि तल्लो क्रमका ब्याट्सम्यान युवराज खत्रीले अविजित २२ रनको योगदान गरे । उनले ४० बलमा एक छक्का र एक चौका पनि हिर्काए । कैलाश ऐयरले पनि २१ रन बनाए । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।

नरेश भट्ट र प्रकाश पाण्डेले पनि १३–१३ रन बनाए । ओपनर अभिषेक थापाले १० रन बनाउँदै पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । 

सुदूरपश्चिम प्रदेशका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रुपमा पाएको रन बढी थियो । सुदूरपश्चिमले अतिरिक्त रुपमा २४ रन पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप