सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

दुर्घटनापछि एक पुरुषले गुमाए ३९ वर्षको स्मृति, आफ्नी पत्नी समेत चिन्न सकेनन्

सोमबार, १२ कात्तिक २०८१, १४ : ५२
सोमबार, १२ कात्तिक २०८१

रोम । कल्पना गर्नुहोस्, तपाईं आजको दिनमा बाँचिरहनुभएको छ र एक्कासि तपाईंलाई कसैले ४० वर्ष अगाडिको समयमा पुर्‍याई दियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि तपाईं अलमलमा पर्नुहुन्छ होला ।

यो कुनै चलचित्रको पटकथा जस्तो लाग्ला । तर, इटालीका लुसियानो डी’अडामोका लागि यो वास्तविक कथा हो । सन् २०१९ मा भएको ‘हिट एन्ड रन’ दुर्घटनापछि उनले आफ्नो ३९ वर्षको स्मृति गुमाएका छन् ।

दुर्घटनापछि केही दिन कोमा रहेर ब्युँझिएपछि उनले आफू २४ वर्षको भएको ठाने । उनी आफ्नी १९ वर्षीया प्रेमिकालाई विवाह गर्नका लागि प्रतीक्षारत थिए । 

उनले आफ्नी पत्नीलाई चिनेनन् भने ३० वर्षीय युवकले उनलाई ‘बुवा’ भनिरहेकोमा उनी आश्चर्यचकित बनेका थिए ।

कोमाबाट ब्युँझिएर ऐनामा आफ्नो अनुहार हेर्दा उनी अत्तालिएका थिए । उनी आफू अझै युवा भएको विश्वास गरिरहेका थिए ।

उनकी पत्नी ५८ वर्षीकी थिइन् तर उनले आफ्नी १९ वर्षीया प्रेमिकालाई मात्र सम्झिएका थिए । वास्तवमा दुवै जना एउटै व्यक्ति थिए मात्र ३९ वर्षको अन्तर मात्र थियो ।

आफ्नो यतिको वर्ष कता गायब भयो भन्दै उनी आश्चर्यचकित थिए । ‘उनले मलाई लुसियानो भनेर बोलाइन्, उनलाई मेरो नाम कसरी थाहा भयो भनेर म अचम्मित थिए,’ अडामाले भने, ‘त्यसपछि ३५ वर्षीय एक पुरुष पनि मलाई बुवा भन्दै आए । बुवाभन्दा छोरा कसरी बुढो भयो ? अनि मेरी पत्नी ? मेरो त विवाह नै भएको थिएन, इन्गेजमेन्टमात्र भएको थियो, ६० वर्षकी ती बुढी आईमाईसँग त पक्कै होइन, १९ वर्षीया युवतीसँग हो । चार महिनापछि हामी विवाह गर्न लागेका थियौँ ।’

लुसियानोको स्मृति अझै फर्किएको छैन । पछिल्ला चार दशकको उनको स्मृति फिर्ता आउने सम्भावना निकै कम रहेको छ । 

उनीसँग आफ्नो विवाह, छोरा, साथी र करियर स्वीकार गर्नुबाहेक अन्य कुनै विकल्प पनि छैन । उनी अझै पनि आफ्नो स्मृति फिर्ता ल्याउन प्रयास गरिरहेका छन् । 

लुसियानो एउटा विध्यालयमा काम गरिरहेका छन् । त्यहाँको वातावरणले उनलाई जीवनमा केही सामान्यपन ल्याउन मद्दत गरेको छ । 

बालबालिकाहरूसँग समय बिताउँदा उनले जीवनको बारेमा नयाँ बुझाई हासिल गरेका छन् । बालबालिकासँग कुराकानी गर्न उनलाई सबैभन्दा मन पर्छ । उनले अहिले मानसिक डाक्टरको सहारा लिएर अहिले परिवार र साथीहरूसँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप