सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

साउथ सुपरस्टार थलापथी राजनीतिमा, पहिलो आमसभामा उर्लियो जनसागर

सोमबार, १२ कात्तिक २०८१, ०१ : ००
सोमबार, १२ कात्तिक २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थलापथी प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।

उनको दल 'तमिलगा वेत्री कझगम (टीभीके)' ले आधिकारिकता पाएको छ । अब उनले आफ्नो दलबाट निर्वाचनसमेत लड्न सक्नेछन् । 

दलले आधिकारिता पाएपछि आइतबार पहिलो र्‍याली तथा आमसभा लमिलनाडुको विल्लुपुरममा सम्पन्न भयो । सभामा जनसागर उर्लिएको छ । उनको समर्थनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाएका छन् । 

उनले गत फेब्रुअरीमै पार्टी स्थापना गरेका थिए । थलापथीले आइतबार आमसभालाई सम्बोधन गर्दै द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग नगर्ने बताए ।

'हामी द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग गर्दैनौं,' उनले भने, 'यी दुई यो माटोका दुई आँखा हुन्, हामीले आफूलाई कुनै खास पहिचानमा सीमित राख्नु हुँदैन।'

उनले आफ्नो पार्टीको विचार धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको बताए । उनले त्यहीअनुसार पार्टी सञ्चालन गर्ने समेत बताए । 

उनले आफ्नो पार्टीले सरकारी कामकाजका लागि तमिल र अंग्रेजी भाषा उपयोग गर्ने बताए । 

उनको दल मैदानमा आएपछि अब तमिलनाडुको आगामी विधानसभा चुनाव निकै रोचक हुने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तमिलनाडुमा द्रविड मुन्नेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) को प्रभुत्व रहेको छ। यहाँ भारतीय जनता पार्टी (भाजपा) को समेत प्रभाव बढ्दो छ । 

थलापथीका बाबु समेत राजनीतिमै छन् । तर थलापथीले भने आफ्नो पार्टी र बाबुको पार्टीबीच कुनै सम्बन्ध नरहेको बताए । उनले आफू अभिनय करियर र कमाइ छोडेर राजनीतिमा प्रवेश गरेको बताए ।

थालापथी हाल ५० वर्षका भए । उनी साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार हुन् । उनले बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी हाल उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक थिए ।

thalapathiss

विजयले आफ्नो पहिलो फिल्मको पारिश्रमिक ५०० पाएका थिए । विजयले १० वर्षको उमेरमा फिल्म वेत्रीबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले १८ वर्षको उमेरमा चलचित्र ‘नालय थिरपु’ बाट मुख्य कलाकारको रुपमा काम गर्न थाले । 

उनको वास्तविक नाम भने जोसेफ विजय चन्द्रशेखर हो । उनको जन्म २२ जुन १९७४ मा मद्रासमा भएको थियो । उनका बुबा एस. ए चन्द्रशेखर तमिल फिल्म निर्देशक थिए भने उनकी आमा शोभा चन्द्रशेखर पार्श्व गायिका थिइन् ।

तर उनका बुबा फिल्म निर्देशक भए पनि, विजयले बाल्यकालमा निकै गरिबिको सामना गर्नुपरेको थियो । उनी सानो हुँदा आमा शोभाले पार्श्व गायनबाट दिनको सय रुपैयाँ कमाउँथिन् । यसबाटै उनको परिवारको गुजारा चल्थ्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप