सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

तिहार अगाडि तलब नपाए स्वास्थ्य स्वयंसेविकाले आन्दोलन गर्ने

सोमबार, १२ कात्तिक २०८१, ०७ : ३२
सोमबार, १२ कात्तिक २०८१

रौतहट । कटहरिया नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले तलबको माग गर्दै आन्दोलनको चेतावनी दिएकी छन्।

नगरपालिकामा मेयरको रूपमा हालै निलम्बन फुकुवा भएका अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि नै तलब पाउन नसकेको कारण आन्दोलनको विकल्प नभएको स्वयंसेविकाहरूले चेतावनी दिएका हुन् ।

दसैँको अवसरमा तलब नपाएको र अहिले दीपावली तिहार र छठनजिक आउँदा पनि हालसम्म तलब पाउने कुनै सङ्केत नदेखिएको उनीहरूले गुनासो गरेका छन्। कटहरिया नगरपालिकाको ९ वडा अन्तर्गत ५४ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्। उनीहरूले १८ महिनादेखि तलब पाउन सकेका छैनन्।

पूर्व मेयर सियाराम कुशवाहाले नगरभरिका स्वास्थ्य स्वयंसेविका लाई नगरपालिकाको कोष बाट मासिक ३ हजारको दरले प्रत्येक चौमासिकमा भुक्तानी दिँदै आएका थिए। २०७९ को निर्वाचनमा मेयर अजय प्रकाश निर्वाचित भएसँगै स्वयंसेविकाको मासिक तलबमा १५सय रुपैयाँ वृद्धि गरेर ४५ सय पुर्‍याएका थिए। 

६ महिनाको तलब जेनतेन भुक्तानी गरे पनि १८ महिना देखी मेयर जैसवालले पटकपटक दिन्छु भनेर झुटो आश्वासन दिँदै आएको वडा ८ मा कार्यरत  स्वयंसेविका मिना ठाकुरले गुनासो गरिन्।

गत असोजमा आन्दोलन गरेपछि मेयर जैसवालले दसैँ बिदाअघि नै सबै जना स्वयंसेविकाको तलब खातामा पठाउने प्रतिबद्धता जनाएका थिए।  उनको प्रतिबद्धतापछि आन्दोलन स्थगित गरिएको थियो। तर हालसम्म कुनै स्वयंसेविकाको खातामा पैसा नआएको स्वयंसेविका ठाकुरले गुनासो गरेकी छिन्।

‘महिला सुत्केरी हुने खबर आउनासाथ हामी राति पनि घरमा पुगेर सेवा दिन्छौँ। तर चाडपर्वमा पनि दिनको मात्र १५० को दरले मासिक ४५ सय रुपैयाँ ज्याला पाएनौँ । छोराछोरीलाई नयाँ कपडा समेत किन्न सकेनौँ,’ स्वयंसेविका सेखनी आलमले दुखेसो गरिन्। आलमले तिहारको बिदा अगाडि तलब नपाए आन्दोलन गर्ने चेतावनी दिइन्। 

कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवाल निर्वाचित भए पछि २०० भन्दा बढी दैनिक ज्यालादारी कर्मचारीको तलबको नाउँमा वर्षको करोडौँ रुपैयाँ अनियमितता हुने गरेको कटहरिया ५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सर्फलाल प्रसादले दाबी गरेका छन्। उनले तलब तत्काल निकासा गर्नुपर्ने माग गरे।

स्वयंसेविकाको तलबबारे प्रतिक्रिया लिन फोन सम्पर्क गर्न खोज्दा मेयर जैसवालसँग सम्पर्क हुन सकेन भने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले पनि फोन रिसिभ गरेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप