सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

सोमबार, १२ कात्तिक २०८१, ०२ : ३०
सोमबार, १२ कात्तिक २०८१

सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि संकटमा पर्न थालेको हो । 

चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै संकटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताए । 

चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा कमी आएको उनको भनाइ छ ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ । माटोका भाँडा बनाएजति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ ।

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन् । आधुनिकताको विकाससँगै अहिले बजारमा विद्युतीय दियो, झिलीमिली बत्तीलगायत उपकरण आउन थालेपछि चिन्ता थपिएको पण्डितको भनाइ छ ।

भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै माटोको जाहो गर्ने गरिएको छ । माटोबाट निर्माण गरेको सामग्री सोचेअनुसारको बिक्री नहुनु र आम्दानीसमेत नहुने गरेकाले वैकल्पिक पेसा रोज्न थालेको पण्डित बताउँछन् ।

'विगतका वर्षमा माटोका भाँडाबाट राम्रै आम्दनी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी आएको र प्रयोगमा समेत कमी आएको छ', उनले भने। नजिकमा माटो नपाइने र टाढाबाट प्रतिट्र्याक्टर माटो रु १० हजारदेखि २० हजारसम्ममा खरिद गरी बनाएको भाँडासमेत बिक्री नहुँदा समस्या हुने गरेको पण्डितको भनाइ छ ।

कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए । अहिले घर खर्चसमेत चलाउन समस्या हुन थालेको पण्डितले बताए । 

वृद्धवृद्धाले पुर्ख्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन् । तर युवा पुस्ताले भने वैकल्पिक बाटो रोज्न थालेका छन् ।

विगतमा पर्वका बेला एक परिवारले पाँच लाखसम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए । अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताए । अहिले वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट रु एक लाखसम्म आम्दनी गर्ने गरेको उनले बताए ।

अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन् । मेहनत गरेअनुसारको प्रतिफल नपाउँदा निराससमेत हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताए । संघीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पुर्ख्यौली पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप