सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ भारतीय मजदुर अलपत्र

सोमबार, १२ कात्तिक २०८१, ०० : १५
सोमबार, १२ कात्तिक २०८१

सप्तरी । यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन्  । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताए ।

उनले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताए ।

सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताए । 'हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ,' उनले भने । 

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् । 

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदुरहरु ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरुलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप