सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

सोमबार, १२ कात्तिक २०८१, १४ : १९
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । 

आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन् । आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनियर) समेत पठाइसकेको जानकारी उनले दिए । केही खाली रहेका नगर÷गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ छ ।

करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ । ‘नौ/नौ/दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर/अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’ पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपुर पहलकदमी लिइरहेको उनको भनाइ छ ।

उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिए । 

मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा सङ्घीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद् अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले व्यक्त गरे । एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउँदै उनले यो बिचमा धेरै कामको थालनी भइसकेको र अब क्रमशः परिणाम आउने दाबी गरे । १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप