सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

सोमबार, १२ कात्तिक २०८१, ०० : २२
सोमबार, १२ कात्तिक २०८१

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आठ लाख सहयोग रकम प्रदान गरेको छ । 

उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गरेका थिए । 

निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताए। कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पुर्‍याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिए । 

'स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पुर्‍याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो,' उनले भने । संस्थागत सामाजिक उत्तरदायित्व भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफाबाहेक समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले गरिने प्रयासलाई जनाउने निर्देशक टन्डनको भनाइ छ ।

संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत् प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिए । 

'बैंकको यस किसिमको सकारात्मक कदम सदैव स्वीकार्य छ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान दिनु एउटा उदाहरणीय कार्य हो,' उनले भने । 

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्वको अभ्यासले  प्रतिष्ठानलाई संस्थागत रुपमा खुसी मिलेको बताए । उनले भने, 'यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग गरेको छ । बैंकको स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।'

सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिनुपर्ने रजिस्ट्रार महतले बताए । कृषि विकास बैंकले देशभरका दुई सय ८५ शाखाबाट सेवा प्रवाह गरेको सो बैंकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप