सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’

देउवा सन्तुष्ट, शेखरको चर्को असन्तुष्टि
सोमबार, १२ कात्तिक २०८१, ०८ : ००
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । सरकारको १०० दिन अर्थात् मधुमासलाई हेर्ने सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई दृष्टि पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको सुरुवातको सय दिनप्रति सभापति शेरबहादुर देउवा सन्तुष्ट छन् । तर, दलभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला भने वर्तमान सरकारको सय दिनसँग सन्तुष्ट छैनन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा सभापति देउवाले सरकार ठिक दिशामा अघि बढिरहेको बताएका थिए । उनले १०० दिन सरकारको ‘हनिमुन पिरियड’लाई विपक्षीहरूले अनावश्यक भ्रम सिर्जना गरेर विरोध गरिरहेको आरोपसमेत लगाए ।

शुक्रबार देउवाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस सभापति देउवाले सरकारको सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारेका थिए ।

बाढी–पहिरोमा पनि सरकारले उद्धार र खोजीको काम गरेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘कहाँ कांग्रेस असन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ– सय दिनको काम ।’

वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो । असार १७ को मध्यरातमा कांग्रेस–एमालेबिच भएको सात बुँदे सहमतिको जगमा असार ३० मा ओली नेतृत्वमा सरकार गठन भएको हो । तर, कांग्रेसभित्र शेखर कोइराला र उनको समूह भने यो सरकारप्रति सन्तुष्ट देखिँदैनन् । देउवाले सरकार सफल भने पनि शेखर भने फरक मत राख्छन् ।

डा. कोइरालाको विश्लेषणमा सय दिनभित्र लक्ष्य अनुसार काम हुन सकेन । प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता मात्रै रहेको कोइरालाको बुझाइ छ ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाले सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने बताए । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको तर, लक्ष्य अनुसार सरकार नचल्नु दुःखद भएको बुझाइ कोइरालाको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा, बैंकमा थुप्रिएको पैसा र शिथिल अर्थतन्त्र, बढ्दो महँगी, कुलमान हटाउन भएको चलखेल, उपसभामुख इन्दिरा राना हटाउन भएको चलखेल लगायत विषयमा शेखरको आपत्ति छ ।

‘यो अध्यादेश ल्याउने हल्ला छ । के गर्न गर्न खोजेको ? सरकार राम्रोसँग चलाउनुहोस् न, भइगयो नि ! जनताले राजनीतिक स्थायित्व खोजेको हो । आर्थिक विकास खोजेको हो,’ केही दिन अघि विराटनगरमा कोइरालाले भनेका थिए, ‘तर, सरकारमा बस्नेहरू रेमिट्यान्स बढेको बढ्यै छ भनेर खुसी हुनुहुन्छ । मचाहिँ त्यतिले मात्रै खुसी हुनुपर्छ भन्नेमा छैन । ब्याजदर घटेको छ । किन बैंकमा पैसा थुप्रिएको छ ? ऋण लिन व्यवसायी किन जाँदैनन् भन्ने विषयमा सोच्नु परेन ?’

उनले कच्चा पदार्थ आयातमा कर धेरै लगाइएको, तयारी वस्तुमा कर कम गरिएको कारणले नेपाली उद्योगहरू धराशायी भएको तर्क गरे । उनले भने, ‘यो सोच्ने कुरा हो नि ! यस्ता कुराहरूले देशलाई असर गरेको छ ।’

शेखर कोइराला पक्षीय केन्द्रीय सदस्य तथा सांसद सञ्जय गौतम अहिलेको गठबन्धन स्वाभाविक नभएको र नेतृत्वमा सत्ता लिप्सामात्र देखिएको तर्क गर्छन् ।

शेखर ती नेता हुन्, जसले लामो समयसम्म राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बन्नुपर्ने अडान राख्दै आएका थिए । कांग्रेस सरकारमा हुँदा वा प्रतिपक्षमा बस्दा पनि उनले यसका लागि निरन्तर प्रयास गरेका थिए । उनकै समूहमा रहेका नेताहरूले पनि निरन्तर संसद् र सडकमा कांग्रेस–एमाले गठबन्धनको वकालत गरेका थिए । अहिले उनै शेखर र उनको समूह भने वर्तमान सरकारको काम गराइमा चित्त बुझाउन सकेको छैन । आखिर किन त ?

शेखर कोइराला पक्षीय केन्द्रीय सदस्य तथा सांसद सञ्जय गौतम अहिलेको गठबन्धन स्वाभाविक नभएको र नेतृत्वमा सत्ता लिप्सामात्र देखिएको तर्क गर्छन् । रातोपाटीसँग कुरा गर्दै उनले आफूहरूले पटक–पटक कांग्रेसको नेतृत्वमा मेजर पार्टीहरू मिलेर सरकार बनाउने र गहन चिन्तन गरेर देशमा परिवर्तन गर्नुपर्ने विषय उठान गरेको बताए ।

‘यो प्राकृतिक गठबन्धन हैन । चुनौतीपूर्ण समय बन्यो र नेताहरूले सत्ता मोहले गल्ती गर्नुभएको छ,’ उनले भने, ‘गठबन्धनकै कारण मुलुक खाल्डोमा जाँदैछ । अहिले सरकार प्रभावकारी भएन । जनतामा आशा जगाउन सकेको छैन । सुशासन दिन सकेको छैन । भ्रष्टाचार रोक्न सरकार सफल भएन ।’

साँच्चै देश परिवर्तन गर्न चाहेको भए कांग्रेसको नेतृत्वमा एमाले, माओवादीसहित मिलेर राष्ट्रिय सहमतिमा सरकार बन्नुपर्ने र संविधानलाई संशोधन गरेर देशलाई स्थिरता र विकसित बनाउन लाग्नुपर्ने गौतमको भनाइ छ ।

  • के भन्छन् विश्लेषक ?

सरकारले सय दिनमा कुनै सुधारको सङ्केत दिनै सकेन भन्ने विश्लेषकहरूलाई पनि लागेको छ । सरकारले गरेको बाचा पूरा गर्न सकेन र आम नागरिकमा आशाको सञ्चार गराउन सकेन भन्ने उनीहरूको बुझाइ छ ।

तर, सत्तामै रहेको दलको एक खेमाले सरकारको सय दिनलाई विरोध गर्दा भने विश्लेषकहरू अचम्ममा परेका छन् । संसद्को दुई ठुलो शक्ति मिल्नु आफैँमा आश्चर्य, अस्वाभाविक र जटिल भएको अवस्थामा सत्ताको ठुलो दलभित्रको प्रभावशाली समूहले सरकारको आलोचना गर्दा जनतामा जाने सन्देशबारे विश्लेषकहरूको चिन्ता छ ।

‘नेताहरूमा बोलीको स्थिरता नभएको हो । तर, उनीहरूको बोलीले गठबन्धनमा हलचल हुँदैन । स्वार्थ मिले २०८४ सम्म यो सरकार टिक्छ । स्वार्थ नमिले ८४ दिनमै सरकार ढल्छ,’ उनले भने ।

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं सय दिनमा सरकारले जनजीविकाले महसुस गर्ने खालको काम एउटा पनि काम नगरेको बताउँछन् । सय दिनमा स्थिरताको जग बसाउने छनक नदेखाएको उनको भनाइ छ । उनले भने, ‘मैले सुनेको छु, दिगो सरकार भएकाले स्टन्ट नगरेको हो र कार्यक्रमको खाका तयार पारेर बसेका छौँ भनेर नेताहरूले भनेको । त्यसो हो भने थप काम हुँदै जाला तर त्यसको छनक अहिले देखिएन ।’

सत्तारुढ दलभित्रैबाट भइरहेको विरोधको विषयमा भने चापागाईं यसलाई स्वार्थको द्वन्द्वको रूपमा टिप्पणी गर्छन् । कांग्रेसमा हिजो एमाले–कांग्रेस गठबन्धन बन्नुपर्छ भन्ने शेखरको बोली फेरिएको र उनी अडान लिने नेताको पहिचान गुमाउने खतरा बढेको तर्क उनको छ ।

‘नेताहरूमा बोलीको स्थिरता नभएको हो । तर, उनीहरूको बोलीले गठबन्धनमा हलचल हुँदैन । स्वार्थ मिले २०८४ सम्म यो सरकार टिक्छ । स्वार्थ नमिले ८४ दिनमै सरकार ढल्छ,’ उनले भने ।

अर्का विश्लेषक जैनेन्द्र जीवन भने कांग्रेसभित्र सरकारप्रति देखिएको दुई धारको दृष्टिकोणलाई गुटगत राजनीतिको फलको रूपमा अर्थ्याउँछन् । उनको भनाइ अनुसार शेखरले सरकारको सय दिनको विरोध गरे पनि गठबन्धन तलमाथि पर्ने र गठबन्धन तलमाथि पर्ने अवस्था छैन ।

‘देउवालाई म पनि छु, मलाई बाइपास नगर भनेर उपस्थिति देखाउन शेखरले सरकारको विपक्षमा बोलेको देखिन्छ । हाम्रो गुट पनि छ, बाइपास गरे समस्यामा पार्दिन्छु भन्ने उहाँको आशय हो,’ उनले भने, ‘तर, असन्तुष्टि सार्वजनिक गर्नु हुने थिएन । भित्रै बसेर मिलाउनुपर्ने थियो । यसमा सभापति देउवाको पनि दोष देखिन्छ । उहाँले पनि सबैलाई मिलाएर लानुपर्ने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप