बराबरीमा रोकिए आर्सनल र लिभरपुल, युनाइटेड पराजित

लण्डन । मोहम्मद शालाहले खेलको अन्त्यतिर गोल गर्दा आर्सनल र लिभरपुलबिचको खेल बराबरीमा टुङ्गिएको छ । प्रिमियर लिगमा आइतबार राति भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
खेलमा आर्सनलले दुई–दुई पटक अग्रता लिए पनि मुख्य डिफेन्डर ग्याब्रियल र जुरियन टिम्बर घाइते हुँदा टोलीलाई घाटा पुगेको थियो । विलियम सालिबा यसअघि नै निलम्बित हुँदै खेल्न पाएका थिएनन् ।
बुकायो साकाले खेलको नवौँ मिनेटमा नै आर्सनललाई अग्रता दिलाएका थिए । प्रिमियर लिगमा उनको यो ५० औँ गोल थियो । तर, १८ औँ मिनेटमा भर्जिल भान डाइकले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
४३ औँ मिनेटमा मिकेल मिनेरोले डेक्लन राइसको फ्रिकिकमा हेडमार्फत गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए । खेल बराबरीतर्फ अघि बढिरहँदा शालाहले ८१ औँ मिनेटमा खेल पुनः बराबरी गरे ।
बराबरीपछि लिभरपुल २२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनल भने १८ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेको छ ।
आइतबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्याम युनाइटेडसँग १–२ गोलले पराजित भएको छ । पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाउनु युनाइटेडका लागि भारी पर्यो ।
क्राइसेन्सियो समरभिलले ७४ औँ मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाए । तर, खेल सकिन १० मिनेट बाँकी छँदा कासेमिरोले गोल गर्दै खेल बराबरी गरे ।
खेलको इन्जुरी समयमा म्याथियस डी लिटले ड्यानी इंग्सलाई फल हानेपछि वेस्ट ह्यामले पेनाल्टी पायो । जसलाई जारोड बोवेनले सजिलै गोलमा परिणत गरे ।
पराजयपछि ११ अङ्कसहित युनाइटेड १४ औँ स्थानमा रहेको छ । समान अङ्कसहित वेस्ट ह्याम १३ औँ स्थानमा छ ।
उता, कोल पाल्मरले सिजनको सातौँ गोल गर्दै चेल्सीले न्युक्यासल युनाइटेड २–१ गोलले हराएको छ । खेलको १८ औँ मिनेटमा निकोलस ज्याक्सनले चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, १४ मिनेटपछि अलेक्सान्डर इसाकले न्युक्यासलका लागि बराबरी गोल फर्काए । त्यसपछि दोस्रो हाफको सुरुवातमा पाल्मरले गोल गर्दै टोलीलाई जित दिलाए ।
९ खेलबाट १७ अङ्क बटुल्दै चेल्सी लिगको १७ औँ स्थानमा रहेको छ । न्युक्यासल भने १२ अङ्कसहित १२ औँ स्थानमा सीमित छ ।
आइतबार नै भएको अन्य खेलमा टोटनह्याम हटस्पर्स क्रिस्टल प्यालेससँग ०–१ गोलले स्तब्ध बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल