सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ११ कात्तिक २०८१, २२ : ००
आइतबार, ११ कात्तिक २०८१

आज २०८१ कार्तिक ११ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रचण्डलाई ओलीको जवाफ; रास्वपालाई प्रश्न, उडान अनुमतिविना काठमाडौँ आएको विमानलाई कारबाही, फेरि सार्वजनिक संस्थान बिक्री गर्दै सरकार, शेष घलेकी श्रीमतीको ब्रासलेटले अदालतमै तनाव, ‘मिसन ०८४’ अघि के–के छन् ओलीका योजना ?, बीपी राजमार्गको पुनर्निर्माणबारे अध्ययन अन्योलमा, बक्यौता रकम नतिरेका कारण विद्युत् लाइन काटिएका उद्योग ठप्प लगायत छन् ।

१. प्रचण्डलाई ओलीको जवाफ, रास्वपालाई प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दुई भिन्न कार्यक्रममा सहभागी हुने क्रममा विपक्षीलाई निसाना बनाएका छन् । उनले गैरआवासीय नेपालीहरूको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलाई लक्षित गरी ‘हतियार बिसाउन लगाउन’ आफूहरूले जानेको जवाफ दिएका छन् ।

यसअघि खबरदारी सभामा प्रचण्डले देशमा अर्को क्रान्तिको लागि आफूसँग आँट रहेको बताएका थिए । आइतबार नै अर्को एक कार्यक्रममा रास्वपालाई लक्षित गर्दै ओलीले ‘खोर्सानी चपाएपछि पिरो हुँदैन ?’ भन्दै प्रश्न गरेका थिए ।

२. उडान अनुमतिविना काठमाडौँ आएको विमानलाई कारबाही
उडान अनुमतिविना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो ।

३. फेरि सार्वजनिक संस्थान बिक्री गर्दै सरकार
दुई दशकपछि सरकारले फेरि सार्वजनिक संस्थान बिक्रीको तयारी गरेको छ । सरकारले हेटौंडा सिमेन्ट, नेपाल मेटल कम्पनी, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योगलाई निजीकरणमा लैजाने प्रक्रिया सुरु गरेको हो ।

४. शेष घलेकी श्रीमतीको ब्रासलेटले अदालतमै तनाव
गैरआवासीय नेपाली व्यापारी शेष घलेकी श्रीमती जमुना घलेको ब्रासलेट काठमाडौँ जिल्ला अदालतभित्रै हराएकोमा अन्ततः फेला परेको छ । बिहीबार अदालतभित्रै हराएको उनको ब्रासलेट सीसीटीभी फुटेज हेर्दै खोजी प्रक्रिया अघि बढाउँदा अन्ततः एक कानुन व्यवसायीले खल्तीमा हालेको पाइएपछि फिर्ता ल्याउन सफल भएको हो ।

५. ‘मिसन ०८४’ अघि के–के छन् ओलीका योजना ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिसन ०८४’ अन्तर्गत एमालेलाई एकल बहुमत ल्याउने गरी सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । तर ओलीले ‘मिसन ०८४’ अघि विभिन्न पूरक योजनालाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएका छन् । 

६. बीपी राजमार्गको पुनर्निर्माणबारे अध्ययन अन्योलमा
बजेट अभावका कारण बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने विषय अन्योलमा परेको छ । सरकारले तत्काल एक करोड रुपैयाँ जुटाउन नसक्दा कहिले अध्ययन गर्ने भन्नेबारे अन्योल देखिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले रातोपाटीलाई बताए ।

७. बक्यौता रकम नतिरेका कारण विद्युत् लाइन काटिएका उद्योग ठप्प
उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प भएको छ । महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । यसले गर्दा यी सँगै सबै उद्योगको उत्पादन ठप्प भएको हो । 

८. विरोधसभापछि माओवादीका नेता–कार्यकर्ता उत्साहित
शनिबार राजधानीमा विरोधसभा आयोजना गरेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरू सरकारका गलत कामका विरुद्ध प्रतिपक्षका हैसियतले खबरदारी गर्नुपरेको बताउँछन् ।

९. झ्याप्ले खोला पहिरो : सीडीओ र एसपीबिच समन्वय नभएको ठहर
धादिङको झ्याप्ले खोलामा ३५ जनाको ज्यान जाने गरी तीन वटा सवारी साधन पुरिएको घटनाबारे छानबिन गर्न गठित समितिले जिल्लाका प्रहरी उपरीक्षक (एसपी) गौतम केसी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेबिच समन्वयको अभावलाई मुख्य समस्याका रूपमा पहिचान गरेको छ ।

१०. अरुण–३ को मुआब्जा विवादबारे सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले ९ सय मेगावाट क्षमताको अरुण–३ विद्युत् परियोजनाको मुआब्जा विवादबारे परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ङिमा साङ्गे शेर्पासमेत १०३ जनाले दायर गरेको रिटमा आइतबार फैसला सुनाउँदै तत्काल स्थानीयलाई मुआब्जा वितरण गर्न भनेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप