सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
तिहार

मौलिक चाडमा आयातित सामग्रीको रजगज

सोमबार, १२ कात्तिक २०८१, ११ : ००
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ  । तिहार भन्ने बित्तिकै आम मानिसले भाइटिका, लक्ष्मीपूजा लगायतका दिनलाई सम्झिने गर्छन् । यही कारण तिहारलाई धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फूलको पर्वका रूपमा चिनिने गरिकन्छ । तिहारमा बत्ती र फूलको प्रयोगले घर, कार्यालय झिलिमिली बनाइन्छ । यसले गर्दा पूजासामग्री, झिलिमिली बत्ती र फूलको व्यापार अत्यधिक हुने गर्छ । धनकी देवी लक्ष्मीको पूजा गरिने भएकाले तिहारमा विशेषगरी धनतेरशका दिन सुनचाँदी खरिद गर्ने चलन पनि उत्तिकै छ ।

तिहारको पूजामा फूलको माला पनि उत्तिकै प्रयोग हुन्छ । जसले गर्दा तिहारको अवधिमा मखमली, सयपत्री लगायत फूलको माग अत्यधिक हुन्छ । यसरी तिहारका हरेक दिन फूलमाला, विभिन्न परिकारका मिठाइ, रोटी, झिलिमिली बत्तीदेखि भाइमसलाका लागि धेरै सामग्री आवश्यक पर्छ । यसका साथै लत्ताकपडाको व्यापार पनि तिहारको समयमा धेरै हुन्छ । 

यसरी तिहारमा प्रयोग हुने सामग्री लगभग सबै विश्व बजारबाट नेपालमा भित्रिन्छन् । फूल भने नेपालमा प्रशस्त उत्पादन हुने भएकाले विदेशी बजारबाट धेरै आउँदैन । तर तिहारको केही दिनमा अत्यधिक माग हुने भएकाले केही प्रतिशत फूल भने भारतीय बजारबाट ल्याउने गरिएको छ । यस वर्ष झन् दसैँको संघारमै बाढी, पहिरोलगायतले क्षति गरेका कारण तिहारमा स्वदेशी उत्पादनको फूलले नधान्ने भएको छ । 

तिहारको समयमा काजु, छोकडा, मिस्री, चिनी, नरिवल, बदाम, सुपारी, ओखर पिस्ता, ल्वाङ, सुकमेलको खपत बढ्छ । भाइमसलामा प्रयोग हुने यी सबै सामग्री बाहिरबाटै आयात हुन्छ । भन्सार विभागका अनुसार यी सामग्रीहरू भारत, चीनदेखि अमेरिका, तान्जानिया लगायत मुलुकबाट नेपाल आउँछन् । 

भन्सार विभागका निर्देशक मुक्तिप्रसाद श्रेष्ठका अनुसार भाइमसलामा प्रयोग हुने शतप्रतिशत सामग्री आयातित हुन् । श्रेष्ठ भन्छन्, ‘अरु बेला माग काम हुने र तिहारको एक समयमा मात्रै धेरै प्रयोग हुने भएकाले पनि स्वदेशी उद्योगले उत्पादन गर्न नरुचाएको हुन सक्छन् ।’ 

तिहारको समयमा झिलिमिली बत्तीको प्रयोग पनि अत्यधिक हुन्छ । लक्ष्मीपूजाको दिन घरलाई उज्यालो बनाइने भए पनि त्यसको केही दिनअघिदेखि बत्ती जोडेर झिलिमिली बनाउने परम्पराजस्तै बनेको छ । अहिले परम्परागत माटोका पालाको साटो पालाजस्तै देखिने विद्युतीय बत्तीको प्रयोग पनि बढ्दो छ । यसले गर्दा स्वदेशमै तयार हुने पाला र मैनबत्तीको स्थान विदेशी झिलिमिली बत्तीले ओगट्न थालेका छन् । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष करिब ४ अर्ब रुपैयाँ बराबरका विद्युतीय झिलिमिली बत्ती, मैनबत्ति र आतिसबाजी आयात गरिएको छ । चालु आवको तीन महिनामा मात्रै करिब २५ करोड रुपैयाँको यस्तो सामग्री भित्रिएको भन्सार विभागको तथ्यांक छ । 

नेपाल भित्रिने त्यस्ता कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात हुने गरेको छ । यस्ता सामग्री विगतमा भारतबाट धेरै आयात हुन्थ्यो । पछिल्लो समय आकर्षक र सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले भारतीय सामग्रीलाई विस्थापित गरेको व्यवसायीहरू बताउँछन् । तिहारमा करिब डेढ अर्बसम्मको विद्युतीय सामग्रीको कारोबार हुने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ ।

तिहारको बेला घर रङरोगन गर्ने, नयाँ लत्ताकपडा किन्ने, दाइभाइलाई दिदीबहिनीले विभिन्न उपहार दिने चलन पनि छ । यी सामग्रीसमेत लगभग सबै विदेशी बजारबाट भित्रिन्छन् । 

तिहारको समयमा फलफूलको माग पनि उच्च हुन्छ । नेपालमै मनग्गे उत्पादन हुने निबुवा, बिमिरो, ओखर, हलुवाबेद, स्याउ, अनारजस्ता फल पनि विदेशी बजारबाट भित्रिन्छन् । भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा मात्रै दुई अर्ब ८ करोडको स्याउ भित्रिएको छ । ६३ लाख रुपैयाँको हलुवाबेद भित्रिएको छ । यसरी तिहारमा प्रयोग हुने कुनै पनि सामग्री स्वदेशी नहुने हुँदा यो अवधिमा ठुलो पुँजी बिदेसिने गरेको छ ।

जानकारहरू यसलाई परम्परागत चाडमा विदेशी सामग्रीको रजगजका रूपमा बुझ्छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भीम सिग्देल परम्परागत चाडमा मौलिक र सकेसम्म आफ्नै उत्पादनका सामग्रीको प्रयोग गरिनुपर्ने बताउँछन् । ‘चाडबाडको हाम्रो आफ्नै मौलिक स्वाद र चलन छ, तर यसमा अब विदेशी सामग्रीको प्रयोग विना मनाउनै नसकिने गरी परनिर्भर भएका छौँ,’ उनी भन्छन्, ‘यसलाई एकैपटक कम गर्न त सकिँदैन । तर सबै पक्ष लाग्ने हो भने बिस्तारै आफ्नो चाड आफ्नै मौलिक सामानले बनाउन सकिएला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप