सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

सोमबार, १२ कात्तिक २०८१, ०१ : ४५
सोमबार, १२ कात्तिक २०८१

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।
 
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँच सय, मध्यम चार सय ८५ र ‘एक्सएल’पाँच सय १५ कायम गरिएको छ ।

यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा तीन सय ६०, मध्यम रु तीन सय र एक्सएल तीन सय ७५ मा झरेको थियो । विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताए । 

लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताए । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उनको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।
 
उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउँछन् । 

कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताए । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उनको भनाइ छ  । उनले भने, 'अण्डाको मूल्य बढ्दै गएपछि हामी जस्ता किसानमा केही आशा पलाएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप