सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

गजबका समर्थक : रोनाल्डोलाई भेट्न साइकलमा १३ हजार किलोमिटरको यात्रा !

सोमबार, १२ कात्तिक २०८१, १४ : ४९
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । अनि समकालीन विश्व फुटबलका महान् खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । विश्वभर रोनाल्डोका करोडौँ समर्थक छन् । रोनाल्डोका एक समर्थक अहिले सामाजिक सञ्जालमा र विश्वभरका सञ्चारमाध्यममा चर्चाको पात्र बनेका छन् ।

यी पोर्चुगिज स्टारका एक समर्थक आफ्ना आदर्श खेलाडीलाई भेट्न करिब सात महिना साइकल चलाएर साउदी अरेबिया पुगेका छन् । रोनाल्डोका ती समर्थक हुन्, चीनका २४ वर्षीय फेन गोङ । उनी सात महिनासम्म साइकल चलाएर करिब १३ हजार किलोमिटर दुरी पार गर्दै रोनाल्डोलाई भेट्न साउदी अरेबिया पुगेका हुन् ।

३९ वर्षीय रोनाल्डो हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् । फेन गोङ चीनबाट साइकल चलाएर साउदी अरेबिया पुगेका हुन् । समाचारमा जनाइए अनुसार, उनले गत मार्च १८ तारिखमा चीनबाट आफ्नो यात्रा सुरु गरेका थिए ।

बाटोमा पर्ने विभिन्न राष्ट्र हुँदै उनी अक्टोबर १० तारिखमा साउदी अरेबिया पुगेको समाचारमा जनाइएको छ । अन्ततः साउदी अरेबिया पुगेर उनले आफ्ना आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डोसँग भेट गरेका छन् । उनले रोनाल्डोसँग तस्बिर पनि खिचाएका छन् ।

समाचारमा जनाइए अनुसार, रोनाल्डोलाई भेट्ने एक मात्र लक्ष्य बनाएका उनले जर्जिया, इरान, कतारलगायतका ६ राष्ट्रको यात्रा गरेका थिए । यात्राका क्रममा आफूले थुप्रै समस्याको सामना गर्नु परेको पनि उनले बताएका छन् ।

विभिन्न राष्ट्रको फरक–फरक भाषाका कारण पनि उनले समस्याको सामना गर्नु परेको थियो । यात्राका क्रममा उनी बिरामी पनि परेका थिए । यद्यपि, स्थानीय फुटबल प्रेमीहरुले उनको उपचारमा सहयोग गरेका थिए ।

गत फेब्रुअरीमा रोनाल्डोले चीनको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । फेन गोङ पनि रोनाल्डोको तीव्र प्रतीक्षामा थिए । तर, घाइते भएका कारण उनी चीन भ्रमणमा जान पाएनन् । त्यसपछि फेन गोङले आफै उनलाई भेट्न जाने योजना बनाएका थिए ।

फेन गोङ अक्टोबर १० तारिखमै रियाद पुगेका थिए । तर, तत्काल उनले रोनाल्डोलाई भेट्ने अवसर पाएनन् । अक्टोबर २० तारिखमा अल–नासरका कर्मचारीले फेन गोङलाई रोनाल्डोसँग भेट्ने अवसर जुराइदिएका थिए ।

रोनाल्डोसँग भेट्न पाउँदा उनी निकै खुसी भएका थिए । उनले जर्सीमा रोनाल्डोको अटोग्राफ पनि लिएका छन् । रोनाल्डोका अर्का एक समर्थकले अल–नासरको खेल हेर्न फेन गोङलाई निःशुल्क टिकट पनि उपलब्ध गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप