सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'प्रचण्डलाई ओलीको जवाफ, रास्वपालाई प्रश्न' देखि 'मिसन-०८४ अघिका योजना' सम्म

सोमबार, १२ कात्तिक २०८१, ०० : ००
सोमबार, १२ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

आज नेपाल भारतलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । प्रचण्डलाई ओलीको जवाफ; रास्वपालाई प्रश्न, उडान अनुमतिविना काठमाडौँ आएको विमानलाई कारबाही, फेरि सार्वजनिक संस्थान बिक्री गर्दै सरकार, शेष घलेकी श्रीमतीको ब्रासलेटले अदालतमै तनाव, ‘मिसन ०८४’ अघि के–के छन् ओलीका योजना ? बीपी राजमार्गको पुनर्निर्माणबारे अध्ययन अन्योलमा, बक्यौता रकम नतिरेका कारण विद्युत् लाइन काटिएका उद्योग ठप्प लगायत हेडलाइनहरू रातोपाटी ब्रिफिङमा समेटेका छौँ । 

१. नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा 

साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न  दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । 

२. प्रचण्डलाई ओलीको जवाफ, रास्वपालाई प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दुई भिन्न कार्यक्रममा सहभागी हुने क्रममा विपक्षीलाई निसाना बनाएका छन् । उनले गैरआवासीय नेपालीहरूको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलाई लक्षित गरी ‘हतियार बिसाउन लगाउन’ आफूहरूले जानेको जवाफ दिएका छन् ।

यसअघि खबरदारी सभामा प्रचण्डले देशमा अर्को क्रान्तिको लागि आफूसँग आँट रहेको बताएका थिए । आइतबार नै अर्को एक कार्यक्रममा रास्वपालाई लक्षित गर्दै ओलीले ‘खोर्सानी चपाएपछि पिरो हुँदैन ?’ भन्दै प्रश्न गरेका थिए ।


३. उडान अनुमतिविना काठमाडौँ आएको विमानलाई कारबाही
उडान अनुमतिविना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो ।

 

४. फेरि सार्वजनिक संस्थान बिक्री गर्दै सरकार
दुई दशकपछि सरकारले फेरि सार्वजनिक संस्थान बिक्रीको तयारी गरेको छ । सरकारले हेटौंडा सिमेन्ट, नेपाल मेटल कम्पनी, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योगलाई निजीकरणमा लैजाने प्रक्रिया सुरु गरेको हो ।


५. शेष घलेकी श्रीमतीको ब्रासलेटले अदालतमै तनाव
गैरआवासीय नेपाली व्यापारी शेष घलेकी श्रीमती जमुना घलेको ब्रासलेट काठमाडौँ जिल्ला अदालतभित्रै हराएकोमा अन्ततः फेला परेको छ । बिहीबार अदालतभित्रै हराएको उनको ब्रासलेट सीसीटीभी फुटेज हेर्दै खोजी प्रक्रिया अघि बढाउँदा अन्ततः एक कानुन व्यवसायीले खल्तीमा हालेको पाइएपछि फिर्ता ल्याउन सफल भएको हो ।

६. ‘मिसन ०८४’ अघि के–के छन् ओलीका योजना ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिसन ०८४’ अन्तर्गत एमालेलाई एकल बहुमत ल्याउने गरी सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । तर ओलीले ‘मिसन ०८४’ अघि विभिन्न पूरक योजनालाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएका छन् । 

 

७. बीपी राजमार्गको पुनर्निर्माणबारे अध्ययन अन्योलमा
बजेट अभावका कारण बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने विषय अन्योलमा परेको छ । सरकारले तत्काल एक करोड रुपैयाँ जुटाउन नसक्दा कहिले अध्ययन गर्ने भन्नेबारे अन्योल देखिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले रातोपाटीलाई बताए ।

८. विरोधसभापछि माओवादीका नेता–कार्यकर्ता उत्साहित
शनिबार राजधानीमा विरोधसभा आयोजना गरेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरू सरकारका गलत कामका विरुद्ध प्रतिपक्षका हैसियतले खबरदारी गर्नुपरेको बताउँछन् ।

९. झ्याप्ले खोला पहिरो : सीडीओ र एसपीबिच समन्वय नभएको ठहर
धादिङको झ्याप्ले खोलामा ३५ जनाको ज्यान जाने गरी तीन वटा सवारी साधन पुरिएको घटनाबारे छानबिन गर्न गठित समितिले जिल्लाका प्रहरी उपरीक्षक (एसपी) गौतम केसी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेबिच समन्वयको अभावलाई मुख्य समस्याका रूपमा पहिचान गरेको छ ।

१०. अरुण–३ को मुआब्जा विवादबारे सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले ९ सय मेगावाट क्षमताको अरुण–३ विद्युत् परियोजनाको मुआब्जा विवादबारे परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ङिमा साङ्गे शेर्पासमेत १०३ जनाले दायर गरेको रिटमा आइतबार फैसला सुनाउँदै तत्काल स्थानीयलाई मुआब्जा वितरण गर्न भनेको हो ।

११. क्रिकेटर डेभिड वार्नरको कथा

अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन्, डेभिड वार्नर । अन्तर्राष्ट्रिय क्रिकेटमा वार्नरको उपलब्धि पनि निकै लोभलाग्दो छ । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरिसकेका छन् । आइतबार आफ्नो ३८औँ जन्मदिन मनाइरहेका यी प्रभावशाली क्रिकेटरको खेलजीवन निकै उतारचढावले भरिएको छ । आक्रामक ब्याट्सम्यान वार्नरले अस्ट्रेलियाका लागि करिब १९ हजार अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् ।

१२. बक्यौता रकम नतिरेका कारण विद्युत् लाइन काटिएका उद्योग ठप्प
उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प भएको छ । महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । यसले गर्दा यी सँगै सबै उद्योगको उत्पादन ठप्प भएको हो । 

 

अन्य समाचार

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप