सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
विकासमा बेथिति

कोशी प्रदेशको ६ अर्ब ३४ करोड लागतका ३१ आयोजना संकटग्रस्त

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा अघि बढाउन ताकेता
सोमबार, १२ कात्तिक २०८१, १३ : ४२
सोमबार, १२ कात्तिक २०८१

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईसहितको टोलीले शनिबार सुनसरीका दुई वटा रुग्ण आयोजनाको स्थलगत अवलोकन गर्दै तत्काल काम अगाडि बढाउन निर्माण कम्पनीलाई ताकेता गर्‍यो । जसमा ३९ करोड २३ लाख ४१ हजार १६३ रुपैयाँ लागतको धरान–१५, निरज बस्ती हुँदै हर्दिया–पेलपुल–ढाडे–कन्यापोखरी सडक र ३७ करोड २३ लाख ३० हजार २५ रुपैयाँमा ठेक्का सम्झौता भएको बराहक्षेत्र नगरपालिका, महेन्द्रनगरको बाङ्गेबाट हल्दिया–कालाबंजर–तीनकुने–भलुवा चौरी हुँदै धरान जोड्ने सडक छ । पूर्वाधार विकास कार्यालय मोरङले उक्त दुई वटै सडक रुग्ण आयोजनाको रूपमा सूचीकृत गरेको छ ।

मन्त्री राईसहितको टोलीले निर्माण व्यवसायीका साथै उपभोक्ता र सरोकारवाला सबैलाई राखेर समस्या देखाउन आग्रह गर्दै तिनको समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएपछि ती आयोजना अघि बढाउने गरी सर्वपक्षीय सहमति भएको छ । मन्त्रालयले स्थानीयस्तरमै पुगेर आवश्यक निर्णयसमेत गरेको छ ।

कोशी प्रदेशमा त्यस्ता आयोजना ३१ वटा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्री राईले उपलब्ध गराएको तथ्याङ्क अनुसार ती रुग्ण आयोजनाको जम्मा लागत ६ अर्ब ३४ करोड २१ लाख रुपैयाँ बराबरको छ । ती आयोजना प्रदेश सरकार स्थापना भएको दोस्रो वर्ष अर्थात्, २०७६ सालमा ठेक्का सम्झौता भएका हुन् ।

Cronik Yojana

उपलब्ध तथ्याङ्क अनुसार पूर्वाधार विकास कार्यालय ओखलढुंगामा ४५ करोड ८९ लाख बराबरका तीन वटा सडक रुग्ण छन् । जसमा मानेभञ्ज्याङ–माधवपुर–ठाडखोला–सिस्नेरी–बलखु–सिन्धुली–खान्गसाइग सडक कालोपत्रे, बेलटार बजार–कम्फुघाट–पामाखाम–मयरुडाँडा हुँदै साल्पा पोखरीबाट गुदिल–सोलु–सल्लेरी, ओखलढुंगा र निर्वाचन क्षेत्र नं. १ रिङरोड (रुम्जाटार–जन्तरखानी–रावादलु– खिजिफलाटे–हर्कपुर– रातमाटेमाम्खा) सडक छन् ।

यस्तै सबैभन्दा बढी रुग्ण आयोजनाहरू पूर्वाधार विकास कार्यालय मोरङका छन् । रुग्ण पाँच आयोजनामध्ये शनिबार अनुगमन गरिएका दुई वटा र बबियाबिर्ता–रंजनी–कजिमानचोक–फर्साडाँगी हुँदै दोभानघाट गान्धीआश्रम–दादरबैरिया थान हुँदै सुनवर्षी जोड्ने सडक, कटहरी गाउँपालिका–५ रिङरोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजारसम्म जाने सडक र विराटनगर ५, ६, ११, १२ नम्बर वडा हुँदै जोगवनी बोर्डर जोड्ने सडक रुग्ण छन् । ती पाँच वटा सडकको लागत २ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबर छ ।

यस्तै पूर्वाधार विकास कार्यालय उदयपुर अन्तर्गत मैनामैनी–हसनपुर–चुहार सडकको दुवै प्याकेज रुग्ण छन् । ती दुवै प्याकेजको लगानी ५२ करोड ९९ लाख ३२ हजार रुपैयाँ छ ।

यस्तै पूर्वाधार विकास कार्यालय भोजपुरको भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बैकुण्ठे–बासिखोरा–बलङ्खा–रानीटार सडकको दुवै प्याकेज गरी ५५ करोड ६८ लाख ८४ हजारको लागत छ । उक्त आयोजना पनि रुग्ण छ ।

पूर्वाधार विकास कार्यालय संखुवासभा अन्तर्गत रहेको ४४ करोड ७ लाख बराबरको मानेभन्जयाङ–चन्दनपुर–हेलुवावेशी सडक अलपत्र छ । पूर्वाधार विकास कार्यालय झापा अन्तर्गत इलाम बजार सन्दकपुर पर्यटकीय सडकका दुवै प्याकेज समस्यामा परेका छन् । यस्तै झापा धरमपुर ९ राना मिल इन्द्रेणी चोकदेखि कुन्जी बारी सड र गौरादह स्कुल चैनपुर डिल्लीबाद सडक गरी प्रदेशका जम्मा १७ वटा सडक रुग्ण रहेको मन्त्रालयले जनाएको छ । जसका लागि प्रदेश सरकारले ५ अर्ब २१ करोड १६ लाख लगानीको सम्झौता गरेको थियो । यस्तै १२ वटा सडक पुल पनि रुग्ण रहेको प्रदेश मन्त्रालयले जनाएको छ । जसको लागत सम्झौता ७२ करोड १२ लाख ८९ हजार रुपैयाँ छ ।

जसमा सोलुखुम्बुको पिखु खोला पुल, मोरङको खदम खोला पुल, मदाखोला पक्की पुल, सुनसरीको देवीगाउँ सिरान लेदुवा मोटर पुल, तेह्रथुमको पिन्गुवा खोला मोटरेवल पुल, संखुवासभाको पिलुवा खोला सडक पुल, सभाखोलामा सडक पुल, भोटी खोला सडक पुल, धनकुटाको लेगुवा खोला मोटरेबल पुल, भोजपुरको तामुटार मोटरेबल पुल समस्यामा छन् ।

यस्तै उदयपुर र भोजपुर जोड्ने दुधकोशी नदीको पक्की पुल, इलामको सिद्दी खोला पुल रुग्ण आयोजना हुन् ।

प्रदेश सरकारको पहिलो कार्यकालमा गौरवको आयोजनाको रूपमा अघि सारिएको कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना र विराटनगर प्रवेशद्वार निर्माण आयोजना पनि सङ्कटग्रस्त आयोजना हुन् । कोशी रिफ्रेसमेन्ट सेन्टरको लगानी ३६ करोड ६० लाख रुपैयाँ छ भने विराटनगर प्रवेश द्वारको लगानी ७ करोड ३१ लाख रुपैयाँ छ ।

मन्त्रालयको कार्तिक ९ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तर्गत सडकको सूची र वर्गीकरण स्वीकृत गरेको थियो । सोही अनुसार पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार सबै आयोजनाको स्थलगत अनुगमन गरी र सरोकारवालासँग छलफल गरेर ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्ने या काम सुरु गराउने गरी आफू लागेको मन्त्री राई बताउँछन् ।

कोशी प्रदेश सरकारले हालसम्म बहुवर्षीय योजनाका ७२ सडकमध्ये १३ वटा सम्पन्न गरिसकेको छ । यस्तै ४५ वटा सडक पुलमध्ये ११ वटा सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनामध्ये अझै ९३ वटा सम्पन्न हुन बाँकी छन् ।

  • हेर्नुहोस् रुग्ण आयोजनाको विवरण

Cronik Yojanaharu_page-0001Cronik Yojanaharu_page-0002Cronik Yojanaharu_page-0003Cronik Yojanaharu_page-0004

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप